शक्ति खुम्चिएपछि तामझामबिनै कम्युनिस्ट स्थापना दिवस

काठमाडौं । विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीबीचमा पार्टी एकीकरण चर्चा पुनः सुरु भएको छ । जुट्ने र फुट्ने इतिहास बनाएका कम्युनिस्ट पार्टीहरू गत २१ फागुनको निर्वाचनमा लज्जास्पद हार व्यहोरेपछि पुनः पार्टी एकताका लागि छलफल थालेका छन् । पार्टी एकताको बहसलाई नेताहरूले स्थापना दिवसको एजेन्डा बनाएका छन् ।

चुनावी हारपछि बिनातामझाम मनाइएको स्थापना दिवसमा वामपन्थी नेताहरूले आफूलाई सुधार गरेर अघि बढ्न जरुरी रहेको विषयमा आत्म समीक्षासमेत गरेका छन् । देशैभर कम्युनिस्ट पार्टीहरूले बुधबार ७७औं कम्युनिस्ट पार्टी स्थापना दिवस विविध कार्यक्रम गर्दै मनाएका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)सहितका दलहरूले विभिन्न कार्यक्रम गर्दै पार्टी स्थापना दिवस मनाएका छन् ।

नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको समग्र पुनर्गठनका लागि आह्वान गरेका छन् । पार्टी स्थापनाको ७७औ ं वर्षगाँठ तथा लेनिन जयन्तीको अवसरमा बुधवार शुभकामना सन्देश जारी गर्दै संयोजक प्रचण्डले छरिएर रहेका सबै वामपन्थी तथा कम्युनिस्ट शक्तिहरूबीचको एकता र आन्दोलनको नयाँ शिराबाट उठान हुनुपर्नेमा जोड दिएका छन् ।

९ वैशाख २००६ मा सामन्तवाद र साम्राज्यवादका विरुद्ध जनताको जनवादी सत्ता स्थापना गर्ने उद्देश्यसाथ नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको स्मरण उनले शुभकामना सन्देशमा गरेका छन् । उनले नेकपाकै नेतृत्वमा भएका बलिदानपूर्ण संघर्षका कारण नेपालमा सामन्ती निरंकुशता अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गरेका छन् ।

प्रचण्डले वर्तमान राजनीतिक अवस्था समीक्षा गर्दै आज पनि शोषण, दमन र विभेदका नयाँ स्वरूपहरू देखा परिरहेको र साँचो अर्थमा जनताको आफ्नै व्यवस्था पूर्णरूपमा स्थापित हुन नसकेको स्वीकार गरेका छन् । ‘समाजमा विभेद रहँदासम्म कम्युनिस्ट पार्टीको औचित्य रहिरहनेछ,’ सन्देशमा उल्लेख गरिएको छ ।

एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीको पछिल्लो चुनावी पराजयलाई स्वीकार गर्दै समग्र नीति, नेतृत्व र कार्यशैलीमा निर्मम समीक्षा गर्नुपर्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीको ७७औं स्थापना दिवसको अवसरमा उनले एक दशकको घटनाक्रम र विशेष गरी पछिल्लोपटक सरकारको नेतृत्व गर्दादेखि आमनिर्वाचन सम्पन्न हुँदासम्मको अवस्थाको वस्तुनिष्ठ र यथार्थपरक समीक्षा गर्नुपर्नेमा जोड दिएका छन् ।

पार्टीले विगतमा हासिल गरेका सफलता र उपलब्धिको जस लिए जसरी नै वर्तमानको पराजय र क्षतिको पनि जिम्मेवारी लिन जरुरी रहेको उपाध्यक्ष पौडेलको भनाइ छ । उनले नीति, नेतृत्व, संगठन र कार्यशैलीमा रहेका गल्ती तथा कमजोरीलाई लुकाउनुको सट्टा त्यसलाई स्वीकार गर्न र सच्याउन तयार हुनुपर्ने बताएका छन् । सरकारको नेतृत्व गरिरहेको पार्टी २४ भदौ २०८२ मा आइपुग्दा नराम्रोसँग पछारिएको उल्लेख गर्दै उनले कुनै पनि द्विविधा नराखी कमजोरी सच्याउनुपर्नेमा जोड दिएका छन् ।

झन् बढ्दै छ घर झगडा
कम्युनिस्ट पार्टीबीच एकीकरण चर्चासँगै घर झगडा बढ्दो छ । एमालेमा अध्यक्ष केपी शर्मा ओली र नेकपामा संयोजक प्रचण्डको विकल्पसमेत खोजी सुरु भएको छ । ओली र प्रचण्डकै कारण कम्युनिस्ट आन्दोलन विघटित अवस्थामा पुगेको निष्कर्ष युवा नेताको छ ।

कम्युनिस्ट पार्टी स्थापना भएको ७७औ वर्षगाँठ मनाउँदै गर्दा अहिले ओली र प्रचण्डका कारण कम्युनिस्ट जनमत घटेको छ । कमजोर अवस्थामा पुग्नु र गत निर्वाचनमा लज्जास्पद हार व्यहोर्नुमा ओली र प्रचण्डले जिम्मेवारी लिनुपर्ने हुन्छ । ओली आफैं निर्वाचनमा पराजित भए । प्रचण्ड विजयी भए पनि विभिन्न २५ घटकलाई मिलाएर नेकपा बनाए पनि परिणाम राम्रो ल्याउन सकेनन् । २१ फागुन २०८२ को निर्वाचनमा एमालेले प्रत्यक्षमा ९ र समानुपातिकतर्फ १६ गरी २५ सिटसहित तेस्रो स्थानमा खुम्चिएको छ ।

नेकपाले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ गरी १७ सिटमा खुम्चिएको छ । सरकार बनाउने हैसियतमा रहेका कम्युनिस्ट पार्टी गत निर्वाचनबाट प्रतिपक्षी दलको हैसियतमा समेत पुग्न सकेनन् । देशभर बलियो संगठन भएको एमालेले १४ लाख ५५ हजार र विभिन्न २५ घटक मिलेर बनेको नेकपाले ८ लाख ११ हजार मत पाउनुले कम्युनिस्ट पार्टीको जनमत घटेको देखाउँछ । अन्य ८ कम्युनिस्ट पार्टीले जम्मा २३ लाख ७८ हजार मत समानुपातिकतर्फ पाएका छन् । वामपन्थी दलले कुल मतको २१.५० प्रतिशत मतमात्रै ल्याएका छन् । २०७९ सालको निर्वाचनको तुलनामा वामपन्थी जनमत ५० प्रतिशतले घटेको छ ।

नेकपा (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले ओली–प्रचण्ड युगको अन्त्य भएको बताउँछन् । नयाँ युग सुरुवात र ओली प्रचण्ड युग अन्त्य भएको बताउँदै यी नेताकै नेतृत्वमा पार्टी एकीकरण र पुरानो जनमत फर्काउन असम्भव भएको टिप्पणी गरेका छन् । उनले कम्युनिस्ट, वामपन्थी वा समाजवादका लागि अर्को युगको ढोका खुलेको बताउँदै उनले ओली–प्रचण्डले नेतृत्व छोडेर कम्युनिस्ट एकता जोगाउनुपर्ने सुझाव दिए ।

तपाइको प्रतिक्रिया
(Visited 32 times, 1 visits today)

epaper

ताजा समाचार

संवेदनशील र निषेधित क्षेत्रमा उडान भर्न पूर्वअनुमति नचाहिन