काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सभा हलमा ‘प्रगतिशील संगीत उत्सव २०८३’को पत्रकार भेटघाट चल्दै थियो । प्रगतिशील तथा जनवादी गीत गाएकै कारण प्रहरीको कुटाइ खाएर बेहोस भएको पल सम्झँदै प्रतिष्ठानका उपकुलपति शम्भु राई भावुक भए ।
उपकुलपति तथा गायक राई २०३०–३२ सालतिर रामेश, रायन, मञ्जुलहरूसँग सारंगी बजाएर पञ्चायत विरुद्ध प्रगतिशील गीत गाउँदै गाउँ गाउँ हिँड्थे । सोही क्रममा सुराकी मार्फत उनी पक्राउ परे । त्यसपछिको पल सम्झँदै राईले भने,‘त्यति बेला घोप्टो परेर ढाडमा बालुवा लगाएर त्यसमाथि जुटको बोरा राखेर प्रहरीले यति धेरै कुट्यो की म तीन दिनसम्म दुखाइले बेहोस जस्तो भएँ,’ भावुक हुँदै उनले भने,‘आखिर हामीले गीत मात्र त गाएका थियौँ नि । तर, मलद्धारामा लौरो घुसाएर, शरीर र पाइतालामा प्रहरीले निरन्तर कुट्दा अब बाँच्दिन जस्तो लागेको थियो ।’
त्यति बेला आफूहरूले गीत संगीतबाटै समाजमा चेतना दिने काम गरेको बताउँदै उपकुलपति राईले भने,‘ राणा काल हुँदै पञ्चायत काल र जनयुद्धको समय ज्यान जोखिममा राखेर कैयौँ प्रगतिशील कलाकारहरूले देश परिवर्तनका गीतहरू गाउँदै हिँडे । तर राज्यबाट कहिल्यै प्रगतिशील कलाकारहरूको योगदानको कदर नभएपछि हामीले प्रगतिशील गीतहरूको प्रवर्धनको लागि संगीत उत्सव गर्न लागेको हौँ ।’
उपकुलपति राईले कार्यक्रममा भने,‘जनयुद्धको समयमा रोल्पाको थवाङबाट धेरै प्रगतिशील गीत संगीतको सृजना भएको थियो । अहिले पनि गाउँ गाउँमा जन पक्षीय एवम् प्रगतिशील गीतहरू सुन्ने दर्शकहरू भएकाले यस पटकको हामीले प्रगतिशील संगीत उत्सव २०८३ थवाङमा गर्न लागेको हौँ’, प्रगतिशील संगीतको यो पहिलो महोत्सव भएको पनि उनले जानकारी गराए ।
सोही प्रतिष्ठानकी कुलपति एवम् नाट्यकर्मी निशा शर्माले पनि प्रगतिशील गीत गाउँदा, तथा प्रगतिशील नाटक गर्दा प्रहरीको तारो बनेको दिन सम्झँदै भनिन्,‘ त्यति बेला हामी फ्रान्सेली कलाकेन्द्रमा हरेक महिनाको अन्तिम सातामा प्रगतिशील गीत संगीत तथा कविता प्रस्तुतिका कार्यक्रम राख्थ्यौँ । तर, पछि प्रहरीले प्रगतिशील गीत संगीत तथा नाट्य प्रस्तुतिकै कारण पक्राउ गर्न वारेन्ट जारी गरेपछि हामी धेरै दिनसम्म भूमिगत हुनु परेको थियो ।’
जनयुद्ध ताका काठमाडौँको मैतिदेवीमा रहेको आरोहण गुरुकुलमा आफूहरुले प्रगतिशील नाटक तथा गीत संगीत प्रस्तुत गर्दा त्यति बेला पनि प्रहरी र राज्यको तोरो आफूहरु भएको स्मरण कुलपति शर्माले सुनाईन् । उनले अगाडि भनिन्,‘हामीले एउटा टेली शृंखलामा प्रगतिशील गीत राख्दा राज्य विरोध गीत भन्दै सेन्सरले त्यो गीत हटाएर बल्ल टेली शृंखला रिलिज गरेको थियो ।’
त्यति बेला आम जनतामा चेतना ल्याउने माध्यम नै प्रगतिशील गीत भएको पनि कुलपति निशा शर्माले बताइन् । तर पछिल्लो समय प्रगतिशील गीतका कलाकारहरुसँगै प्रगतिशील गीतसमेत ओझेलमा परेको पनि उनले जानकारी गराइन् । सोही कारण नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले पहिलो पटक प्रगतिशील गीत संगीतको महोत्सव रोल्पामा गर्न लागेको पनि कुलपति शर्माले जानकारी गराइन् ।
प्रतिष्ठानकी सदस्य सचिव कुस्मा महराले पनि माओवादी जनयुद्धको समयमा लामो समयसम्म गाउँ गाउँमा पुगेर प्रगतिशील गीतहरू प्रस्तुत गर्दाको पीडा सुनाइन् । धेरै पटक प्रहरी र सैनिकसँग मुडभेड भएको पल पनि उनले स्मरण गरिन् । उनले अहिले पनि प्रगतिशील गीतहरू सुन्ने दर्शकहरू गाउँमा प्रशस्त रहेको बताइन् । सोही कारण पनि आफूहरूले प्रतिष्ठानबाट पहिलो पटक प्रगतिशील गीतहरूको उत्सव आयोजना गरिरहेको र यो आयोजना स्थलको रूपमा रोल्पाको थवाङ गाउँनै रोजेको पनि उनले प्रकाश पारिन् ।
यही १९ र २० वैशाखमा नेपाल संगीत तथा नाट्य एकेडेमीले रोल्पाको थवाङ गाउँपालिकामा ‘प्रगतिशील संगीत उत्सव– २०८३’ आयोजना गर्दै छ । थवाङ गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएपछि आफूहरूले रोल्पाको थवाङमा यो उत्सव गर्न लागेको प्रतिष्ठानकी सदस्य सचिव महराले बताइन् । उत्सवमा अग्रजदेखि नयाँ पुस्तासम्मका प्रगतिशील तथा जनवादी गीतसंगीत प्रस्तुतिसँगै उनीहरूको सांगीतिक यात्राको परिचय गराइने छ । यस्तै प्रगतिशील गीत संगीतको अवस्था र प्रवर्धन’bout उत्सवमा अन्तरक्रियासहित विभिन्न कार्यक्रम गर्न लागिएको पनि सदस्य सचिव महराले जानकारी गराइन् ।
सम्बन्धित समाचार
मधेसका चलचित्र प्रवर्धन गर्न चन्द्र नगरमा महोत्सव
अदालतले खारेज ग-यो तमन्नाहको १ करोड डलर क्षतिपूर्ति मुद्दा
बंगलादेशमा छायांकन गरिएको ‘सधैँ तिमी’मा प्रवण र सरिता रोमान्स
‘कथा घेरा’को सडक नाटक विवादको घेरामा
चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा बलामी
हैदराबाद छाडेर दुई वर्ष मुम्बई बस्दै अल्लु अर्जन
मुस्ताङको घरपझोङ राष्टिय मूर्तिकला कार्यशाला
नयाँ वर्षमा आएका दुई चलचित्रकै व्यापार कमजोर





