सातवटै प्रदेश सरकार फेरबदलको कसरत

काठमाडौं । संघीय संसदमा साना दलको हैसियतमा सीमित पुराना दलहरू केन्द्रको ‘खसखस’ मेटाउन प्रदेशमा झरेका छन् । केन्द्रीय सरकारमा सधैँ गठबन्धन गर्दै सत्ता फेरबदलको खेल गर्दै आएका यी दलहरू पछिल्लो निर्वाचनमा साना दलको हैसियतमा सीमित भएका छन् ।

संघको खसखस मेट्न प्रदेश झरे पुराना दल

२१ फागुनको निर्वाचनपश्चात् केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झन्डै दुईतिहाइ बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको छ । गठबन्धन गरेर केन्द्र सरकार बनाउने र गिराउने हैसियतसमेत गुमाएपछि साना दलको हैसियतमा सीमित पुराना दलहरू प्रदेश सरकारमा फेरबदलको खेललाई निरन्तरता दिएका छन् ।

नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी नेपाल (जसपा), जनमत पार्टीसहितका दलहरू अहिले प्रदेश सरकारमा सत्ता हेरफेरको खेलमा लागेका छन् । जसपा र जनमत पार्टी संघीय संसदमा शून्य भएको छ । कांग्रेस, एमाले, नेकपा विगतमा संघीय सरकारमा हालीमुहाली रहँदै आएको भए पनि पछिल्लो निर्वाचनबाट साना दलको हैसियतमा पुगेका छन् ।

गत शुक्रबार मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । जसपा र जनमत पार्टी सरकारबाट बाहिरिएपछि सरकारमा एमाले सहभागी भयो । मधेस सरकारमा कांग्रेसबाट यादव मुख्यमन्त्री छन् । कांग्रेस, एमाले, नेकपाले विश्वासको मत दिएका छन् । तर फेरि नेकपा सरकारबाट बाहिरिने चर्चा अहिले चलिरहेको छ ।

मुख्यमन्त्री यादवले विश्वासको मतका लागि राखेको प्रस्तावको पक्षमा ६२ र विपक्षमा ३८ मत परेको थियो । प्रदेशसभा बैठकमा एक सय सांसद उपस्थित रहेका थिए । मधेसमा जसपा, जनमत, राप्रपासहितका दलहरू विपक्षमा मत राखेका छन् ।

यसैगरी कोशी प्रदेशमा पनि सरकार परिवर्तनका लागि दलहरू आन्तरिक छलफलमा छन् । कांग्रेसका सभापति गगनकुमार थापाले कोशी प्रदेशमा केही दिनभित्रै सरकारको नेतृत्व परिवर्तन हुन सक्ने संकेत गरेका छन् । पार्टीको कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान राजनीतिक अवस्थाका कारण कोशीमा छिट्टै नयाँ सरकार गठन हुने बताएका हुन् ।

तर दलहरूबीच छलफल भए पनि हालसम्म सरकारको नेतृत्व परिवर्तनका विषयमा ठोस सहमति हुन बाँकी रहेको नेताहरू बताउँछन् । कांग्रेस र एमालेको नेतृत्वमा सरकार गठन भएकै बेला आधा–आधा कार्यकाल सरकार सञ्चालन गर्ने सहमति भएको थियो । पूर्वसहमतिअनुसार बजेट अघि नै कोशीमा सरकारको नेतृत्व परिवर्तन हुनुपर्नेमा कांग्रेस नेताहरूले जोड दिएका छन् । तर एमाले अहिलेकै सरकारको निरन्तरताको पक्षमा छ ।

कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता हिमाल कार्कीले कांग्रेसले बजेट आउनुअगाडि नै सरकारको नेतृत्व परिवर्तन गरेर नयाँ बजेट ल्याइनुपर्ने बताए । उनले सरकार परिवर्तनको विषय कोशी प्रदेशका नेताहरूको हातमा नभएका कारण केन्द्रीय नेतृत्वको निर्णयलाई पर्खिरहेको जनाए ।

एमाले कोशी प्रदेशका प्रमुख सचेतक रमेशकुमार बस्नेतले सरकारको नेतृत्व परिवर्तनका विषयमा छलफल भए पनि कुनै सहमति नभएको जनाएका छन् । कतिपय नेताहरूले कोशी प्रदेशमा पनि मधेस प्रदेश जस्तै कांग्रेस, एमाले, नेकपासहितका दलहरूको संयुक्त सरकार बनाउने कसरत पनि भइरहेको जनाएका छन् ।

