एनआरएनएलाई करको दायरामा ल्याउनुपर्ने उपाध्यक्ष बज्राचार्यको सुझाव

काठमाडौं । गैरआवासीय नेपाली संघका उपाध्यक्ष रविन बज्राचार्यले सरकारले एनआरएनएको अधिकार सीमित गर्ने उद्देश्यसहित विधेयकको मस्यौदा तयार पारेको आरोप लगाएका छन्। एनआरएनएसँग ‘बार्गेनिङ’ गर्न सरकारले यस्तो तयारी गरेको उनको भनाइ छ।

पत्रकार सम्मेलनमा बोल्दै उनले राजनीतिक अधिकारबाहेक अन्य सबै अधिकार नेपालीसरह हुने व्यवस्था ऐनमै स्पष्ट उल्लेख गर्न माग गरे। “राजनीतिक अधिकारका विषय स्पष्ट भए अन्य अधिकारका विषय पनि सहज रूपमा व्याख्या गर्न सकिन्छ,” उनले भने।

उनले अघिल्ला सरकारले एनआरएनएलाई आश्वासन मात्रै दिएको तर कानुनी व्यवस्था गर्न नसकेको टिप्पणी गरे। “तत्कालीन नेतृत्वले आफ्ना माग बलियोसँग राख्न नसकेकै कारण ऐन बन्न सकेन,” उनले भने, “तर अहिलेको सरकारले सुरुदेखि नै चासो देखाउँदै विधेयकको मस्यौदा ल्याएको छ। यही अधिवेशनमै संसद्मा पेश हुन सक्छ।”

सम्पत्ति कर ५० प्रतिशतसम्म राख्ने प्रस्तावप्रति उनले कडा आपत्ति जनाए। “५० प्रतिशत सम्पत्ति कर संसारको कुनै पनि देशमा छैन। नेपालीसरह अधिकार दिने भन्ने, तर करचाहिँ अत्यधिक लगाउने कुरा मिल्दैन,” उनले भने।

बज्राचार्यले ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने अवधारणाअनुसार वंशजको नागरिकताको निरन्तरता हुनुपर्ने धारणा राखे। संविधान संशोधन नहुँदासम्म राजनीतिक अधिकारबाहेक अन्य अधिकार नेपालीसरह सुनिश्चित गर्नुपर्ने उनले बताए।

उनले एनआरएनए प्रमाणपत्र लिनेहरूलाई करको दायरामा ल्याउनुपर्ने सुझाव पनि दिए। “विदेशमा कमाएको सम्पत्तिको ०.२ प्रतिशत कर नेपाल सरकारलाई तिर्ने व्यवस्था गर्नुपर्छ,” उनले भने, “यसले देश विकासमा ठूलो सहयोग पुग्न सक्छ।”

फरक प्रसंगमा उनले संगठनको एकताका लागि आफूले अध्यक्ष पदको उम्मेदवारी त्यागेको दाबी गरे। “एकताकै लागि मैले जित्दै गरेको निर्वाचन पनि छोडेको हुँ,” उनले भने, “त्यो त्यागकै कारण धेरै साथीहरू संगठनमा जोडिनुभयो।”

संगठनभित्रको पद व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै उनले उपाध्यक्षहरूको वरियताक्रममा आफ्नो नाम शीर्षस्थानमा राख्नुपर्ने माग गरे। “पूर्ण बैठकसमेत अझै बस्न सकेको छैन,” उनले टिप्पणी गरे।

हाल आफू ट्रेड प्रमोशनको जिम्मेवारीमा रहेको उल्लेख गर्दै अमेरिका र जापानमा व्यापार मेला आयोजना गर्ने तयारी भइरहेको जानकारी पनि उनले दिए। आगामी वृहद् एकता महाधिवेशन’bout उनले सबै पक्षलाई एकताबद्ध बनाएर अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरे। “अध्यक्ष जितेर एनआरएनएलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य छ,” उनले भने।

तपाइको प्रतिक्रिया
(Visited 40 times, 1 visits today)

epaper

ताजा समाचार

गण्डकीका प्रमुख सचिव भ्रष्टाचारमा मुछिए