शेखर गोल्छासहितको मिलेमतोमा हिमालयन रिको २ अर्ब ७३ करोड अनियमितता

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको आर्थिक अनियमितताबाट बच्न राजीनामा दिएका सञ्चालक समिति अध्यक्ष शेखर गोल्छासहितका सञ्चालकलाई जोगाउन अर्थमन्त्रीलाई प्रभावमा पार्ने खेल सुरु भएको छ । निजी क्षेत्रको हिमालयन रिइन्स्योरेन्समा सबैभन्दा बढी सेयर लगानी रहेका विवादास्पद व्यवसायी दीपक भट्टमाथि सम्पत्ति शुद्धीकरण अभियोगमा अनुसन्धान सुरु भएपछि अध्यक्ष शेखर गोल्छा र सञ्चालकद्वय साहिल अग्रवाल र रोहित गुप्ताले राजीनामा दिइसकेका छन् ।

कम्पनीमा भएको अनियमिततामाथि छानबिन सुरु भएपछि राजीनामा दिएर अर्थमन्त्री स्वर्णिम वाग्ले र उनका सल्लाहकार भेटेर गोल्छासहितका व्यवसायीले सेयर विवादलाई सम्पत्ति शुद्धीकरण अभियोगमा जोडेर अनुसन्धान नगर्न दबाब दिइरहेको अर्थ मन्त्रालय उच्चस्रोतको दाबी छ ।

व्यवसायीले अर्थमन्त्री भेटेर ‘आफूमाथि अनुसन्धान भए निजी क्षेत्रको लगानी धराशायी हुने, बै ंकहरूले निजी क्षेत्रमा गरेको लगानी डुब्नेलगायत तथ्यांक देखाएर ब्लाकमेलिङ गरिरहेको’ अर्थ मन्त्रालय अधिकारी बताउँछन् । हिमालयन रिइन्स्योरेन्समा भएको अनियमितता ढाकछोप र सञ्चालक समितिको फेरबदल नियमित प्रक्रिया भएको देखाउन हतारहतार अध्यक्ष र रिक्त सञ्चालक समितिसमेत नियुक्त गरिसकिएको छ ।

गत बुधबार बसेको सञ्चालक समितिको ८२औं बैठकबाट अध्यक्षमा अर्का लगानीकर्ता उदयकुमार निरौलालाई मनोनीत गरिएको छ । सञ्चालक शाहिल अग्रवालको स्थानमा दिपेन्द्रकुमार मिश्र र सञ्चालक रोहित गुप्ताको स्थानमा पृथ्वीराज थापालाई मनोनीत गरिएको कम्पनीले जनाएको छ ।

हिमालयन रिइन्स्योरेन्सको झन्डै पौने ३ अर्ब रकम हिनामिना विषय यतिबेला छानबिनको दायरामा छ । राजीनामा दिएका सञ्चालक समिति अध्यक्ष शेखर गोल्छा, सञ्चालकद्वय साहिल अग्रवाल, रोहित गुप्तालगायतको मिलेमतोमा कम्पनीको २ अर्ब ७३ करोड ३३ लाखभन्दा बढी रकम दीपक भट्टको नाममा सेयर खरिदमा प्रयोग भएको देखिएपछि उनीहरू अनुसन्धानको दायरमा छन् ।

कम्पनीका मुख्य लगानीकर्तामध्ये भट्ट र सुलभ अग्रवाललाई हिरासतमा राखेर सम्पत्ति शुद्धीकरण अभियोगमा अनुसन्धान जारी छ । हिमालयन रिका सेयरधनी भट्टले नेपाल रिइन्स्योरेन्ससहित कम्पनीको सेयर खरिद गर्न विभिन्न कम्पनीको रकम दुरुपयोग गरेको पाइएपछि अनुसन्धान सुरु भएको हो ।

भट्टले नेपाल रिइन्स्योरेन्ससहितका कम्पनीमा सेयर खरिद गर्दा हिमालयन रिइन्स्योरेन्सको २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँ, हिमालयन सेक्युरिटिज बै ंकर (हिमालयन रिइन्स्योरेन्सकै सहायक कम्पनी)को २२ करोड १९ लाख ७१ हजार ४४५ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ३७ करोड रुपैयाँ, एचएलआई (हिमालयन लाइफ इन्स्योरेन्स) लार्ज क्याप फन्डको २५ करोड १४ लाख ८४ हजार ७४८ रुपैयाँ र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको १६ करोड १७ लाख ५२ हजार ८७३ रुपैयाँ हिनामिना देखिएको छ ।

शेखर गोल्छा सञ्चालक समिति अध्यक्ष र रोहित गुप्ता सञ्चालक समिति सदस्य भएकै बेला हिमालयन रिइन्स्योरेन्सको यति ठूलो रकम हिनामिना भएको थियो । लगानी निर्देशिकाअनुसार बिमा कम्पनीले लगानी गर्नुपूर्व सुरुमा व्यवस्थापन समितिले लगानी समितिबाट प्रस्ताव पारित गर्नुपर्छ । लगानी समितिले स्वीकृत गरेपछि यस्तो प्रस्ताव सञ्चालक समितिले अनुमोदन गरेपछि मात्र तोकिएको ठाउँमा लगानी गरिन्छ ।

गोल्छा सञ्चालक समिति अध्यक्ष भएको समितिबाटै अनुमोदन भएको देखिएपछि आफू फस्ने डरले उनले हतारहतार राजीनामा दिएर भागेको कम्पनीका सञ्चालकको दाबी छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बिमा प्राधिकरणमा गरेको पत्राचारअनुसार हिमालयन रिइन्स्योरेन्सको २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँ खर्च गरेर अर्का सेयर धनी दीपक भट्टको नाममा नेपाल रिइन्स्युरेन्सलगायत कम्पनीको सेयर खरिद गरिएको छ ।

विभागले कम्पनीको पैसाबाट व्यक्तिका नाममा सेयर खरिद गर्न गरेको देखिएपछि भट्टसहित तत्कालीन अध्यक्ष शेखर गोल्छासहितलाई अनुसन्धानको दायरामा ल्याएको हो । यो अनुसन्धान प्रभावित बनाउन गोल्छासहितको समूह अर्थमन्त्री स्वर्णिम वाग्लेदेखि सम्पत्ति शुद्धीकरण विभागसहितका सबै निकायमा कारबाही अघि नबढाउन दबाब दिन लागिपरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 295 times, 1 visits today)

epaper

ताजा समाचार

घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर