कोरोना भाइरस (कोभिड–१९)को संक्रमण दिनानुदिन बढिरहेकाले यसलाई नियन्त्रण गर्न सरकारले विगत ७० दिनदेखि जारी राख्दै आएको लकडाउन खासै प्रभावकारी बन्न नसकेको प्रस्ट भएको छ । सरकारले लकडाउन जारी राख्दै जाने तर संक्रमितको संख्या घट्नुको साटो बढ्दै जानुले नागरिक स्तरमा सरकारप्रति आक्रोश देखिन थालेको छ । यति लामो समयसम्म लकडाउनमा बस्नुपर्दा आमनागरिकको जनजीवन त्यसै पनि अस्तव्यस्त बन्न पुगेको छ । नागरिकलाई राहत दिने विशेष कार्यक्रम सरकारबाट घोषणा हुन सकेको छैन । एकातिर राहत नपाउँदाको पीडा, अर्कोतर्फ संक्रमण झन्झन् बढेकाले आफैं पनि संक्रमितको सूचीमा थपिनुपर्ने हो कि भन्ने त्रासमा आमनागरिकले जीवन गुजारा गर्न बाध्य भइरहेका छन् ।
सरकारले ७० दिनदेखि लकडाउन गर्दै आए पनि संक्रमितको संख्या कम हँुदै जानुपर्नेमा किन बढ्दै गयो भन्नेमा गम्भीर आत्मसमीक्षा गर्न जरुरी छ । कोरोना नियन्त्रणका लागि सरकारद्वारा गठित उच्चस्तरीय समितिलगायत अन्य विभिन्न समितिले प्रभावकारी रूपमा कार्य गर्न नसक्दा समस्या झनै चुलिएर गएको हो कि भन्ने अनुमान सहजै गर्न सकिन्छ । हामीले पुरै देशलाई लकडाउन त ग¥यौं तर भारतसँग सीमा जोडिएका क्षेत्रलाई व्यवस्थापन गर्न सकेनांै । भारतमा रोजगारीका लागि गएका लाखांै नेपाली असुरक्षित रूपमा नेपाल भित्रिदासमेत उनीहरूलाई क्वारेन्टिनमा राख्न सकेनौं । अहिले नेपालमा देखिएका अधिकांश संक्रमित भारतबाटै आएका हुन् । नेपालमा सामुदायिक स्तरमा कोरोना भाइरस सार्ने काम भारतबाटै आएका नेपालीले गरेका हुन् । सीमा क्षेत्रलाई व्यवस्थित बनाउन नसक्दा ७० दिनदेखिको लकडाउन असफल हुन पुगेको हो । त्यसैले, अब सरकारले सीमा क्षेत्रलाई पूर्ण रूपमा सिल गरेर भारतबाट आउने सबै नेपालीलाई व्यवस्थित क्वारेन्टिनमा राख्नुपर्छ । यदि उनीहरूलाई क्वारेन्टिनमा राख्न सकिएन भने नेपालमा अझै कोरोना संकट भयावह भएर जाने छ । अझै पनि सरकार आफ्ना विगतका कार्यक्रमलाई परिमार्जन गरी अगाडि बढ्न सक्यो भने कोरोनालाई नियन्त्रणमा लिन सकिन्छ । तर, अहिलेको जसरी नै हचुवाका आधारमा कार्यक्रमहरू सञ्चालन गर्दै गएमा कोरोनाको संकट अनन्त कालसम्म रहिरहन सक्छ । त्यसको मारमा सबै नेपाली पर्नेछन् । त्यसैले, अब सरकारले विशेष सावधानी अपनाएर आफ्ना सम्पूर्ण कार्यक्रम कोरोना नियन्त्रणका लागि लक्षित गर्नुपर्छ । प्रदेश र स्थानीय तहहरूले पनि कार्यक्रम बनाउँदा कोरोना नियन्त्रणलाई लक्षित गरेर बनाउनुपर्छ ।
सरकारले अझै पनि ट्रेसिङ, ट्रयाकिङ र टेस्टिङको गति बढाउन सकेको छैन । भारतबाट नेपाल आएका लाखभन्दा बढी नेपाली अझै पनि परीक्षणको दायराभन्दा बाहिरै छन् । उनीहरूले अहिले पनि समु्दाय स्तरमा भकाभक कोरोना संक्रमण बढाइरहेका हुन सक्छन् । त्यसैले, उनीहरू सबैको पहिचान गरी क्वारेन्टिनमा राख्ने वा पीसीआर परीक्षण गर्ने काम तत्काल गर्नुपर्छ । लगातारको लकडाउनका कारण आर्थिक क्षेत्रसमेत तहसनहस भइरहेकाले लकडाउनलाई केही खुकुलो बनाउनुपर्ने आवश्यकता बढेर गएको छ । अब सरकारले आशंकित धेरैभन्दा धेरैलाई पीसीआर परीक्षण गर्दै समुदायलाई सुुरक्षित बनाउनुपर्छ भने लकडाउनको मोडालिटी परिवर्तन गरेर अगाडि बढ्नुपर्छ । अन्यथा, लकडाउन जारी रहिरहने तर संक्रमण दर दोब्बर तेब्बरले वृद्धि भइरहने हो भने सरकारप्रतिको नागरिकको विश्वास टुट्न सक्छ र उनीहरूले लकडाउनलाई स्वतःस्फूर्त उल्लंघन गर्ने अवस्था आउन सक्छ । त्यतिखेरको अवस्था झनै दर्दनाक हुन सक्ने भएकाले त्यस्तो अवस्था आउन नदिन सरकार थप संवेदनशील बन्नुको विकल्प छैन ।






