काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको माग चर्कोरुपमा उठेको छ । सचिवालय बैठकमै ओलीले राजीनामा दिनुपर्ने माग उठेपछि उनीमाथि दबाब बढेको छ ।
सचिवालय बैठकमा अधिकांश नेताले ‘अब पार्टी यही शैलीमा चल्न नसक्ने’ भन्दै अध्यक्षले मार्गप्रशस्त गर्नुपर्ने सुझाव दिएका छन् । भक्तपुरको गुण्डुस्थित ओली निवासमा ४ जेठदेखि जारी सचिवालय बैठकमा पदाधिकारीहरुले नै ओलीको राजीनामा माग गरेपछि त्यसको छिनोफानो अब केन्द्रीय कमिटीबाट गरिने भएको छ ।
अध्यक्ष ओलीको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाउँदै नेताहरुले पार्टीलाई पुनर्गठन गर्नुपर्ने सुझाव दिएका छन् । निर्वाचनमा पराजयको जिम्मेवारी लिँदै पार्टीलाई पुनर्गठन गर्नुपर्ने सुझावसहित नेताहरुले नेतृत्व हस्तान्तरणको विषय उठाएपछि ओली रक्षात्मक बनेका हुन् ।
विगतमा ओलीलाई खुलेर सहयोग गर्दै आएका नेताहरुले समेत राजीनामा गरेर मार्गप्रशस्त गर्नुपर्ने सुझाव दिएपछि रक्षात्मक बनेका ओली असारमा बस्ने केन्द्रीय कमिटीबाट निर्णय लिने संकेत गरेका छन् । सचिवालय बैठकमा अल्पमतमा रहेका ओली केन्द्रीय कमिटी बैठकबाट बहुमत जुटाएर आफ्नो पद जोगाउने कसरतमा रहेका छन् ।
एमाले उपाध्यक्षहरु विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुजी पन्त, महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई, रघुवीर महासेठ, सचिवहरु खगराज अधिकारी, छविलाल विश्वकर्मा, पदमा अर्याल, राजन भट्टराई, शेरधन राई, हिक्मत कार्कीसहितका नेताहरुले अध्यक्ष ओलीले राजीनामा गरेर मार्गप्रशस्त गर्नुपर्ने सुझाव दिएको एमालेका एक पदाधिकारीले जनाएका छन् ।
यी नेताहरुले ओलीको राजीनामा माग गर्दै गर्दा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, उपमहासचिव लेखराज भट्ट, सचिव महेश बस्नेत, यामलाल कँडेल, भानुभक्त ढकालसहितका नेताहरु ओलीको पक्षमा उभिँदै अहिलेको अवस्थामा राजीनामा गर्न नहुने सुझाव दिएका छन् ।
२१ फागुनको निर्वाचनमा एमालेको लज्जास्पद पराजयपछि युवा, विद्यार्थी नेताहरुले नेतृत्व हस्तान्तरणको माग गर्दै दबाब दिएपछि पार्टीमा अध्यक्ष ओलीको विकल्प खोजिन थालेको हो । ओलीलाई विगतमा साथ दिँदै आएका विष्णु पौडेल, शंकर पोखरेलहरु मिलेर अगाडि बढ्न थालेपछि ओलीको अध्यक्ष पद संकटमा परेको छ ।
‘विष्णु पौडेलहरुले महासचिव शंकर पोखरेललाई आगामी अध्यक्षको रुपमा स्वीकार गरेपछि शंकर पोखरेलहरु समेत केपी ओलीको राजीनामा माग गर्ने मुद्धामा सहमत हँुदै मिलेर अगाडि बढेका हुन्,’ एमाले स्रोतको दाबी छ ।
तर ओलीले आफ्नो राजीनामा माग हुन थालेको संकेत पाएपछि पूर्वराष्ट्रपति एवं पूर्वएमाले उपाध्यक्ष विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय यसअघि गराएका थिए । आफैंले भण्डारीको सदस्यता नवीकरण रोकेका ओलीले संकट आउन थालेपछि पुनः आफैले उनको सदस्यता नवीकरणको निर्णय गराएका थिए ।
भण्डारीको सदस्यता नवीकरण गराउँदै ओली नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग पार्टी एकताका लागि समेत आफू निकट नेताहरुसँग आन्तरिक छलफलमा छन् । पार्टी एकता गराएर विष्णु, शंकरहरुलाई नेतृत्व गर्नबाट रोक्ने रणनीतिसहित अगाडि बढेका ओली केन्द्रीय कमिटीबाटै पार्टी एकताको निर्णय गराउने तयारीमा छन् ।
