सुन्दरहरैचामा शिक्षकका लागि ‘स्टीम’ प्रविधिमूलक तालिम सम्पन्न

सुन्दरहरैंचा (मोरङ) । मोरङको सुन्दरहरैंचा–१०, विराटचोकस्थित हिमालय इङ्ग्लिस स्कुलमा शिक्षकहरूको क्षमता अभिवृद्धि गर्दै शिक्षण पद्धतिलाई आधुनिक, सिर्जनशील र प्रविधिमैत्री बनाउने उद्देश्यले एकदिने ‘स्टीम’ ( ‘स्टीम’ ) प्रविधिमूलक तालिम सम्पन्न भएको छ।

‘नवप्रवर्तन र सिर्जनशीलताको प्रवर्द्धन गर्दै २१औँ शताब्दीको शिक्षाका लागि शिक्षकलाई स्टीम प्रविधिमार्फत सशक्त बनाउने’ मूल उद्देश्यका साथ हिमालय इङ्ग्लिस स्कुल र सप्तकोशी शिक्षा सदनको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न गरिएको हो। कार्यक्रममा दुवै विद्यालयका शिक्षक तथा शिक्षिकाहरूको उत्साहजनक सहभागिता रहेको थियो।

तालिममा विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणित ‘स्टीम’ लाई शिक्षण–सिकाइ प्रक्रियासँग प्रभावकारी रूपमा कसरी जोड्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर प्रशिक्षण दिइएको थियो।

साथै, विद्यार्थीमा सिर्जनशील सोचको विकास, समस्या समाधान गर्ने क्षमता अभिवृद्धि, अनुसन्धानमुखी अध्ययन तथा व्यावहारिक ज्ञान विस्तारमा स्टीम अवधारणाको भूमिका विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रमका सहजकर्ता तथा एस्पायर कलेजका प्रिन्सिपल प्रिन्सिपल सी.एम. बस्नेतले वर्तमान शिक्षा प्रणालीलाई प्रविधिसँग जोडेर अघि बढाउनुपर्ने आवश्यकता औंल्याए। उनले कक्षाकोठाभित्रको सिकाइलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी प्रयोगात्मक, खोजमूलक र विद्यार्थी केन्द्रित बनाउन स्टीम शिक्षा प्रभावकारी माध्यम बन्न सक्ने बताए।

उनका अनुसार समयअनुकूल ज्ञान, नवीन सोच र आधुनिक शिक्षण विधिले मात्रै विद्यार्थीलाई प्रतिस्पर्धी र सक्षम बनाउन सकिन्छ। त्यसैगरी, हिमालय इङ्ग्लिस स्कुलका संस्थापक प्रिन्सिपल कमल खनालले गुणस्तरीय शिक्षाको आधार नै सक्षम शिक्षक भएको उल्लेख गर्दै बदलिँदो समयसँगै शिक्षण शैलीमा परिवर्तन अपरिहार्य रहेको बताए।

उनले शिक्षकहरूलाई आधुनिक प्रविधि र नवीनतम शिक्षण पद्धतिसँग अभ्यस्त गराउन यस्ता तालिमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै विद्यालयले आगामी दिनमा पनि यस्ता सिर्जनशील र व्यावहारिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

तालिममा सहभागी शिक्षकहरूले कार्यक्रमले शिक्षण कार्यलाई अझ प्रभावकारी, रुचिकर र परिणाममुखी बनाउन नयाँ दृष्टिकोण प्रदान गरेको प्रतिक्रिया दिएका छन्। स्थानीय तहमा शिक्षाको गुणस्तर सुधार तथा शिक्षकहरूको पेसागत दक्षता अभिवृद्धिका लागि यस्ता तालिमले सकारात्मक र दीर्घकालीन प्रभाव पार्ने विश्वास गरिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)

epaper

ताजा समाचार

गीत गाएकै भरमा प्रहरीको दमन सम्झेर भावुक भए कलाकार