कांग्रेसमा तीन गुट सक्रिय, निष्कर्ष एउटै

काठमाडौं । २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका नेताहरू लज्जास्पद हार व्यहोर्नुप¥यो । सभापति गगनकुमार थापा सहित शीर्ष नेताहरू नै निर्वाचनमा पराजित भए । निर्वाचनअघि सरकार सञ्चालनको हैसियतमा रहेको कांग्रेस निर्वाचनबाट प्रमुख प्रतिपक्षी दलको हैसियतमा पुगेको छ ।

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल कांग्रेस भए पनि संख्याको हिसाबले कमजोर छ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १८२ सिट ल्याउँदा कांग्रेसले ३८ सिट मात्रै ल्याएको छ । कमजोर बनेको कांग्रेस पनि अहिले तीन गुटमा विभाजित भएको छ ।

संस्थापन पक्षको नेतृत्व विशेष महाधिवेशनबाट सभापति भएका थापाले गरिरहेका छन् । निवर्तमान सभापति शेरबहादुर देउवा समूहको नेतृत्व पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरिरहेका छन् । कोइराला समूहको नेतृत्व डा. शेखर कोइरालाले गरिरहेका छन् । तीन समूहमा विभाजित कांग्रेसभित्र समानान्तर भेला, बैठक, छलफल जारी छ । अचम्म भने तीन वटै गुट भेला, बैठक, छलफलको निष्कर्ष भने एउटै छ, पार्टी एकता कायम गर्नुपर्छ ।

विशेष महाधिवेशनबाट सभापति भएका थापा नेतृत्वको कांग्रेसको बैठक, छलफल निरन्तर जारी छ । निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाहीदेखि स्पष्टीकरण सोध्ने काम थापा नेतृत्वको कांग्रेसले जारी राखेको छ । १५औँ महाधिवेशनको कार्यपालिका सार्वजनिक गर्दै सोही अनुसार सदस्यता अद्यावधि गरिरहेको थापा नेतृत्वको कांग्रेसले अनेक समूह र गुटमा विभाजित अन्य कांग्रेसी नेतालाई एकजुट हुनुपर्ने सन्देश सहित पार्टी एकता जोगाउन लागेको छ ।

यता १४औँ महाधिवेशनबाट सभापति भएका देउवा समूहको नेतृत्व गरिरहेका खड्काले पनि पार्टी एकता कायम गर्नुपर्ने सन्देश गुटगत भेला गर्दै गरे । निर्वाचन आयोगदेखि सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई मान्यता दिएपछि ‘कार्यवाहक सभापति’बाट पूर्वकार्यवाहक सभापति लेख्न थालेका खड्काले १५औँ महाधिवेशन एकताको महाधिवेशन गर्नुपर्ने भन्दै पार्टी एकता कायम गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

विशेष महाधिवेशनको विपक्षमा रहेको कोइराला समूह खड्का समूहसंग सहकार्य गर्दै आएको थियो । खड्का र कोइराला समूहले विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएका थिए । तर अदालतको आदेशपछि गगनले आधिकारिता पाएसँगै कोइराला समूह खड्का समूहबाट छुटिएर छुटै सन्देश दिएको छ । कोइराला समूहले पनि पार्टी एकता कायम गर्नुपर्ने र त्यसको महत्त्वपूर्ण जिम्मेवारी सभापति थापाकै काँधमा आइपुगेको निष्कर्ष निकालेको छ ।

१५औँ महाधिवेशन एकताको महाधिवेशन हुनुपर्ने खड्का समूहको निष्कर्ष

१५ र १६ वैशाखमा काठमाडौंमा खड्का समूहको विस्तारित बैठकपछि बिहीबार १५औँ महाधिवेशन एकताको महाधिवेशन हुनुपर्ने निष्कर्ष सहित पार्टी एकता जोगाउनुपर्नेमा जोड दिएको छ ।
विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वले १५औँ महाधिवेशनमा सम्पूर्ण पार्टी पंक्तिको सम्मानजनक सहभागिता गराउने र उक्त महाधिवेशनबाट निष्पक्ष निर्वाचन हुने कुरा असम्भव भएको भन्दै पार्टीको बृहत्तर एकताको महाधिवेशनका लागि सहमतिमा साझा संरचनाको आवश्यकता हुने खड्का समूहको निष्कर्ष छ ।

‘बृहत् एकताको पन्ध्रौँ महाधिवेशन गर्ने उद्देश्य र संकल्प पूरा गर्नका साथै समग्र पार्टी एकता र शुद्ध एवं सबल कांग्रेस निर्माणका लागि सिंगो कांग्रेसको सहभागिता हुने गरी चौधौँ महाधिवेशनबाट संशोधित नेपाली कांग्रेसको विधान बमोजिम केन्द्र, प्रदेश, जिल्लालगायत सबै तहमा पार्टी एकताको अभियान कार्यक्रम सञ्चालन गर्न पर्दछ भन्ने हाम्रो प्रस्ट धारणा छ,’ पूर्वकार्यवाहक सभापति खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कांग्रेसको आन्तरिक विषय र सरकारको काम कारबाहीका विषयमा ११ बुँदे निष्कर्ष निकालेको खड्का समूहको विस्तारित बैठकमा कांग्रेसका निवर्तमान पदाधिकारी तथा सदस्य, प्रदेश सभापति, प्रदेश सभा संसदीय दलका नेता, जिल्ला सभापति, क्षेत्रीय सभापति, भातृ संघ तथा शुभेच्छुक संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागिता थियो । विशेष महाधिवेशन राष्ट्रिय राजनीतिलाई धमिल्याउने र कांग्रेसलाई कमजोर अवस्थामा ल्याउने षडयन्त्रको पहिलो कदम बन्न पुगेको निष्कर्ष बैठकको छ ।

