पोखरामा काँग्रेस सभापति थापाइतरको भेला

पोखरा । नेपाली काँग्रेसको हिजो शनिबार गण्डकी प्रदेशस्तरीय भेला एवं विचार गोष्ठीले नेताहरुबीच घनीभूत संवाद गरी ‘एकता सन्देश’ दिन विलम्ब नगर्न आग्रह गरेको छ । त्यसका लागि पार्टी सभापति गगनकुमार थापा, नेताहरु पूर्णबहादुर खड्‌का र डा. शेखर कोइरालालगायत अन्य नेताहरुसमेतलाई आग्रह गर्ने निर्णय गरेको छ ।

१५ जेठसम्म निकास ननिकालेमा महासमितिको बैठक बसी समाधान निकाल्न आह्वान गर्नेसहितका विभिन्न ९ बुँदे निर्णय गरेको छ ।

आन्तरिक विवाद अन्त्य गर्ने उद्देश्यसहित सभापति गगन थापाइतरका काँग्रेसका अगुवा कार्यकर्ताहरुको पोखरामा गण्डकी प्रदेशस्तरीय भेला बसेको हो । भेला संयोजक एवं काँग्रेस गण्डकीका उपसभापति मेखलाल श्रेष्ठले पार्टी विभाजनभन्दा पनि पार्टीलाई एकताबद्ध बनाउने गरी भेला भएको दाबी गरे । गण्डकी प्रदेश सरकारका पूर्व मन्त्रीसमेत रहेका नेता श्रेष्ठको पहलमा भएको भेलामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका काँग्रेस अगुवा कार्यकर्ता सहभागी थिए ।

Screenshot

भेलालाई काँग्रेस नेता शशांक कोइरालालगायत नेताले सम्बोधन गरेका थिए । भेलाले पार्टीभित्र अन्यायपूर्ण गतिविधि सञ्चालन नगर्न र भातृ संस्थालाई तदर्थवादका रुपमा मात्र सञ्चालन गर्ने परिपाटीको अन्त्य गर्न आग्रह गरेको छ ।

यस्तै, सभापति थापाले आफूसँग प्रतिशोध पूर्ण ढंगले राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र भातृसंस्था केन्द्रीय समिति विघटन गरेको कार्यको विरोध गरेको छ ।

गत २१ फागुनको आमनिर्वाचनमा काँग्रेसले अपेक्षित परिणाम ल्याउन नसक्नुमा पार्टीको नेताहरुबीच सहमतिबेगर विशेष महाधिवेशन र उम्मेदवारी चयन हुनु प्रमुख कारण रहेको निष्कर्ष निकालिएको छ ।

बैठकले मुलुकको विषम परिस्थितिमा काँग्रेसभित्र निरन्तर द्वन्द्व हुनुले पार्टीमा पाका र युवा नेताहरुको नेतृत्व क्षमतामा प्रश्न उठेको ठहर गर्दै आफूभित्रको सामान्य समस्या समाधान गर्न नसक्नेले कसरी मुलुकको समस्या समाधान गर्दछ भन्ने धारणा बनेको टिप्पणीसमेत गरेको छ ।

वीपी कोइरालाबाट प्रतिपादित सिद्धान्त र आदर्शप्रति पार्टीको क्रियाकलाप विमुख हुँदै गएको भन्दै वीपीको विचारको सन्दर्भमा राष्ट्रव्यापी रुपमा बहस सञ्चालन गरी समानुकूल परिमार्जित र परिष्कृत सैद्धान्तिक दृष्टिकोण तय गर्नुपर्ने निर्णय भेलाले गरेको छ ।

अल्पसूचना आधारमा सरकारले सुकुमबासी बस्तीहरुमा डोजर आतंक मच्चाएको ठहर गर्दै त्यसको भत्सर्ना गरेको छ । संविधानप्रदत्त आवाससम्बन्धी मौलिक अधिकारको कार्यान्वयन गरी सुकुमबासीहरुलाई अविलम्ब आवास उपलब्ध गराउन माग गरेको छ । भेलाले पार्टीका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वमन्त्री आरजू देउवाको पूर्ण स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

असन्तुष्ट पक्षलाई समेटेर लैजानुपर्छ : शशांक
पूर्वमहामन्त्री शशांक कोइरालाले पार्टी भित्रका असन्तुष्ट पक्षलाई समेटेर लैजानुपर्नेमा दिए । भेलालाई सम्बोधन गर्दैै उनले आफूलाई कुनै पद नचाहिने बरु पार्टी एक हुनुपर्ने तर्क गरे । उनले भने, ‘पार्टी बलियो भयो भने हामी बँच्छौं, पार्टी कमजोर भए हामी झनै कमजोर हुँदै जान्छौं ।’

उनले हतारिएर विशेष महाधिवेशनबाट गगन थापा सभापति बन्नु नहुने पनि बताए । वीपी कोइरालाले पनि विगतमा आफू प्रधानमन्त्री नभई सुवर्ण शमशेरलाई प्रधानमन्त्री प्रस्ताव गरेको उदाहरण दिँदै नेता कोइरालाले भने, ‘गगन थापा हतारिएर विशेष महाधिवेशनबाट सभापति हुनुहुँदैनथ्यो ।’

उनले विदेशी हस्तक्षेपका कारण लोकतन्त्र र राष्ट्रियता कमजोर हुँदै गएको पनि दाबी गरे । लोकतन्त्रप्रति विश्वास राख्ने पार्टी नेपाली काँग्रेसले वर्तमान संविधानको रक्षा गर्नु प्रमुख दायित्व रहेको बताउँदै उनले वर्तमान संविधानले देशभर रहेका सबै जातजाति भाषा, संस्कृतिलाई समेटेको बताए ।

पूर्व केन्द्रीय सदस्य किरण पौडेलले पार्टीभित्र एकताको आवश्यकता महसुस भएको बताउँदै काँग्रेस नियमित महाधिवेशनको पक्षमा रहेकोमा एक्कासि विशेष महाधिवेशन गर्नु गलत भएको दाबी गरे ।

पूर्व केन्द्रीय सदस्य एवं गण्डकीका पूर्वमन्त्री सरस्वती अर्यालले पार्टीभित्रका दूरदर्शी नेतालाई पन्छाएर सभापति थापा अगाडि जान नमिल्ने तर्क गरिन् ।

भेलामा पूर्वकेन्द्रीय सदस्यहरु गुरु बराल, भूपेन्द्र राय, केदार कार्की, मोहन बस्नेत, सीता देवकोटा लगायतका नेताले बोलेका थिए ।

काँग्रेसमा गगन थापाइतर समूहले यस्तोखालको भेला यसअघि कोशी, बागमती र कर्णाली प्रदेशमा गरिसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 11 times, 1 visits today)

epaper

ताजा समाचार

‘मृत्युमार्ग’ बन्दैछन् गिटी–बालुवा खानी