नौ वर्षपछि कसरी टुंगियो इस्मा गाउँपालिकाको केन्द्र विवाद ?

गुल्मी । स्थानीय तह गठन भएको झन्डै नौ वर्षपछि गुल्मीको इस्मा गाउँपालिकाको केन्द्र टुंगिएको छ । गाउँपालिकाले वडा नम्बर ५ स्थित हुलाके नजिकै चापटारीमा केन्द्र राख्ने निर्णय गरेसँगै पालिकाको केन्द्र विवादसमेत टुंगिएको छ ।

गाउँपालिकाले सोमबार सर्वसम्मतरुपमा पालिकाको केन्द्र टुंगो लगाएको हो । लक्ष्मण विष्ट नेतृत्वको अघिल्लो गाउँपालिकाले १७ मंसिर २०७७ मा तेस्रो गाउँसभाबाट वडा नम्बर ५ स्थित रातापोखरामा पालिका भवन र वडा नम्बर ३ को माटाखानीमा कार्यालय रहने गरी निर्णय गरेको थियो । तत्कालीन समयमा गाउँसभामा रहेका २९ मध्ये २१ जनाले रातापोखराको पक्षमा र आठ जनाले विपक्षमा मतदान गरेका थिए ।

यसरी बहुमतको आधारमा अघिल्लो कार्यकालमा केन्द्र टुंगिएको थियो । अघिल्लो कार्यकालमा कांग्रेसका पाँच र एमालेका तीन जनाले रातापोखरा केन्द्रको विपक्षमा मतदान गरेका थिए । केन्द्र टुंगिएपनि सो निर्णय न्यायोचित नभएको भन्दै तत्कालीन वडा नम्बर १ र २ का वडाध्यक्षहरू चुराबहादुर खत्री र टिकाबहादुर रेश्मीले सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले सो रिट खारेज गरी पालिकाको केन्द्र तोक्ने अधिकार सम्बन्धित पालिकाकै हुने फैसला गरेको छ ।

त्यससँगै सर्वोच्चले पालिका केन्द्र हेरफेर गर्नुपरेमा सम्बन्धित पालिकाबाट सर्वसम्मत वा बहुमतको आधारमा निर्णय गरी केन्द्र सरकारसँग पठाउनुपर्ने फैसला सुनाएको छ । सर्वोच्चको सोही फैसलाको आधारमा वडा नम्बर ३ मा एमालेबाट निर्वाचित वडा सदस्य पोमप्रसाद भुसालको प्रस्ताव र कांग्रेसबाट निर्वाचित वडा नम्बर ६ का वडाध्यक्ष ढालबहादुर कुँवरको समर्थनमा पालिकाको केन्द्र चापटारीमा रहने निर्णय गरिएको पालिका अध्यक्ष भगतसिंह खड्काले जानकारी दिए ।

उपाध्यक्ष पार्वती कुँवरले पालिका मर्च हुने बहस चलिरहेका बेला भएपनि केन्द्र टुंगिएकोमा सम्बन्धित सबै सरोकार पक्षलाई धन्यवाद दिइन् । नौ वर्षसम्म भाडामा र विद्यालयबाट कार्यालय सञ्चालन गर्दा समस्या परेको भन्दै उनले अब छिट्टै प्रशासकीय भवन बनाउने गरी अगाडि बढ्ने बताइन् ।

तपाइको प्रतिक्रिया
(Visited 18 times, 1 visits today)

epaper

ताजा समाचार

नेपालमा मात्रै हो सुकुम्वासी समस्या ?