भाडाको मारमा साइपाल : समान दृष्टिकोण, असमान पीडा

जहाँ विकास अझै पैदलै हिँड्छ

बझाङ । सुदूरपश्चिमको हिमाली भूभागमा अवस्थित बझाङको साइपाल गाउँपालिकाको नाम सुन्दा जति सुन्दर छ, यथार्थ भने त्यति नै कठोर, गाह्रो छ । नेपालकै दुर्गममध्येमा गनिने यो क्षेत्र आज पनि विकासका आधारभूत पूर्वाधारबाट निकै टाढा छ । यहाँ राज्यको उपस्थिति कागजमा देखिए पनि व्यवहारमा भने नागरिकले अझै पनि पुरानै संघर्षपूर्ण जीवन जिउनु पर्ने बाध्यता रहेको छ ।

सडक सञ्जाललाई आधुनिक विकासको मेरुदण्ड मानिन्छ । तर साइपाल गाउँपालिकाका लागि यो अझै पनि सपना जस्तै बनेको छ । अहिले सडक तलकोट गाउँपालिकाको कुवासम्म मात्र पुगेको छ । त्यसभन्दा माथि साइपालतर्फ उक्लिन भने अझै सकेको छैन । कुवादेखि धुलीसम्म पुग्न आज पनि नागरिकले घण्टौँ उकालो–ओरालो पार गर्दै पैदल यात्रा गर्नु पर्ने बाध्यता रहिआएको छ । भिरालो, साँघुरो र जोखिमपूर्ण बाटो पार गर्दै दैनिक जीवन चलाउनु पर्ने यहाँका बासिन्दाको नियति नै बनेको पाइन्छ ।

खच्चर, मानिस र भेडा जीवनका आधार

साइपाल गाउँपालिकाका पाँचैवटै वडामा आज पनि सामान ढुवानीको मुख्य साधन खच्चर, मानिस र भेडा–च्याङ्ग्रा रहेको स्थानीयको भनाइ छ । भौगोलिक कठिनाइले गर्दा यहाँ मोटरबाटो त परै जाओस्, सामान्य ढुवानी पनि चुनौतीपूर्ण रहेको छ ।

अहिले पनि एक खच्चरले अधिकतम ७० किलो सम्म मात्र सामान बोक्न सक्छ । भिरालो र अप्ठ्यारो बाटोका कारण त्यो पनि जोखिमपूर्ण हुन्छ । धेरैजसो अवस्थामा खच्चरले बोक्न नसक्ने सामान मानिसले काँध र पिठ्युँमा बोक्नु पर्छ । कतिपय सामान्य सामग्री भने भेडा वा च्याङ्ग्राबाट ढुवानी गर्ने गरिएको स्थानीय उज्ज्वलबहादुर बोहराले बताए ।
सदरमुकाम चैनपुरबाट साइपाल पुग्न ३ देखि ४ दिनसम्म पैदल हिँड्नुपर्छ । यस्तो कठिन भौगोलिक अवस्थाले यहाँका नागरिकको जीवनस्तरमा गम्भीर असर पारेको बोहराको भनाइ छ ।

भाडाको चर्को मार : वस्तुभन्दा ढुवानी महँगो

साइपाल गाउँपालिकामा वस्तुको मूल्य भन्दा ढुवानी खर्च बढी महँगो हुने गरेको छ, जो यहाँको मुख्य समस्या र प्रमुख चुनौतीका रूपमा रहेको छ ।
साइपाल गाउँपालिका–४ का वडाध्यक्ष जयसिंह रोकायाले हिउँदको समयमा केही राहत भएपनि बर्खायाममा भने ढुवानी खर्च झन्डै दोब्बर पुग्ने गरेको र जसका कारण यहाँका नागरिकले कठिन र महँगो जीवन यापन गर्नु परेको बताए ।

साइपाल गाउँपालिका–३ का पूर्ववडाध्यक्ष जंगवीर बोहराले साइपाल गाउँपालिका–४ धुलीसम्म खच्चर मार्फत सामान ढुवानी गदा ४ हजार रुपैयाँसम्म खर्च लाग्ने गरेको बताए ।
साइपाल–३ काँडासम्म ३ हजार २ सय, वडा नम्बर ५ को न्युनासम्म ३ हजार ६ सय र वडा नम्बर १ र २ को धलौनसम्म २ हजार ७ सय रुपैयाँसम्म प्रतिखच्चरको भाडा तिर्नुपर्छ । एउटा खच्चरले जम्मा ७० किलो मात्रै बोक्न सक्छ ।

