जनकपुरधाम । प्रदेश २ मा एकजना ट्राफिक प्रहरीसहित ४४ जना कोरोना संक्रमित आज थपिएका छन् । योसँगै प्रदेश २ मा कुल संक्रमितको संख्या ८ सय ५९ पुगेको छ । महोत्तरीमा ९, सर्लाहीमा १५, पर्सामा ७, रौतहटमा ११ र धनुषा तथा सप्तरीमा ११ जनामा कोरोना भाइरस संक्रमण भएको प्रदेश २ को समाजिक विकास मन्त्रालयले जनाएको छ ।
धनुषाका संक्रमित ३८ वर्षीय पुरुष सुरक्षाकर्मी हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषामा कार्यरत उनले प्रदेशसभा सचिवालयमा स्वाब संकलन गराएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिएका छन । प्रदेश २ मा बुधबार संक्रमित भएका ४४ जनामा ३ महिला हुन् ।
महोत्तरीका संक्रमित ९ जना मटिहानी क्वारेन्टाइनमा बसिरहेका थिए । रौतहटका ११ जना संक्रमित जनता मावि कठरियाको क्वारेन्टाइनका हुन् । सर्लाहीका थप १५ जना संक्रमित बैरिया, धबिनिया र हरकटवा क्वारेन्टाइनका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस्तै, पर्साका थप ७ जना संक्रमित बिन्दवासनी, कालीकमाज र सखुवापसौनी क्वारेन्टाइनको रहेका छन् ।
कालिकामाई गाउँपालिकाका ४ जना, सखुवाप्रसौनी गाउँपालिकाका २ जना र विन्दवासनी गाउँपालिकाका एक जना गरी सात जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले बताए । सातैजना भारतबाट फर्किएका थिए । भारतबाट आएका, कन्ट्याक्ट ट्रेसिङमा परेर स्वाब संकलन गरिएका, र अन्य शंकास्पद संक्रमितलाई क्वारेन्टिनमा राख्ने गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए ।
कालिकामाई गाउँपालिकाका स्वास्थ्य प्रमुख योगेन्द्र चौरसियाका अनुसार संक्रमित हुनेमा कालिकामाई २ भेडियारी निवासी ३० वर्षीय र ४५ वर्षीय पुरुष, वडा एक तीनडोबियाका एक ३० वर्षीय र एकजना वडा ५ विरन्चीबारवाका १६ वर्षीय युवक रहेका छन् । ‘८ दिन अगाडि भारतबाट फर्किएका उनीहरुलाई कालिकामाई गाउँपालिकाको हरिहरपुर विर्तामा रहेको क्वारेन्टाइनमा राखिएको थियो,’ उनले भने, ‘गत आइतबार २१ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो, जसमध्ये चारजनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी आएको छ ।’
सखुवाप्रसौनी गाउँपालिकाका स्वास्थ्य प्रमुख राजेश रौनियारले गत जेठ १४ मा भारतको लुधियाना र बनारसबाट फर्किएका दुई जनामा कोरोना संक्रमण भएको बताए । ‘सखुवाप्रसौनी गाउँपालिका–२ गुलरिया टोलका ४९ वर्षीय र जमुनियाका २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो,’ उनले भने, ‘गत सोमबार देउरवानाको क्वारेन्टाइनमा रहेका २४ जनाको स्वाब संकलन गरिएको थियो, जसमध्ये दुई जनामा पोजेटिभ आएको हो ।’
यसैगरी मंगलबार साँझ विन्दवासनी गाउँपालिकाको झौवास्थित क्वारेन्टाइनमा रहेका ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । वीरगञ्जस्थित पीसीआर ल्याबमा मंगलबार तीन सिफ्टमा १ सय ५७ जनाको स्वाब परीक्षण गरिएको थियो । पर्सामा हालसम्म ३ हजार ८ सय ६७ जनाको स्वाब कलेक्सन गरिएको छ । १४ वटा पालिकामा स्थापना गरिएका ३६ वटा क्वारेन्टाइन केन्द्रमा ८० जना महिलासहित ७ सय २३ जना शंकास्पद संक्रमितलाई राखिएको छ ।