असन्तुष्ट समूहलाई पार्टी छोडेर जान अध्यक्ष लिङ्देनको सूचना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समयमै महाधिवेशन नगर्ने संकेत देखा परेको छ । बरु केन्द्रीय कार्य समितिको निर्णयअनुसार महाधिवेशनको माग गर्ने र पार्टी आदर्श पालना हुनुपर्छ भन्ने पक्षलाई अध्यक्ष राजेन्द्र लिङदेन समूहले ‘पार्टी छाड’ र ‘जंगल जाउ’ भन्ने सन्देश दिएको छ ।

महाधिवेशन तोकिएको समयमा नगर्ने र आलटाल गरेर कम्तिमा दुई बर्ष म्याद लम्याउने अध्यक्ष लिङदेनको चाहना छ । वडा तहबाटै संगठन पूनर्गठन गर्ने बहानामा समय कटाउने, लज्जास्पद चुनावी परिणामको नैतिक जिम्मेवारी नलिने लिङदेनको गेम प्लान रहेको राप्रपाका नेताहरु बताउँछन् ।

राप्रपाले आफूलाई प्रजातान्त्रिक पार्टी बताए पनि, विधानको पालना हुनुपर्छ र जेठभित्र महाधिवेशन गर्नुपर्छ भन्ने जो कोहीलाई लिङदेनले पार्टी छाडेर जाउ भन्ने गरेको देखिन्छ । सो कुरा लिङदेनका स्वकीय सचिव छत्र कठायतको भनाइले पुष्टि गर्दछ ।

‘अध्यक्षले गरेका निर्णयहरु स्वीकार्य छैनन् भने, त्यसप्रति असन्तुष्टि राखेर बसिरहनु भन्दा स्पष्ट धारणा राख्दै उचित बाटो नै रोज्नु सही हुन्छ । विचार, सिद्धान्त र लक्ष्य नमिल्ने ठाउँमा जबरजस्ती टिकिरहनु भन्दा, आफ्ना मूल्यसँग मेल खाने समूह वा पार्टी रोज्नु नै राजनीतिक परिपक्वता हो,’ कठायतले भने । स्वकीय सचिवमार्फत सार्वजनिक गरिएको लिङदेनको उक्त सूचना महामन्त्री डा. धवलशम्सेर राणा टीमप्रति लक्षित छ ।

जबकि महामन्त्री राणाको नेतृत्वमा चैत्र २९ गते काठमाडौंमा बसेको एक भेलाले एक हप्ताभित्र महाधिवेशनको मिति घोषणा गर्न लिङदेनलाई आह्वान गरेको थियो । तीन बुँदे माग अघि सार्दै निष्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्न, राप्रपाको विधान र अनुशासन विपरित भएका काम कारवाहीको न्यायसंगत छानबिन गरी महाधिवेशनमा निष्कर्ष पेश गर्न एक छानबिन समितिसमेत गठन गर्न भेलाले प्रस्ताव गरेको थियो ।

राप्रपाले वैशाख १६ गते कार्यसम्पादन समितिको वैठक बोलाएको छ । राणा पक्षका कार्यसम्पादन समिति सदस्य नारायण कोइरालाले भने, ‘कार्यसम्पादनको वैठकमा हामी सबै कुरा फेस गर्छौं । चुनावी असफलता, विधानको उल्लंघन लगायत केन्द्रीय समितिको निर्णयबमोजिम जेठभित्र महाधिवेशन सम्पन्न गर्ने सबै विषयहरु जोडतोडका साथ उठाउँछौं । पार्टीले सामना गरेको संकट, निराशा र लज्जास्पद चुनावी हारको निकास महाधिवेशनको ताजा जनादेश र नयाँ नेतृत्वबाट नै प्राप्त गर्नु सही हुन्छ ।’

उनले भने, ‘विधान लत्याएर महाधिवेशन नै नगर्ने हो भने, पार्टीको प्रजातान्त्रिक छवी र चरित्रमाथि प्रश्न उठ्न सक्छ ।’

चुनाव अघि बसेको केन्द्रीय समितिको वैठकले चुनाव भए जेठ महिनाभित्र, नभए चैत्र महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो । पार्टी स्रोतअनुसार, हालसम्म २३ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ ।

राप्रपालाई देशको पहिलो पार्टी बनाउने घोषणा गरेका लिङदेनको लज्जास्पद चुनावी हारपछि पार्टीभित्र पकड धेरै नै कमजोर भएको छ, यस अवस्थामा उनी जसरी पनि महाधिवेशन फेस नगर्ने सोँचमा छन् । महाधिवेशनमा जाँदा लिङदेन हार्ने र महामन्त्री राणाको जित हुने करिव प्रष्ट नै रहेको नेताहरु बताउँछन् ।

महामन्त्री राणाले पार्टीको वैधानिक निकायमा छलफल र निर्णय नै नगरी, पार्टीको आदर्शमा आँच आउने गरी गणतन्त्र संरक्षण गर्ने उपसभामुख पदमा उम्मेदवारी दिनु गल्ती थियो भन्दै असहमति जनाएका थिए जसको प्रत्युत्तरमा सांसद ज्ञानबहादुर शाहीले ‘त्यसो भए, जंगल गए हुन्छ’ भनेर राणाप्रति कटाक्ष गरेका थिए ।

चुनावलगत्तै राप्रपाका ६ जना महामन्त्रीहरुले निर्वाचनको समीक्षा र महाधिवेशनको विषयमा सामूहिक रुपमा छलफल गर्न समय माग्दा अध्यक्ष लिङदेन भेट्न अस्वीकार गरेका थिए । आफूसँग कुरा नमिल्ने नेताहरुलाई लिङदेनले पटकपटक पार्टी छाडेर जानू भन्दै आएका छन्, उनको यो नीतिमा कुनै बदलाव आएको छैन । ‘अध्यक्षमै राप्रपा फुटोस् भन्ने चाहना देखिनु साधारण अवस्था हैन,’ कुनै गुटमा नलागेका एक केन्द्रीय नेताले भने ।

तपाइको प्रतिक्रिया
(Visited 105 times, 1 visits today)

epaper

ताजा समाचार

नवगायक दिलिप लिम्बुको एकै साथ दुई गीतको म्युजिक सार्वजनिक