यस्तै, मानिसबाट कुनै पनि सामाग्री ढुवानी गर्दा झन महँगो पर्नजान्छ । धुलीसम्म प्रतिकिलो १८५ देखि २०० रुपैयाँ, काँडासम्म १६५ देखि १७५ रुपैयाँ, न्युनासम्म १७५ देखि १८५ रुपैयाँसम्म तिर्नुपर्ने अवस्था छ । धलौन र काँकरकोट क्षेत्रमा पनि प्रतिकिलो १४० देखि १६० रुपैयाँसम्म लाग्ने गरेको छ । उनले भने, ‘यसले गर्दा साइपाल गाउँपालिकाका नागरिकका लागि दैनिक उपभोग्य सामग्री पनि महँगो विलासितामा परिणत भएको छ ।’

हेलिकोप्टरमै टेकेको विकास

साइपाल गाउँपालिकामा निर्माण हुने ठूला योजनाहरू सञ्चालन गर्नु झन् जटिल छ । साइपाल गाउँपालिकामा विकासका संरचना ‘सडक’ मार्फत नभई, ‘हेलिकोप्टर’ बाट आउने गरेको यहाँका नागरिकको भनाइ छ ।

स्थानीय युवा टेकबहादुर बोहराले साइपाल गाउँपालिकाको घाँटखोला, रामखोला, इमिल्दारलगायतका झोलुंगे पुलहरू, निर्माणाधीन १० शय्याको अस्पताल, मिनिग्रिड सौर्य बत्ती, काँडा, धलौन र धुली जलविद्युतका सबै सामग्री हेलिकोप्टरबाटै ढुवानी गरेर निर्माण गरिएको बताए । उनले खच्चर वा मानिसबाट यस्ता सामग्री ढुवानी सम्भव नहुने भएका कारण यसको विकल्पमा हेलिकोप्टर एकमात्र विकल्प बनेको तर यो विकल्प अत्यन्तै महँगो र विकासको लागत झन् बढ्ने गरेको बताए ।

समान स्टिमेट, असमान यथार्थ, विकासका नाममा असमानता

साइपाल गाउँपालिकाका नागरिकले भोगिरहेका अर्को ठूलो समस्या सुगम र दुर्गम क्षेत्रलाई एउटै दृष्टिकोणले हेर्ने सरकारी नीति रहेको छ । सरकारले विनियोजन गर्ने योजनाहरूको लागत अनुमान (स्टिमेट) सुगम र दुर्गम दुवैका लागि एउटै हुने गरेको छ । तर साइपाल गाउँपालिका जस्तो दुर्गम र विकट क्षेत्रमा ढुवानी लागत नै अत्यधिक हुने भएकाले एउटै बजेटमा योजना कार्यान्वयन गर्न सम्भव नहुने गरेको यहाँका स्थानीयको गुनासो छ ।

आर्थिक वर्ष २०८०÷०८१ मा सुदूरपश्चिम प्रदेशले विद्यालय भवन निर्माणका लागि बजेट विनियोजन गरेको थियो । साइपालको धुलीमा पनि विद्यालय भवन निर्माणको योजना परेको भए पनि स्टिमेट सुगम क्षेत्रकै आधारमा बनाइएका कारणले योजना कार्यान्वयन गर्न नसकिएको र बजेट फ्रिज जाने अवस्था आएको समाजसेवी तथा साइपाल गाउँपालिकाका पूर्वअध्यक्ष राजेन्द्रबहादुर धामीले बताए । उनले भने, ‘बुंगल नगरपालिका वा बित्थडचिर गाउँपालिकामा सदरमुकाम चैनपुरमा २५ लाखमा बन्ने संरचना साइपाल गाउँपालिकामा निर्माण गर्न झन्डै ४० लाख रुपैयाँ लागत लाग्छ । तर बजेट भने उस्तै आउँछ । यस्तो अवस्थामा योजना कसरी पूरा हुन्छ ?’

उनले आवश्यकता भएपनि कामै नभएर बजेट फ्रिज जाने गरेको पनि सुनाए । यसले गर्दा यहाँका नागरिकले प्रत्यक्ष रूपमा सेवा पाउनबाट वञ्चित हुनुका साथै विकास प्रक्रिया नै अवरुद्ध हुने गरेको धामीले बताए ।

भरियाको जीवन : जोखिममा कमाइ

साइपाल गाउँपालिकामा ढुवानी गर्ने भरियाहरूको जीवन पनि निकै चुनौतीपूर्ण रहेको पाइन्छ । यहाँका भरियाले मासिक ५० देखि ६० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका भएपनि सो आम्दानी भने सजिलो नभएको उनीहरूको भोगाइ छ । जोखिमपूर्ण बाटोमा पसिना निकाल्दै आफूहरूको ज्यानको बाजी राखेर सो कमाइ हुने गरेको भरियाको भनाइ छ ।