राजनीतिक षडयन्त्रको तानाबानाका झलकहरू सजिलै अनुमान गर्दागर्दै पनि राज्य संयन्त्रका सम्बन्धित निकायहरूमा परेको प्रभावका कारण पार्टी एकता जोगाउन नसकिएको खड्काले जनाएका छन् । निर्वाचनको संघारमा कांग्रेस छिन्नभिन्न हुने इतिहासकै सबैभन्दा ठुलो दर्दनाक अवस्थामा पुगेको उनले बताए ।

तत्कालीन पार्टी सभापति देउवाको धैर्यता, सहनशीलतासँगै अन्य नेताहरूको साथ सहयोगले तत्काल पार्टी विभाजनबाट रोक्न सफल भए पनि विभाजित मन जोड्न नसक्दा कांग्रेस विरुद्धको षडयन्त्रको उद्देश्य पूरा भएको खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कार्यसमितिले वैधता पाए पनि आदेशमा कतै पनि न्यायिक मन नभेटिएको खड्काले जनाएका छन् ।

‘प्रचलित कानुन, निर्वाचन आयोगद्वारा विगतमा दलहरूको विवादको फैसला गर्दा स्थापित कतिपय नजिरहरू र स्वयं नेपाली कांग्रेसको विधानसँग हामीले हेर्दा मेल देखिँदैन । आदेशमा कतै पनि न्यायिक मन हामीले भेटेनौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘आदेशमा उल्लेखित आधारहरूमा सहमत नहुँदा नहुँदै पनि नेपाली कांग्रेस पार्टी विधिको शासन मान्ने, स्वतन्त्र न्यायपालिकाको सदैव सम्मान गर्ने र यही संस्कार र परम्पराबाट हामी सिक्दै आएकोले कांग्रेसको आधिकारिक नेतृत्व सम्बन्धमा मिति २०८३ वैशाख ४ गतेको सर्वोच्च अदालत मान्दछौँ ।’

आम निर्वाचनको पूर्वसन्ध्यामा जबरजस्ती एक पक्षीय ढंगले पार्टीको तथाकथित विशेष महाधिवेशन गर्नु गराउनु नै वर्तमान विवादको कारण भएको निष्कर्ष सहित निर्वाचनमा बेहोर्नु परेको सर्मनाक पराजयको मुख्य जिम्मेवार विशेष महाधिवेशनको अगुवाइ गर्ने नेताहरू नै हुन् भन्ने खड्का समूहको ठहर छ ।

नेपालको वर्तमान राजनीतिक परिवेशमा एकताबद्ध भएको सिंगो, सुदृढ र बलियो कांग्रेसले मात्रै संवाद, सहमति र सहकार्य गर्दै राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, नागरिक अधिकारको रक्षा एवं संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सक्ने ठहर गर्दै पार्टी बृहत्तर एकताका लागि खड्का समूहले सबैलाई आह्वान गरेको छ । कांग्रेसले सुरु गरेको क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई गलत र बदनियतपूर्ण भएको निष्कर्ष निकाल्दै त्यस्तो कार्य नगर्न र नगराउन पार्टीका सबै तहका जिम्मेवार पदाधिकारीमा खड्काले अपिल गरेका छन् ।

पार्टी एकता कमजोर भएको कोइराला समूहको निष्कर्ष

खड्का समूहले भेला सम्पन्न गर्दै गर्दा बिहीबार कोइराला समूहको भेला काठमाडौंमा भएको छ । बालुवाटारस्थित ओपेरा होटेलमा भएको बागमती प्रदेश स्तरीय सो भेलामा सो समूहका नेता डा. शेखर कोइरालाले पार्टी एकता कमजोर भएको बताए । भेलामा सहभागी नेताहरूले विशेष महाधिवेशनकै कारण पार्टी एकता कमजोर भएको निष्कर्ष सहित पार्टी एकता जोगाउन अपिल समेत गरेका छन् ।
पार्टी एक बनाएर लैजाने सम्पूर्ण जिम्मेवारी पनि सभापति थापाकै रहेको निष्कर्ष कोइराला समूहको रहेको छ । सहभागीहरूले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण भइसकेको अवस्थामा पुनः अद्यावधि गर्न नहुने निष्कर्ष निकालेको छ । अहिले आएर सदस्यता अद्यावधि व्यवहारिक नभएको उनीहरूको तर्क छ ।

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

epaper

ताजा समाचार

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु