सर्लाही । सर्लाहीको कविलासी नगरपालिकामा नातीको स्याहारसुसार गर्न पुगेकी एक वृद्धालाई पनि कोरोना संक्रमण लागेको पुष्टि भएको छ । हरिपुर नगरपालिका वडा नं. ८ अगर्वा स्थित जन्ता मा .वि. क्वारेन्टाइनमा ७ वर्षीय नातीलाई स्याहारसुसार गर्न पुगेकी हजुरआमामा सोमबार साझ कोरोना संक्रमणको पुष्टि भएको थियो ।
कविलासी नगरपालिका वडा नंं १ पिपरीया निवासी ६२ वर्षीय वृद्धा क्वारेन्टाइनमा नाती एक्लै छ भनी केहिदिन पहिला नातीसँगै बसिरहेकी थिइन् । सोमबार ति वृद्धा महिलामा पनि कोरोना संक्रमण देखिएको नगर प्रमुख कौशल किशोर यादबले बताए ।
वडा नंंं १ मा सबैभन्दा बढी २७ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये एक ७ वर्षको बालक पनि रहेको छ । वडा नं. १ को पहिलो कोरोना संक्रमित व्यक्ति भारतको मुम्बईबाट घर फर्किरहेको समयमा कानपुरमा आई टेम्पु दुर्घटना भएको थियो । दुर्घटना पश्चात ७ वर्षीय छोरालाई अगरबा क्वारेन्टाइनमा राखी संक्रमित व्यक्ति र उनको श्रीमती र भाई सर्लाहीको सिमावर्ती क्षेत्रबाट नै उपचारको लागि काठमाडौं गएका थिए । ‘७ वर्षीय बालकको हेरचाहमा आएकी हजुर आमामा पनि कोरोना संक्रमण देखिएको रहेछ’, नगर प्रमुख यादबले जानकारी दिए । कोरोना संक्रमित बालक र वृद्धाको स्वास्थ्य अवस्था समान्य रहेको र चिकित्सकको सम्पर्कमा रहेको नगर प्रमुख यादवले जानकारी दिए ।
कविलासीमा सोमबार सबैभन्दा बढि वडा नं. १ मा २७ जना, वडा नं. २ मा १ जना, वडा नं. ४ मा ४ जना, वडा नं. ५ मा १ जना, र वडा नं. ७ बस्ने क्वारेन्टाईनकाका एक जना भान्से, त्यस्तै कविलासीकै क्वारेन्टाईनमा रहेका बसवरीया गाउँपालिका वडा नं. ४ का १ जना र गोडैता नगरपालिका वडा नंं. ५ का १ जना गरी जम्मा ३६ जनामा कारोना संक्रमण देखिएको थियो । संक्रमित अधिकांश व्यक्ति भारतको मुम्बई तथा केहि व्यक्तिहरु अनय सहरहरु बाट पनि आएको नगर प्रमुख यादबले बताए ।