साइपाल गाउँपालिकामा तलकोट गाउँपालिका, छविसपाथिभेरा गाउँपालिका, जयपृथ्वी नगरपालिका, बुंगल नगरपालिकालगायतका छिमेकी पालिकाबाट भरियाहरू काम गर्न पुग्ने गरेका छन् । एक महिनामा ४ देखि ५ वटा भारी बोक्दा ५ देखि ६ दिनसम्म लाग्ने गरेको छ ।

भारी बोक्दै गरेका भरिया हर्क बोहराले सुस्केरा हाल्दै भने, ‘बाटो निकै अप्ठ्यारो छ । भिरै–भिरको साँघुरो बाटोमा हिँड्नुपर्छ । सामान्य गल्ती भए पनि ज्यान जान सक्ने खतरा छ । पाइला पाइलामा जोखिम छ । जोगिएर हिँड्नु पर्छ । यस्तो अवस्थामा पनि पेट पाल्नका लागि यो काम गर्नु हामीहरूको पनि बाध्यता रहेको छ ।’ साईपालको बाटोमा खाली हात हिँड्नसमेत निकै कठिन हुने अवस्था छ । तर यहाँका भरियाहरू ज्यानको जोखिम मोलेर भारी बोकेर जीविका चलाइरहेका छन् ।

कछुवा गतिमा सडक निर्माण

साइपाल गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने लक्ष्यसहित सुरु गरिएको चैनपुर–ताक्लाकोट सडक खण्ड अझै अधुरै छ । निर्माण कार्य थालनी भएको झन्डै १८ वर्ष बितिसक्दा पनि यो सडक खण्डले गति लिन सकेको छैन । सरोकारवालाको चासो न्यून, ठेकदार तथा निर्माण कम्पनीको चरम लापरबाहीका कारण यो सडक खण्ड कछुवा गतिमा रहेको पाइन्छ । यो सडक खण्ड केवल साइपालका लागि मात्र नभई सुदूरपश्चिमलाई छिमेकी राष्ट्र तिब्बतसँग जोड्ने महत्वपूर्ण परियोजना पनि हो । यस सडक खण्डले व्यापार विस्तार र आर्थिक समृद्धिका लागि ठूलो महत्व बोकेको भएपनि निर्माण कार्यलाई देख्दा साइपालवासीले यस सडक खण्डप्रतिको आशा मारिसकेका छन् ।

तर अर्को वैकल्पिक सडक कुवादेखि जाणलेकसम्मको सडक खण्डमा अझै अन्योल रहेको छ । तलकोट गाउँपालिकाले निर्माण गर्ने कि साइपाल गाउँपालिकाले निर्माण गर्ने भन्ने विषयमा स्पष्टता छैन । सडक कुन मार्गबाट कटान गर्ने भन्ने विषय पनि विवादास्पद अवस्थामा छ । यसका साथै पर्याप्त बजेट अभावले पनि काम अघि बढ्न नसकेको साइपाल गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहराले बताए । यो सडक खण्ड विस्तारका लागि पालिकाले गर्ने कार्य सबै अघि बढाएको उनले जानकारी दिए ।

यी सडक खण्डका कारण साइपालका नागरिक अझै पनि सडकको आशामा बस्न बाध्य रहेको अध्यक्ष बोहराले बताए । उनले भने, ‘जाडलेखदेखि धलौन सक्क सडक कटान पालिकाले गरेको छ । यहाँ सडक कटान भएको ठाउँसम्म सवारी साधन जिप सञ्चालन गर्नका लागि केही समय अघि हेलिकोप्टर मार्फत जीपलाई ढुवानी गरी सवारी साधनलाई केही रूपमा भएपनी सञ्चालनमा ल्याइएको थियो ।’
उनले कुवादेखि जाडलेकसम्म सडक कटान हुन बाँकी रहेको र सडक कटान गर्न आवश्यक बजेटको माग आफूहरूले गर्दै आएको भएपनि सरकारले यस विषयमा चासो दिन नसकेको बताए ।

उनले साइपाल गाउँपालिकाका नागरिकले केवल सडकको मात्रै माग गरेको नभई समान व्यवहार, यथार्थ अनुसारको नीति र सम्मानजनक जीवनयापन गर्नका लागि सरकारले ध्यान दिन आवश्यक रहेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 30 times, 1 visits today)

epaper

ताजा समाचार

सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह