धनकुटा । धनकुटामा जारी १८ औँ शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा बेलबारी फुटबल क्लब मोरङ फाइनलमा प्रवेश गरेको छ ।
धनकुटाको तल्लो टुँडिखेलमा शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा उपाधिको दाबेदार मानिएको बिर्तामोड युनाइटेड क्लब झापालाई ३–० गोल अन्तरले पराजित गर्दै बेलबारी उपाधि नजिक पुगेको हो । खेलमा बेलबारीका विदेशी खेलाडी सोलुमान किंग नायक बने । उनले प्रतियोगिता मै पहिलो ह्याट्रिक गरे । उनले खेलको २९ औं, पहिलो हाफको इन्जुरी र ७६ औं मिनेटमा गोल गरेका थिए ।
खेलमा बेलबारीका ह्याट्रिक कर्ता सोलुमान प्लेयर अफ द म्याच घोषित हुँदै नगद ६ हजार रुपैयाँ हात पारे । केही दर्शकको साथ पाए पनि बिर्तामोडले पटकपटक गोल गर्ने मौका गुमाउँदा पराजित हुन पुग्यो । उपाधिका लागि बेलबारीले पहिलो सेमिफाइनलको विजेता आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानसँग शनिबार प्रतिस्पर्धा गर्नेछ । आयोजक बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा सिराहाको सलहेश फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
दर्शकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रतियोगिताको विजेताले नगद ६ लाख र उपविजेताले ३ हजार रुपैयाँसहित ट्रफी मेडल, कप, प्रमाणपत्र हात पार्नेछन् । यस्तै हरेक खेलमा प्लेयर अफ द म्याच हुनेले नगद ६ हजार रुपैयाँ र प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी तथा विधागत तर्फ उत्कृष्ट हुनेलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
२०५५ सालमा स्थापित गोल्डकप २०६३ सालपछि नियमित हुँदै आएको छ । विराटनगरमा तत्कालीन राजा वीरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ परेका भीमनारायण श्रेष्ठलाई २०३५ सालमा तत्कालीन सरकारले गोलीहानी हत्या गरेको थियो । सरकारले श्रेष्ठलाई २०७४ सालमा शहीद घोषणा गरेको थियो ।
सम्बन्धित समाचार
लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
क्षितिज भण्डारी र कृतिसरा अधिकारी राष्ट्रिय चेस विजेता
अभिक शाह र दानिसा पुरी बने जुनियर चेस च्याम्पियन
राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुँदै
खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३: पाँच जनालाई नगदसहित सम्मान
चेस विशेष साधारणसभाले अविश्वासको प्रस्ताव अस्वीकृत
राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा एकपछि अर्को कीर्तिमान
यूएफसी छनोटमा फिलिपिन्सका प्रतिस्पर्धीलाई रवीन्द्र ढाँटले हराए






