गण्डकीको नीति तथा कार्यक्रम: रिटर्न टु भिलेज

पोखरा । गण्डकी प्रदेश सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकता राख्दै पर्यटन प्रवद्र्धनसम्बन्धी विभिन्न कार्यक्रम घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३–८४ का लागि मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश सरकारले पुराना कार्यक्रमलाई निरन्तरता दिँदै थप नयाँ कार्यक्रम घोषणा गरेको हो ।

गण्डकी प्रदेश सभामा प्रदेश प्रमुख डिल्लीराज भट्टले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गण्डकीमा ‘एक जिल्ला ः एक पर्यटकीय गन्तव्य’ विकासको नीति लिइने जनाए ।

उनले छिमेकी राष्ट्रहरु भारत र चीनबाट आउने पर्यटकको संख्या आगामी ५ वर्षभित्र दोब्बर बनाउने लक्ष्यका साथ नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रको साझेदारीमा ‘गण्डकी जाऔं : प्रकृति र संस्कृतिसँग रमाऔं’ अभियान संचालन गरिने जनाए । यसबाट गण्डकीमा उपलब्ध पर्यटकीय बस्तु र सेवाको अन्तर्राष्ट्रिय बजारमा व्यापक प्रचार हुने अपेक्षा छ ।

पोखरा ‘पर्यटकीय राजधानी’ घोषणा भएसँगै गण्डकीको प्रदेशको प्रर्यटनप्रति बढेको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय चासो र संवेदनशीलतालाई आत्मसात् गर्दै अन्तर–मन्त्रालय तथा निकायको समन्वयमा एकीकृत पर्यटन विकास अवधारणा कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । दोस्रो पञ्चवर्षीय योजना र पर्यटकीय राजधानी घोषणा अध्ययन प्रतिवेदनले पहिचान गरेका रणनीतिक तथा रुपान्तरणकारी कार्यक्रम प्राथमिकताका साथ कार्यान्वयनमा लगिने भएको छ । गण्डकी सरकारले नीति तथा कार्यक्रममा सधैँ झैं पर्यटन क्षेत्रलाई प्राथमिकता दिँदैआएकोमा यसपालि पनि प्राथमिकतामा राखेको छ । गत साताकै कुरा गर्ने हो भने ४ दिनसम्म सार्वजनिक बिदा हुँदा पोखरासहित गण्डकीका विभिन्न पर्यटकीय एवं धार्मिक गन्तव्यहरुमा पर्यटकहरुको निकै नै घुइँचो लागेको थियो । पोखराको लेकसाइडका होटलहरुमा कोठा पाउन समेत मुस्किल थियो ।

गण्डकीका दामोदर कुण्ड, मुक्तिनाथ, गलेश्वर, पञ्चकोट, देवघाट र त्रिवेणीधाम जस्ता महत्वपूर्ण धार्मिकस्थल जोड्ने गरी ‘धार्मिक पर्यटन परिपथ’ विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । ‘राउण्ड फेवा : भ्यू फेवा कार्यक्रम’ कार्यक्रमलाई निरन्तरता दिइएको छ । फेवा होराइजन पेडिस्टेरियन बृज (सेल्फी वृज) निर्माण गर्नुका साथै ‘सिसाको पुल’ को सम्भाव्यता अध्ययन प्रक्रिया अघि बढाइने भएको छ । साथै, ‘पहिला घरदेश : अनि परदेश’ र ‘लेक टु लेक’ कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।

प्रदेशमा स्काई डाइभिङ, हेली स्किइङ, बञ्जी जम्पिङ, उच्च उचाइ साइक्लिङ जस्ता साहसिक गतिविधिको प्रवद्र्धन गरी नयाँ स्थल पहिचान गरिने भएको छ । पोखरालाई अन्तर्राष्ट्रिय सभा–सम्भेलन, स्वास्थ्य तथा आरोग्य एवं खेल पर्यटन केन्द्रका रुपमा स्थापित गर्न हरित पूर्वाधार एवं वातावरणमैत्री यातायात प्रवद्र्धनमार्फत दिगो पर्यटन सुनिश्चित गरिने भएको छ ।

यहाँ घुम्न आउन पर्यटकको सुरक्षाका लागि पर्यटक प्रहरी परिचालनलाई थप सुदृढ बनाउने उल्लेख छ ।

गण्डकी सरकारले पर्यटनसँगै उद्योग, कृषि तथा जलविद्युत क्षेत्रलाई पनि प्राथमिकतामा राखेको छ । औषधीय र औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई आगामी आर्थिक वर्षदेखि वैधानिकता दिइने भएको छ । गाँजाखेती नियमन ऐन र प्रदेशमा उत्पादित घरेलु मदिराको ब्राण्डिङ, वितरण र नियमनलाई व्यवस्थित गर्ने सम्बन्धमा बनेको विधेयक, २०८२ प्रदेशसभाको चालु अधिवेशनबाटै स्वीकृत गरी कार्यान्वयनमा लगिने तयारी छ ।

