२५ जेठसम्म कर नतिरे ब्याज र जरिमाना !

काठमाडौं । सरकारले लकडाउनकैबीच उद्योगी तथा व्यवसायीलाई तोकिएको समयभित्र आर्थिक वर्षको तेस्रो त्रैमासिकको कर भुक्तानी गर्न ताकेता गरेको छ । सरकारले सार्वजनिक सूचना नै निकालेर पछिल्लोपटक कर तिर्न बढाइएको म्यादभित्र कर तिर्न ताकेता गरेको हो ।

लकडाउन भएपछि सरकारले चैत र वैशाख महिनामा अधिकांश करको भुक्तानी गर्ने समयावधि २५ जेठसम्मका लागि बढाएको थियो । १४ वैशाखको मन्त्रिपरिषद् बैठकले वैशाख २५ सम्मको कर तिर्ने समय एक महिना थप्ने निर्णय गरेको थियो । तर, पछिल्लोपटक लकडाउन लम्ब्याउँदै ३२ जेठसम्म विस्तार गर्ने निर्णय लिएको सरकारले जेठ २५ पछिको कर भुक्तानीका लागि दिइएको म्याद थपेको छैन ।

पछिल्लोपटक लकडाउन लम्ब्याउँदै ३२ जेठसम्म विस्तार गर्ने निर्णय लिएको सरकारले लिएपछि जेठ २५ पछिको कर भुक्तानीका लागि दिइएको म्याद थप गरिएको छैन

बरु आन्तरिक राजस्व विभागले जेठ २५ गतेभित्र कर बुझाएर शुल्क, थप दस्तुर, ब्याज र जविरमाना बच्न आग्रह गर्दै सार्वजनिक सूचना निकालेको छ । लकडाउन लम्बिएपछि करदाता बैंक वा कर कार्यालयसम्म पुग्न पाएका छैनन् । यस अवधिमा आर्थिक गतिविधिसमेत ठप्प प्रायः छन् । यस्तो अवस्थामा कर तिर्न थप समय दिनुपर्ने माग उद्योगी तथा व्यवसायीको छ । यस्तो समस्यामा पनि सरकारले राजस्वलाई नै बढी प्राथमिकतामा राखेर करको डन्डा लगाउन खोजेको आरोप उनीहरूको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्री भने जेठ २५ पछि करको विवरण बुझाउने र कर तिर्ने समय नथपिएको बताउँछन् । ‘हामीले दुई महिना समय दियौं, अब पनि कर उठाएनौं भने हिसाब÷किताब मिलाउन गाह्रो हुन्छ,’ खत्रीले भने,’ यो महामारी कतिसम्म जान्छ थाहा छैन, भएका कारोबार र आम्दानीको कर अब तोकिएको मितिमा बुझाउनैपर्छ । नत्र नियमअनुसार लाग्ने ब्याज र जरिमाना लिन्छौं ।’

आन्तरिक राजस्व विभागका अनुसार मूल्य अभिवृद्धि कर ऐनअनुसार फागुन र चैत महिनाको मासिक, २०७६ साल माघ (फागुन महिनाको द्विमासिक र दोस्रो चौमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण तथा ती विवरणबमोजिमको कर दाखिला गर्ने म्याद जेठ २५ सम्म छ । मूल्य अभिवृद्धि कर फिर्ता प्रयोजनका लागि मूल्य अभिवृद्धि ऐनअनुसार कर फिर्ताका लागि दिन पाउने निवेदन अवधि सकिएपछि पनि २५ जेठसम्म नै छ । अन्तःशुल्क ऐनअनुसार २०७६ साल फागुन र चैत महिनाको बुझाउनुपर्ने विवरण तथा ती विवरणबमोजिमको अन्तःशुल्क दाखिला गर्ने म्याद पनि सोही मितिसम्म छ ।

सूचनाअनुसार आयकर ऐनअनुसार फागुन र चैत महिनाको बुझाउनुपर्ने अग्रिम कर कट्टी र अग्रिम कर असुलीको संशोधित विवरणसहित दोस्रो किस्ताको रकमसमेत २५ जेठसम्म बुझाउनपर्नेछ । आर्थिक ऐनअनुसार फागुन र चैत महिनाको शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क तथा दूरसञ्चार सेवा दस्तुर बुझाउने म्यादसमेत सोही दिनसम्म मात्र छ ।

तपाइको प्रतिक्रिया
(Visited 281 times, 1 visits today)

epaper

ताजा समाचार

महाराजगन्जमा माइक्रोबसले ८ वटा गाडीलाई ठक्कर दिँदा एकको मृत्यु, ६ जना घाइते