नेसनल प्याब्सन सुन्दरहरैंचाको चौथो अधिवेशन सम्पन्न

सुन्दरहरैंचा (मोरङ) । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) सुन्दरहरैंचाको चौथो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै भीम अधिकारीलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ।

अधिवेशनबाट मोहन प्रसाद ढकाल उपाध्यक्षमा चयन भएका छन् भने सचिव र कोषाध्यक्ष सहित ७ सदस्यीय नगर समिति गठन गरिएको छ। नवगठित समितिले आगामी दिनमा संस्थागत विद्यालयहरूको हकहित संरक्षण, शैक्षिक गुणस्तर अभिवृद्धि तथा समन्वयात्मक भूमिकामा सक्रिय रहने अपेक्षा गरिएको छ।

कार्यक्रम नेसनल प्याब्सन कोशी प्रदेश अध्यक्ष कमल खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेसनल प्याब्सन कोशी प्रदेशका कोषाध्यक्ष सन्तोष कुमार राई लगायत विभिन्न विद्यालयका सञ्चालक, प्रिन्सिपल, शिक्षक तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कमल खनालले निजी विद्यालयहरूले देशको शिक्षामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै वर्तमान समयमा शिक्षा क्षेत्र विभिन्न चुनौतीहरूबाट गुज्रिरहेको बताए।

उनले यस्ता चुनौतीहरूको सामना गर्न संस्थागत विद्यालयहरूबीच एकता, सहकार्य र साझा रणनीति आवश्यक रहेकोमा जोड दिए। साथै, उनले नवगठित समितिलाई संस्थाको गरिमा र उद्देश्य अनुरूप सक्रिय र प्रभावकारी रूपमा काम गर्न आग्रह गरे।

त्यस्तै, कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष भीम अधिकारीले आफूलाई सर्वसम्मत रूपमा नेतृत्वको जिम्मेवारी दिएकोमा सम्पूर्ण सदस्यहरू प्रति आभार व्यक्त गरे। उनले सुन्दरहरैंचाभित्र रहेका निजी विद्यालयहरूको शैक्षिक स्तर अझ उकास्न, आधुनिक र व्यवहारिक शिक्षामा जोड दिन तथा शिक्षक, अभिभावक र विद्यार्थीबीच सुदृढ समन्वय कायम गर्न विशेष पहल गर्ने प्रतिबद्धता जनाए।

अध्यक्ष अधिकारीले आगामी कार्यकालमा संस्थालाई अझ व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउँदै विद्यालयहरूका साझा समस्या समाधानमा अग्रसर हुने बताए। साथै, शैक्षिक गुणस्तर सुधार, शिक्षक तालिम, विद्यार्थीमैत्री वातावरण निर्माण तथा प्रविधिमैत्री शिक्षालाई प्राथमिकतामा राखिने उल्लेख गरे।

कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि नेसनल प्याब्सनले निजी विद्यालयहरूको हकहित संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

तपाइको प्रतिक्रिया
(Visited 7 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकसँग अनैतिक सम्बन्ध राख्न खोज्ने १६ महिला पक्राउ