६६ खर्बको अर्थतन्त्रमा प्रतिव्यक्ति आय १ हजार ५ सय १३ डलर

काठमाडौं । चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड रुपैयाँ पुग्ने, आर्थिक वृद्धिदर ३ दशमलव ८५ प्रतिशत रहने र प्रतिव्यक्ति आय १ हजार ५ सय १३ अमेरिकी डलर पुग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

२०३० सम्म एलडीसीबाट स्तरोन्नति नगर्न संयुक्त राष्ट्र संघलाई आग्रह

सरकारले संघीय संसद्मा पेस गरेको आर्थिक सर्वेक्षण २०८२-८३ ले नेपाली अर्थतन्त्रको आकार यतिको पुग्ने प्रक्षेपण गरेको हो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार संघीय संसदमा सो सर्वेक्षण पेस गर्दै नेपालको अर्थतन्त्र बिस्तारै लयमा फर्कन खोजे पनि आन्तरिक र बाह्य संरचनात्मक चुनौतीहरू अझै कायम रहेको उल्लेख गरे । यस वर्षको आर्थिक सर्वेक्षणमा विगतको परम्परालाई तोड्दै सर्वेक्षणको रङ नीलोबाट बदलेर ‘सुनौलो’ बनाइएको छ ।

प्रतिकूल विश्व आर्थिक परिवेश र बाह्य द्वन्द्वका बाबजुद नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ८५ प्रतिशत रहने आर्थिक सर्वेक्षणमार्फत प्रक्षेपण गरिएको छ । गत आर्थिक वर्षमा यस्तो वृद्धिदर ४ दशमलव ४३ प्रतिशत रहेको थियो । अर्थमन्त्री वाग्लेका अनुसार सन् २०२६ मा विश्व अर्थतन्त्र ३ दशमलव १ प्रतिशतमा सीमित हुने अनुमानका बीच नेपालको यो वृद्धिदर सन्तुलित मान्न सकिन्छ । यद्यपि, प्रदेशगत रूपमा हेर्दा बागमती र गण्डकी बाहेक अन्य सबै प्रदेशको वृद्धिदर राष्ट्रिय औसतभन्दा न्यून रहने देखिएको छ ।

चालू आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ५ सय ३५ अमेरिकी डलर र प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ५ सय १३ डलर पुग्ने अनुमान रहेको छ । प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय भने २ हजार ४४ अमेरिकी डलर पुग्ने देखिएको छ ।

प्रादेशिक तुलनामा प्रतिव्यक्ति आयमा ठूलो खाडल कायमै छ । बागमती प्रदेशको प्रतिव्यक्ति आय सबैभन्दा बढी २ हजार ६ सय ४४ अमेरिकी डलर पुग्दा मधेस प्रदेशको प्रतिव्यक्ति आय सबैभन्दा कम ९ सय ३४ अमेरिकी डलरमा सीमित हुने अनुमान छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा पनि बागमती प्रदेशको हिस्सा ३६ दशमलव ७ प्रतिशत रहेको छ भने कर्णाली प्रदेशको योगदान सबैभन्दा कम ४ दशमलव २ प्रतिशत मात्र छ ।

नेपालको अर्थतन्त्र अझै पनि अत्यधिक उपभोग केन्द्रित देखिएको छ । जीडीपीको ९० दशमलव ०३ प्रतिशत हिस्सा उपभोगमै खर्च हुने अनुमान गरिएको छ । पछिल्लो एक दशकको औसत हेर्दा यो हिस्सा ९० दशमलव ८ प्रतिशत रहँदै आएको छ । कुल उपभोगमा निजी क्षेत्रको वर्चस्व ९१ दशमलव २६ प्रतिशत छ भने सरकारी क्षेत्रको योगदान ६ दशमलव ६२ प्रतिशत मात्र छ ।

निजी क्षेत्रको उपभोग प्रवृत्तिमा भने केही सकारात्मक परिवर्तन देखिएको छ । पहिलेको तुलनामा खाद्यान्नमा हुने खर्च घट्दै गएको छ भने सेवा र गैरखाद्य वस्तुमा आकर्षण बढ्दो छ । चालू वर्ष निजी उपभोगमा खाद्य वस्तुको हिस्सा ४८ दशमलव ३० प्रतिशत र सेवा क्षेत्रको हिस्सा ३३ दशमलव २४ प्रतिशत रहने अनुमान छ ।

रेमिट्यान्स प्रवाहमा भएको वृद्धि र सूचना प्रविधिको निर्यातका कारण कुल राष्ट्रिय बचतमा भने सुधार आएको छ । गत वर्ष ९ प्रतिशत रहेको राष्ट्रिय बचत र लगानीको अनुपात यो वर्ष १२ दशमलव ८ प्रतिशत पुग्ने अनुमान छ ।

अर्थतन्त्रमा सेवा क्षेत्रको वर्चस्व र कृषिको संकुचन बढिरहेको तथ्यांकले देखाएको छ । हाल जीडीपीमा सेवा क्षेत्रको योगदान ६१ दशमलव ८१ प्रतिशत पुगेको छ भने कृषि क्षेत्रको योगदान घटेर २४ प्रतिशतमा खुम्चिएको छ । कृषि क्षेत्र यस वर्ष खडेरी र बेमौसमी वर्षाको मारमा परेको छ, जसका कारण यस क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर १ दशमलव ५८ प्रतिशतमा खुम्चिएको छ । यद्यपि, आलु उत्पादन ३७ लाख टन नाघ्ने अनुमान गरिएको छ, तर बिउमा अझै पनि चुनौती कायमै छ । निर्माण क्षेत्र लयमा फर्कन थालेको छ भने उत्पादनमूलक उद्योगको योगदान ५ दशमलव ७२ प्रतिशत रहने अनुमान छ ।

