काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको शल्यक्रिया गरिएको छ।
सोमबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ओलीको पित्तथैलीको शल्यक्रिया गरिएको हो। केहीबेर अघि शल्यक्रिया सकिएको अस्पतालका सूचना अधिकारी कालिप्रसाद रोस्याराले जानकारी दिए।
सूचना अधिकारी रोस्याराका अनुसार, शल्यक्रिया गर्न आधा घण्टाभन्दा बढी समय लागेको छ। उनलाई अप्रेशन थिएरटरबाट आईसीयूमा सारिएको छ।
केही समय आईसीयूमै चिकित्सकको निगरानीमा राखिने उनले बताए। त्यसपछि स्वास्थ्य अवस्था हेरेर जनरल वार्डमा सारिने उनले जानकारी दिए।
ओलीलाई प्रहरीले चैत १४ गते बिहान पक्राउ गरेको थियो। त्यसपछि स्वास्थ्य परीक्षण गर्न अस्पताल लगिएको थियो। उनको स्वास्थ्यमा समस्या देखिएपछि त्यसयता अस्पतालमै राखिएको छ।
सर्वोच्च अदालतको परमादेशपछि उनलाई रिहा गरिएको थियो। उनीसँगै पूर्वगृहमन्त्री रमेश लेखकलाई हाजिरी जमानीमा रिहा गरिएको थियो।
ओलीको स्वास्थ्यमा शल्यक्रिया गर्नुपर्ने भएकाले अस्पतालमै राखिएको थियो। उनको उपचार चलिरहेको छ।






