साल्पा–सिलिचुङमा २५ सय मुन्दुमी बृक्ष रोपण

खोटाङ । किराँत समुदायको आस्था र मुन्दुमको उत्पत्ति केन्द्रका रूपमा मान्यता पाएको ऐतिहासिक ‘साल्पा–सिलिचुङ’ क्षेत्रमा मुन्दुमी बृक्षबिरुवा रोपण अभियान सुरु भएको छ ।

धुपी, लालीगुराँस, चिमाल, गोब्रेसल्ला, लोक्ता र पत्लिङ्गालगायत विभिन्न प्रजातिका दुई हजार पाँच सय बिरुवा रोपिएको साल्पा–सिलिचुङ सरोकार संरक्षण तथा प्रवद्र्धन केन्द्र अन्तर्राष्ट्रिय समितिकी कोषाध्यक्ष सँगीता नाछिरिङ राईले जानकारी दिइन् । कोषाध्यक्ष राईका अनुसार डढेलोका कारण साल्पा–सिलिचुङ ’roundका मुन्दुमी वनस्पतिहरू नास हुँदै गएका छन् ।

यसलाई संरक्षण तथा प्रवद्र्धन गर्न वृक्षरोपण गरिएको हो, जेठ १० गतेदेखि सुरु गरिएको उक्त अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ । समितिकी आर्थिक सह–संयोजक जलवती राईको नेतृत्वमा आयोजित वृक्षरोपण कार्यक्रममा स्थानीयवासीको समेत सक्रिय सहभागिता रहेको थियो । वृक्षरोपणमार्फत साल्पा पोखरीको मुहान संरक्षण गर्दै क्षेत्रलाई हरियाली र सुन्दर बनाउने लक्ष्य राखिएको आयोजकले जनाएका छन् ।

खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बुको संगमस्थलमा पर्ने यस मुन्दुमीस्थलको चौतर्फी विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी स्तरोन्नतिको काम सुरु गरिएको समितिले जनाएको छ । डिपिआर अनुसार परिसरमा सुम्निमा–पारुहाङ र मुन्दुमी पात्रहरूको मूर्ति, वाबु (चिण्डो) आकारको मुन्दुमी गेट, माङखिम तथा मुन्दुम संग्राहलय लगायतका भौतिक संरचनाहरू निर्माण गरिने छन् ।

समितिका अध्यक्ष राजेन खिम्बुले राई ‘मूलघरे कान्छा’ले साल्पा–सिलिचुङलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने उद्देश्य रहेको बताए । गत वर्ष पूर्वमन्त्री सुदन किरातीद्वारा अनावरण गरिएको सुम्निमा–पारुहाङ र नछुङको प्रतिमा देश तथा विदेशमा रहेका किरात एवं गैरकिरातीहरूको आर्थिक सहयोगबाट निर्माण गरिएको हो ।

‘सृष्टिको उत्पत्ति केन्द्र मुन्दुमको प्राण, साल्पा–सिलिचुङ संरक्षण हाम्रो अभियान’ भन्ने नाराका साथ सुरु गरिएको यस अभियानमा नेपालसहित बेलायत, हङकङ, कोरिया, अमेरिका, अस्ट्रेलिया, जापान र इजरायल लगायत विश्वभरका नेपालीहरू आबद्ध छन् । समुद्री सतहदेखि तीन हजार ६७२ मिटर उचाइमा कचौरा आकारमा फैलिएको साल्पा पोखरी र चार हजार १५५ मिटर उचाइमा रहेको सिलिचुङबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा लगायत हिमशृङ्खला प्रष्ट देख्न सकिन्छ । पहिलोपटक सगरमाथा आरोहण गर्ने एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले यही मार्ग प्रयोग गरेको बताइन्छ ।

साल्पा पोखरीमा हरेक वर्ष वैशाख, भदौ, कात्तिक र फागुनको पूर्णिमामा मेला लाग्ने गर्छ । बोली नफुट्नेहरू बोल्न सक्ने, सन्तान प्राप्ति हुने र धामी–झाँक्रीले मुन्दुमी शक्ति पाउने जनविश्वासका साथ खोटाङ, भोजपुर, सङ्खुवासभा, धनकुटा र सोलुखुम्बू लगायत विभिन्न जिल्लाबाट भक्तजनहरू यहाँ आउने गर्छन् । नेपाल सरकारले निर्धारण गरेको घुम्नै पर्ने १०० पर्यटकीय गन्तव्यभित्र पर्ने मुन्दुम पदमार्ग यही क्षेत्रसम्म विस्तार गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)

epaper

ताजा समाचार

बुबा महेश भट्टको रोमान्सवारे खुलिन अभिनेत्री पूजा