जटिल अवस्थामा रहेकी गर्भवतीसहित दुई जनाको हवाई उद्धार

काठमाडौं । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय महिला सशक्तीकरण परियोजनामार्फत ज्यान जोखिममा रहेका दुई जनाको सफल हवाई उद्धार गरी समयमै विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गरिएको छ ।

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–७ निवासी ३८ वर्षीया शारदा बस्नेत विगत तीन दिनदेखि जटिल प्रसूति समस्याका कारण प्रसूति हुन नसकी स्वास्थ्य अवस्था गम्भीर बनेपछि चिकित्सकीय सिफारिसमा तत्काल हवाई उद्धार गरिएको हो । उनलाई हवाई उद्धारमार्फत परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथली ल्याई विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार भइरहेको छ ।

त्यसैगरी, आत्महत्याको प्रयासपछि गम्भीर स्वास्थ्य अवस्था उत्पन्न भई सल्ले अस्पतालमा उपचाररत एक युवालाई थप उपचार तथा आवश्यक सघन उपचार सेवा उपलब्ध गराउन चिकित्सकीय सिफारिसबमोजिम हवाई उद्धार गरिएको छ । उनलाई थप उपचारका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल ल्याइएको छ ।

दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रमा ज्यान जोखिममा रहेका गर्भवती, सुत्केरी तथा गम्भीर स्वास्थ्य समस्या भएका नागरिकलाई समयमै विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने उद्देश्यले मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनामार्फत हवाई उद्धार सेवा सञ्चालन गर्दै आएको छ ।

आकस्मिक स्वास्थ्य अवस्थाका कारण तत्काल उपचार आवश्यक पर्ने नागरिकको जीवनरक्षा, सुरक्षित स्थानान्तरण र विशेषज्ञ स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न हवाई उद्धार सेवालाई प्रभावकारी रूपमा अघि बढाइएको मन्त्रालयले जनाएको छ । दुर्गम भूगोलका नागरिकलाई संकटका बेला राज्यको संरक्षण र स्वास्थ्य सेवासँग तत्काल जोड्ने उद्देश्यले सञ्चालन भइरहेको यो कार्यक्रमले आपत्कालीन अवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)

epaper

ताजा समाचार

भेरी नदीमा जिप खस्दा दुई जना बेपत्ता, दुई घाइते