चिसाङ खोलामा अवैध उत्खनन् नियन्त्रणमा सक्रिय लेटाङ प्रहरी

सुन्दरहरैंचा(मोरङ) । मोरङको लेटाङ नगरपालिका क्षेत्रमा भइरहेको अवैध नदीजन्य पदार्थ उत्खनन् नियन्त्रण गर्न इलाका प्रहरी कार्यालय लेटाङ सक्रिय रूपमा लागेको छ। यसैक्रममा प्रहरीले चिसाङ खोलाबाट गैरकानुनी रूपमा ढुंगा, गिटी तथा बालुवा संकलन गर्दै गरेका ५ वटा ट्र्याक्टर चालकसहित नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक सगर शाहका अनुसार लेटाङ नगरपालिका–३ स्थित चिसाङ खोला पुल नजिक विशेष निगरानीका क्रममा अवैध उत्खनन् भइरहेको फेला परेपछि प्रहरी टोलीले तत्काल कारबाही गरेको हो।

प्रहरी निरीक्षक शाहले नदीजन्य पदार्थको जथाभावी उत्खनन् गर्दा वातावरणीय असरका साथै बाढी, कटान तथा पुल संरचनामा समेत जोखिम बढ्ने भएकाले यस्ता गतिविधिविरुद्ध कडाइ गरिएको बताए।

उनले भने,“प्रचलित कानुनविपरीत नदीजन्य पदार्थ उत्खनन् तथा संकलन गर्ने कार्य कुनै पनि हालतमा स्वीकार्य हुँदैन। प्राकृतिक स्रोतको संरक्षण गर्नु सबैको दायित्व हो। अवैध उत्खनन् गर्ने जोसुकैलाई पनि कानुनी दायरामा ल्याइन्छ।”

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका ट्र्याक्टरहरू खोलाबाट ढुंगा, गिटी तथा बालुवा संकलन गरिरहेको अवस्थामा फेला परेका थिए। पक्राउ परेका चालकसहित ट्र्याक्टरलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि लेटाङ नगरपालिकामा बुझाइएको छ।

नेपालको प्रचलित कानुनअनुसार सडक पुल तथा झोलुङ्गे पुलको १ किलोमिटर तल र ५०० मिटर माथिसम्म नदीजन्य पदार्थ उत्खनन् गर्न पाइँदैन। तर पछिल्लो समय केही समूहले रातको समयमा तथा लुकिछिपी उत्खनन् गर्ने क्रम बढ्दै गएको स्थानीयले गुनासो गर्दै आएका छन्।

प्रहरी निरीक्षक शाहले आगामी दिनमा पनि नदी दोहन, अवैध उत्खनन् तथा प्राकृतिक स्रोतको दुरुपयोग रोक्न नियमित गस्ती र निगरानीलाई थप प्रभावकारी बनाइने जानकारी दिए। स्थानीयवासीहरूले समेत प्रहरीको सक्रियतालाई सकारात्मक रूपमा लिँदै अवैध उत्खनन् नियन्त्रणमा स्थायी समाधान आवश्यक रहेको बताएका छन्।

तपाइको प्रतिक्रिया
(Visited 69 times, 1 visits today)

epaper

ताजा समाचार

राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित