काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पूर्वराष्ट्रपति एवं पार्टीकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ । यो निर्णयसँगे ११ वर्षपछि भण्डारी राजनीतिमा पुनः औपचारिक रूपमा सक्रिय हुने भएकी छिन् ।
पूर्वराष्ट्रपति भण्डारीलाई एमालेमा सक्रिय हुन खुल्यो बाटो
११ कात्तिक २०७२ मा पहिलो पटक राष्ट्रपति निर्वाचित हुनुअघि उनले एमालेको सदस्यता त्यागेकी थिइन् । २ कार्यकाल राष्ट्रपति भएर बाहिरिएपछि पुनः एमालेमा सक्रिय हुन खोजेकी भण्डारीको सदस्यता नविकरणलाई अध्यक्ष ओलीले नै होल्ड गरेका थिए । तर मंगलवार बसेको बैठकमा ओलीले नै उनको सदस्यतालाई निरन्तरता दिन प्रस्ताव गरेपछि सर्वसम्मतिले भण्डारीको सदस्यताले निरन्तरता पाउने निर्णय गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा सोमबार बसेको सचिवालय बैठकले भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो । एमाले उपमहासचिव लेखराज भट्टले भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय बैठकले गरेको जनाएका छन् ।
भण्डारी राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष थिइन् । दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी पुरा गरेर शितलनिवासबाट बाहिरिएपछि उनले सक्रिय राजनीति गर्ने चाहना व्यक्त गरेकी थिइन ।
२०७९ सालमा राष्ट्रपतिको कार्यकाल पुरा गरेसँगै भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने संकेत गरेकी थिइन् । भण्डारीले १४ असार २०८२ मा जननेता मदन भण्डारीको ७४औँ जन्म जयन्तीका अवसरमा आयोजित कार्यक्रमबाट आफू सक्रिय राजनीतिमा फर्केको घोषणा गरेकी थिइन् ।
भण्डारीको यो घोषणासँगै एमालेभित्र तरङ्ग फैलिएको थियो । भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषणासँगै पार्टी सदस्यता समेत नवीकरण गरेकी थिइन् । तर एमाले अध्यक्ष ओलीले उनको सदस्यता नवीकरण ‘होल्ड’मा राख्दै राष्ट्रपति भइसकेका व्यक्तिलाई पार्टी सदस्यता दिन नमिल्ने तर्क गरेका थिए ।
अध्यक्ष ओलीले ६ साउन २०८२ मा बसेको केन्द्रीय कमिटी बैठकबाट भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गराएका थिए । सोमबार उही एमाले अध्यक्ष ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो ।
भण्डारी सक्रिय राजनीतिमा फर्किदा अध्यक्ष ओली तेस्रो कार्यकालका लागि पार्टी अध्यक्ष बन्ने चाहनामा बाधा पुग्ने देखेर उनको सदस्यता नवीकरण रोकेका थिए । तर अहिले एमाले अध्यक्ष ओलीलाई पार्टी नेतृत्वबाट हटाउनुपर्ने दबाब बढ्दै गएपछि उनले भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गराएर आफू विरुद्धको अभियान मथर गर्ने प्रयास गरेका छन् ।
भण्डारीको सदस्यता नवीकरण रोकेपछि एमालेको ११औँ महाधिवेशनमा ओली अध्यक्ष भएका थिए । तर भण्डारीको समर्थनमा ईश्वर पोखरेल अध्यक्ष पदमा ओलीसँग प्रतिस्पर्धा गरेका थिए । सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई सहितका नेताहरूले महाधिवेशनमा ईश्वरलाई समर्थन गरेका थिए ।
ओलीलाई साथ दिएका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल सहितका नेताहरूले अहिले ओलीलाई साथ दिन छोडेर उनको विकल्पको खोजी गर्न थालेपछि ओली पार्टीभित्र कमजोरजस्तो देखिएका छन् । ओलीकै चाहनामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग पार्टी एकता गर्ने आन्तरिक छलफल जारी रहँदा भण्डारीलाई सक्रिय राजनीतिका लागि मार्गप्रसस्त गर्ने निर्णयलाई ‘महत्त्वपूर्ण राजनीतिक मुभ’का रूपमा हेरिएको छ ।
सम्बन्धित समाचार
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
गण्डकीका प्रमुख सचिव भ्रष्टाचारमा मुछिए
पूर्वमन्त्री सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश
बजेट अधिवेशनः सरकारको नीति तथा कार्यक्रम आज
मन्त्रिपरिषद् बैठकद्वारा नीति तथा कार्यक्रम स्वीकृत
प्रतिनिधिसभा बैठक विपक्षी दलहरूको अवरोध
गुरुङको नेतृत्वमा कांग्रेस अनुशासन समिति पुनर्गठन
पत्रिका बन्द गर्न सांसद खरेललले दिएको धम्कीप्रति महासंघको आपत्ति