यस्तै आलोपालो सहमतिअनुसार बागमती प्रदेशमा पनि सरकार हेरफेरको कसरत भइरहेको छ । बागमती प्रदेशमा कांग्रेसका इन्द्रबहादुर बानिया मुख्यमन्त्री छन् । उनको कार्यकाल ८ चैतसम्म थियो । बागमती सरकारको मुख्यमन्त्री परिवर्तनको ’boutमा कांग्रेस, एमाले, नेकपाका नेताहरू केन्द्रीय निर्णयको पर्खाइमा रहेका छन् । ८ साउन २०८१ मा भएको सहमतिअनुसार अहिले बागमतीमा एमालेको सरकार हुनुपर्ने हो । तर अन्य प्रदेशको समेत सरकार हेरफेरको कसरत भइरहेकाले नेताहरू केन्द्रीय नेताहरूको निर्णयको पर्खाइमा रहेका छन् ।

कोशी, बागमती जस्तै गण्डकीमा पनि सरकार हेरफेर हुँदैछ । कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार अहिले एमालेको सरकार हुनुपर्ने हो । तर गण्डकी प्रदेशमा पनि कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री छन् । अन्य प्रदेश जस्तै गण्डकीमा पनि सरकार परिवर्तन हुन्छ । तर नेकपासहितको सरकार बनाउने गृहकार्य भएकाले ढिलाइ भएको नेताहरू बताउँछन् ।

लुम्बिनीमा एमालेबाट चेतनारायण आचार्य मुख्यमन्त्री छन् । कांग्रेस र एमालेबीच भएको पूर्वसहमतिअनुसार लुम्बिनीमा कांग्रेसले सरकारको नेतृत्व गर्न केन्द्रीय नेताहरूको निर्णयको पर्खाइमा नेताहरू रहेका छन् ।

आलोपालो सहमतिअनुसार एमालेको समय पुगिसकेकाले कांग्रेसले लुम्बिनीमा सरकारको नेतृत्व गर्न खोजिरहेको छ । तर अन्य प्रदेश जस्तै लुम्बिनीमा पनि सरकार परिवर्तन केन्द्रीय नेताहरूको सहमतिमै हुने बताइन्छ ।

दुई साताअघि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित कांग्रेसको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा पार्टी सभापति गगनकुमार थापाले कर्णालीमा आफ्नो पार्टीले नेतृत्व गर्ने बेला आएको बताएका थिए ।

अहिले कर्णालीमा एमालेका यामलाल कँडेल मुख्यमन्त्री छन् । कांग्रेस सभापति थापाले भनेजस्तै पूर्वसहमतिअनुसार अब कर्णालीमा कांग्रेस नेतृत्वमा सरकार गठन हुनेछ ।

सुदूरपश्चिम प्रदेशमा कांग्रेस, एमाले, नेकपासहितको संयुक्त सरकार बनाउने गृहकार्य भइरहेको छ । सुदूरपश्चिम प्रदेशमा नेकपा सबैभन्दा ठूलो दल भएकाले नेकपाकै नेतृत्वमा सरकार बन्ने सम्भावना रहेको छ । केन्द्रीयस्तरमा हुने सहमतिअनुसार सुदूरपश्चिममा पनि तीन दलको संयुक्त सरकार गठन हुन्छ । सुदूरपश्चिम प्रदेशमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री छन् ।

सात प्रदेशमध्ये कोशी, लुम्बिनी र कर्णालीमा एमालेको नेतृत्वमा सरकार छ । मधेस, बागमती, गण्डकी र सुदूरपश्चिममा कांग्रेसको नेतृत्वमा सरकार छ । सातै प्रदेशमा कांग्रेस, एमाले, नेकपाको संयुक्त सरकार बनाउने गरी छलफल भइरहेकाले सुदूरपश्चिममा सरकारको नेतृत्व ठुलो दलको हैसियतले नेकपाले गर्न सक्छ । तीनै दलका शीर्ष नेताहरूबीच छलफल निरन्तर जारी रहेकाले भागबन्डाकै आधारमा सातै प्रदेशमा सरकार गठनको गृहकार्य भइरहेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 6 times, 1 visits today)

epaper

ताजा समाचार

भीमनारायण गोल्डकपः आयोजकसँग भारतको जर्जियन क्लब भिड्दै