राजीनामा नदिने ओलीको अडान
सचिवालय बैठकमा अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने दबाब बढेपछि ओलीले केन्द्रीय कमिटीको बैठक फेस गर्ने भन्दै पन्छिन खोजेका छन् । उनले केन्द्रीय कमिटीबाट जे निर्णय हुन्छ कार्यान्वयन गर्ने भन्दै केन्द्रीय कमिटीका सदस्यहरुसँग समेत आफूले छलफल गर्नुपर्ने जनाएका छन् ।
‘मलाई हटाउने हो भने कुन विधिबाट कसरी हटाउने ? राष्ट्रिय महाधिवेशन गरेको ६ महिना पनि भएको छैन । फेरि राष्ट्रिय महाधिवेशन गर्ने कुरा त नहोला, विशेष महाधिवेशन गर्नुपर्ने होला । तीन महिनाअघि गरेको तहगत अधिवेशन के गर्ने ? मलाई हट्नुपर्छ भन्ने हो भने केन्द्रीय कमिटी बैठकमा जाऔँ । एक–एक केन्द्रीय सदस्यसँग म पनि कुरा गर्छु,’ बैठकमा ओलीको भनाई उद्धृत गर्दै एक सदस्यले भने ।
एमाले अध्यक्ष पदबाट ओलीले राजीनामा दिनुपर्ने सुझाव बहुसंख्यक नेताहरुले दिन थालेपछि उनले आफूलाई धेरै नसम्झाउन चेतावनीसमेत दिएका छन् । ‘किन सम्झाउँदै हुनुहुन्छ ? नसम्झाउनुस् मलाई । तपाईंहरूले सम्झाउनुपर्दैन । म नेतृत्व छाड्दिनँ,’ बैठकमा ओलीले भने ।
ओलीले कसैले सम्झाएर वा दबाब दिएर आफू नेतृत्व छाड्ने अवस्थामा नरहेको स्पष्ट पारेका छन् । उनले पार्टीलाई पुरानै अवस्थामा फर्काउन आफू सक्षम रहेको दाबीसमेत गरेका छन् ।
राजीनामा दिन शाक्यको सुझाव
एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले समेत ओलीलाई अध्यक्ष पदबाट राजीनामा दिन सुझाव दिएकी छन् । ११औं महाधिवेशनबाट स्वेच्छिक अवकाश लिएकी शाक्यले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ओलीको नेतृत्व शैलीप्रति असन्तुष्टि व्यक्त गरेकी हुन् ।
उनले दम्भ, घमण्ड र गुटगत सोचका कारण पार्टी कमजोर बनेको दाबी गर्दै यस्ता प्रवृत्तिले एमालेलाई असर पु¥याएको टिप्पणी गरेकी छन् । शाक्यले ओलीले लगातार तीन कार्यकालसम्म पार्टी नेतृत्व गरिसकेको उल्लेख गर्दै अब नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्नुपर्ने आवश्यकता औँल्याइन् । ‘सधैँ अध्यक्ष भइरहने सोच उचित होइन,’ भन्दै उनले यही बैठकबाट सम्मानपूर्वक पद छाड्न ओलीलाई सुझाव दिएकी छन् ।
पछिल्लो समय पार्टीभित्र पुस्तान्तरण, संगठन सुदृढीकरण र नेतृत्व शैली’bout विभिन्न नेताले फरक–फरक धारणा सार्वजनिक गर्दै आएका छन् । ११औं महाधिवेशनमा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका नेता ईश्वर पोखरेलले समेत ओलीले राजीनामा गरेर मार्गप्रशस्त गर्नुपर्ने सुझाव सामाजिक सञ्जालमार्फत दिएका छन् ।
सम्बन्धित समाचार
स्मार्ट टेलिकममा ‘स्मार्ट छलछाम’ : पूर्वसञ्चारमन्त्रीको यसरी देखिन्छ संरक्षण
प्रधानमन्त्रीको खोजीः दिनभर सदनमा साँझ सडकमा
रास्वपा महाधिवेशनः २ महिना अघि नै निर्विकल्प रवि
विद्याकै नेतृत्वमा कम्युनिष्ट पार्टीलाई एकीकृत गर्ने गृहकार्य सुरु
लामिछानेविरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरलाई फिर्ता गर्ने आदेश
पोखरामा काँग्रेस सभापति थापाइतरको भेला
काँग्रेस सभापति थापाद्वारा देउवा र कोइराला समूहका १९ नेतालाई केन्द्रीय सदस्य मनोनयन
‘डियर पीएम ! जरा सम्हालके’