नेपालको औद्योगिक क्षेत्रमा लगानीको आकर्षण भने बढ्दो छ । २०८२ फागुनसम्म कुल ५४ खर्ब ४४ अर्ब रुपैयाँबराबरको लगानी स्वीकृत भएको छ, जसमध्ये पछिल्लो ११ वर्षमा मात्र ४० खर्ब ६५ अर्ब लगानी स्वीकृत भएको छ । वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) तर्फ चीनको वर्चस्व देखिएको छ । कुल स्वीकृत एफडीआईको ४८ प्रतिशत हिस्सा चीनको रहेको छ ।

दर्ता भएका कम्पनीहरूको संख्या ३ लाख ६९ हजार ६४६ पुगेको छ । सरकारले ‘स्टार्टअप उद्यम नीति’ मार्फत नयाँ उद्यमीलाई प्रोत्साहन गर्न खोजेको छ । उद्योग विभागमा ५० करोड रुपैयाँसम्मको वैदेशिक लगानी स्वचालित प्रणालीबाट स्वीकृत हुने व्यवस्थाले प्रक्रियागत झन्झट हटाएको छ ।

पूर्वाधार र सामाजिक सूचक पूर्वाधारको क्षेत्रमा नेपालले उल्लेख्य प्रगति गरेको छ । देशको झन्डै शतप्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको छ । सडक सञ्जाल १ लाख ४ हजार ९०६ किलोमिटर पुगेको छ । देशभर ६२ लाख ४९ हजार सवारीसाधन दर्ता भएका छन्, जसमा मोटरसाइकलको हिस्सा ५० लाखभन्दा बढी छ ।

सामाजिक क्षेत्रमा नेपालीको औसत आयु ७१ दशमलव ३ वर्ष पुगेको छ । निरपेक्ष गरिबी २० दशमलव २७ प्रतिशत र बहुआयामिक गरिबी १७ दशमलव ४ प्रतिशतमा झरेको छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेको संख्या ३६ लाख ४१ हजार पुगेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका अनुसार नेपाल अति कम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति हुन आवश्यक पर्ने प्रतिव्यक्ति आय, मानव सम्पत्ति र आर्थिक जोखिमका तीनवटै मापदण्ड पूरा गर्न सफल भएको छ । यद्यपि, दिगो स्तरोन्नतिका लागि सरकारले सन् २०२६ को समयसीमालाई सारेर नोभेम्बर २०३० पु¥याउन संयुक्त राष्ट्र संघलाई प्रस्ताव गरेको छ ।

पश्चिम एसियाको युद्ध, इन्धनको मूल्यवृद्धि र विश्व आपूर्ति शृंखलामा देखिएको अवरोधले मौद्रिक नीति सन्तुलनमा राख्न चुनौतीपूर्ण हुने उनको ठहर छ ।

सर्वेक्षणअनुसार पर्यटन क्षेत्रले सकारात्मक संकेत देखाएको छ । पर्यटकको औसत बसाइ १६ दशमलव ३४ दिन र प्रतिदिन औसत खर्च ३३ दशमलव ८ अमेरिकी डलर रहेको छ । झन्डै शतप्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको छ । देशभर १ लाख ४ हजार ९ सय ६ किलोमिटर सडक विस्तार भएको छ । सवारी साधन दर्ता पनि उल्लेख्य छ । देशभर ६२ लाख ४९ हजार सवारी साधन दर्ता भएका छन्, जसमध्ये मोटरसाइकल मात्र ५० लाख छन् ।

सामाजिक क्षेत्रमा भने केही सुधार देखिएको छ । निरपेक्ष गरिबी २० दशमलव २७ प्रतिशतमा झरेको छ भने बहुआयामिक गरिबी १७ दशमलव ४ प्रतिशतमा सीमित भएको छ ।

औसत आयु ७१ वर्षभन्दा माथि पुगेको छ, साक्षरता दर ७१ प्रतिशत नाघेको छ र सामाजिक सुरक्षा कार्यक्रमहरू विस्तार भएका छन् । तर, उत्पादनशील रोजगारी सिर्जनामा अपेक्षित सुधार आउन सकेको छैन ।

देशभर १० औद्योगिक क्षेत्रमा ७०० भन्दा बढी उद्योग भए पनि १६ वटा पूर्ण रूपमा बन्द छन् । सञ्चालनमा रहेका उद्योगहरू पनि सीमित क्षमतामा चलिरहेका छन् ।

सरकारले नीतिगत सुधार, डिजिटल प्रणाली र वैदेशिक लगानी सहज बनाउने प्रयास गरे पनि औद्योगिक उत्पादनको वास्तविक विस्तार कमजोर छ । धेरै उद्योग घाटामा छन् भने केही सरकारी उद्योग अझै पुनः सञ्चालनको तयारीमा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

६६ खर्बको अर्थतन्त्रमा प्रतिव्यक्ति आय १ हजार ५ सय १३ डलर