विरुवा उत्पादनदेखि वन पर्यटनसम्म

एक वर्षमा साढे चार लाख विरुवा वितरण, उत्पादन र पर्यटनसँग जोड्ने अभियान

राजविराज । डिभिजन वन कार्यालय सप्तरीले वन संरक्षणलाई उत्पादन, उद्यमशीलता र पर्यटनसँग जोड्दै गतिविधि विस्तार गरेको छ । वन क्षेत्रको संरक्षण तथा व्यवस्थापनसँगै गुणस्तरीय विरुवा उत्पादन, वृक्षारोपण, जडीबुटी प्रवद्र्धन, वन अतिक्रमण नियन्त्रण र सामुदायिक वनलाई आयआर्जनसँग जोड्ने कार्यक्रमलाई कार्यालयले प्राथमिकतामा राखेको छ ।

डिभिजन वन कार्यालयका प्रमुख सुभाषचन्द्र दासका अनुसार आर्थिक वर्ष २०८२÷०८३ मा विभिन्न प्रजातिका चार लाख ५० हजार विरुवा उत्पादन गरी सर्वसाधारणलाई निःशुल्क वितरण गरिएको छ । यो अवधिमा अमहा वन नर्सरीमा ७ लाख ५० हजार, तिलाठी कोइलाडी गाउँपालिका स्थित नर्सरीमा ७५ हजार, दौलतपुर वन नर्सरीमा २ लाख, रुपनी वन नर्सरीमा ५० हजार तथा कञ्चनपुर वन नर्सरीमा १ लाख विरुवा उत्पादन गरिएको उनले जानकारी दिए ।

उनका अनुसार डिभिजन वन कार्यालय तथा अग्निसाइर, कल्याणपुर, शम्भुनाथ र डाक्नेश्वरीस्थित सब–डिभिजन कार्यालयमार्फत विभिन्न स्थानमा वृक्षारोपण कार्यक्रमसमेत सञ्चालन गरिएको छ । वन क्षेत्र नभएका स्थान, नदी उकास क्षेत्र तथा सार्वजनिक जग्गामा वृक्षारोपण गरी हरियाली विस्तार गर्ने अभियानलाई तीव्रता दिइएको कार्यालयले जनाएको छ ।

प्रमुख दासले पछिल्लो समय वन व्यवस्थापन, विभिन्न प्रजातिका बिरुवा तथा जडीबुटी उत्पादन, अतिक्रमित वन क्षेत्र खाली गराउने, वन क्षेत्र विस्तार गर्ने तथा वनमा आधारित उद्यम स्थापना गर्ने कामलाई तीव्र बनाइएको बताए ।

‘सामुदायिक वनलाई उत्पादनसँग मात्रै होइन, पर्यटकीय गन्तव्यका रूपमा समेत विकास गर्ने योजना कार्यान्वयनमा छ,’ उनले भने, ‘यसले वन संरक्षणसँगै स्थानीयको आम्दानी र रोजगारी दुवै बढाउने अपेक्षा गरेका छौं ।’

यसै योजनाअन्तर्गत डिभिजन वन कार्यालयको सहयोगमा सप्तकोशी नगरपालिका–१ स्थित रक्तमाला सामुदायिक वनलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिएको छ। रक्तमाला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष इन्द्रप्रसाद लुइँटेलका अनुसार वन क्षेत्रमा वाटर पार्क, पिकनिक स्पट, बोटिङ, ट्री हाउस, पोखरी, मिनी चिडियाखाना तथा चमेनागृह निर्माण गरिएपछि आन्तरिक पर्यटकको आगमन बढ्नुका साथै वनको आम्दानीसमेत वृद्धि भएको छ । ‘पहिले संरक्षणमा मात्रै सीमित रहेको वन अहिले स्थानीयको आयआर्जनको आधार बनेको छ,’ उनले भने, ‘पर्यटन गतिविधि बढेसँगै रोजगारीका अवसर पनि सिर्जना भएका छन् ।’

सप्तरी जिल्लाको कुल क्षेत्रफल एक लाख २८ हजार १०० हेक्टरमध्ये २१ हजार १३६ हेक्टर वन क्षेत्र छ । त्यसमध्ये १४ हजार १२१ दशमलव ५ हेक्टर डिभिजन वन कार्यालयको कार्यक्षेत्रमा तथा सात हजार १४ दशमलव ५ हेक्टर क्षेत्र कोशी टप्पु वन्यजन्तु आरक्षअन्तर्गत पर्छ । जिल्लामा हाल १३६ वटा सामुदायिक वन सञ्चालनमा रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 9 times, 1 visits today)

epaper

ताजा समाचार

कर्णालीको मुख्यमन्त्रीमा नेकपा नेता शाहीको दाबी पेस