सरकारले वैदेशिक रोजगारीबाट फर्किएका र स्वदेशमै स्वरोजगार बन्न चाहने युवालाई प्राविधिक सहयोग र सहुलियतपूर्ण कर्जामार्फत उत्पादनमूलक क्षेत्रमा आबद्ध गर्ने भएको छ । विपन्न महिलाको आर्थिक सबलीकरणका लागि ‘एक महिला ः एक सीप’ मा आधारित उद्योग र बजारीकरणलाई विशेष सहयोग गरिने लक्ष्य छ ।

‘प्रदेशको विकास : प्रदेश समुन्नतिको आधार’ भन्ने संकल्पका साथ लोकाहाखोला र पुँडिटार औद्योगिक क्षेत्र संचालनमा ल्याइने भएको छ । गोरखाको गोरखकाली रबर उद्योग र भृकुटी कागज कारखाना संचालनका लागि नेपाल सरकारसँग समन्वय गर्ने भएको छ । निजी क्षेत्रसँगको सहयर्कामा खानी तथा खनिज पदार्थको सम्भाव्यता अध्ययन गर्नुका साथै संचालित औद्योगिक क्षेत्र र औद्योगिकग्रामलाई पूर्ण क्षमतामा संचालन गरिने भएको छ ।

गाउँ फर्किन प्रोत्साहित गर्ने ‘रिटर्न टु भिलेज’
गण्डकी सरकारले युवालाई गाउँ फर्किन प्रोत्साहित गर्दै नयाँ कार्यक्रम ‘रिटर्न टु भिलेज’ संचालन गर्ने नीति लिएको छ । सो कार्यक्रमका लागि ‘कृषकलाई उद्यमी र कृषिलाई उद्योग’ का लागि विदेश तथा नेपालकै विभन्नि सहरबाट गाउँ फर्केर व्यावसायिक कृषि र कृषि उद्योग गर्न चाहने व्यक्तिलाई व्यवसाय कर्जामा व्याज अनुदान दिने भएको छ । यसैगरी, ‘सम्मानजनक कृषि ः प्रदेशको दृष्टि’ का लागि कृषिलाई सम्मानजक पेसाको रुपमा स्थापित गरी ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने भएको छ ।

‘गाउँको कृषि : प्रदेशको समुन्नति’का लागि स्थानीय उत्पादनको बजार पहुँच र न्यायोचित मूल्यका लागि ‘कृषि एप’ विकास गर्ने नीति छ । साथै, हाल संचालित कृषि एम्बुलेन्स सेवा प्रभावकारी कार्यान्वयनमा लगिने भएको छ ।

स्वास्थ्यतर्फ ‘एक स्वास्थ्य नीति र सबै नीतिमा स्वास्थ्य’ को अवधारणा कार्यान्वयनमा गरिने भएको छ । प्रदेशमातहतका अस्पताल तथा स्वास्थ्य संस्थामा विशेषज्ञ तथा विशिष्टीकृत स्वास्थ्य सेवाको बिस्तार एवं सुदृढीकरण गरिने भएको छ । आगामी आवमा पनि ‘आरोग्य पर्यटन’ कार्यान्वयन विकास गर्दै लगिने भएको छ ।

गुणस्तरीय शिक्षा हाम्रो संकल्प: सामुदायिक शैक्षिक संस्था उत्कृष्ट संकल्पका लागि शिक्षकको क्षमता विकास र शैक्षिक पूर्वाधार स्तरोन्तति गरिने सरकारको नीति छ । विद्यालय समायोजन गरी ठूला, अगुवा एवं आवासीय विद्यालय संचालनका लागि स्थानीय सरकारसँग सहकार्य गर्ने भएको छ । माध्यमिक शिक्षा परीक्षा सुदृढ गरिने जनाइएको छ । शिक्षक अभिलेख व्यवस्थापन, सिटरोल दर्ता तथा अवकासपछिका सेवासुविधा व्यवस्थित गरिने भएको छ । सरकार आगामी आवमा पनि ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै’ कार्यक्रमलार्इृ निरन्तरता दिने भएको छ ।

खेलकुदतर्फ ‘खेल्छ गण्डकी’ जुनियर खेलकुद कार्यक्रम तथा प्रदेश एवं राष्ट्रियस्तरका प्रतियोगितालाई थप व्यवस्थित गराउने भएको छ । विद्यालय तथा स्थानीय स्तरबाट खेल प्रतिभा पहिचान गरी उत्कृष्ट खेलाडीलाई प्रशिक्षण, बन्द प्रशिक्षण तथा छात्रवृत्ति उपलब्ध गराउने नीति तथा कार्यक्रममा उल्लेख छ । खेलाडीको डिजिटल प्रोफाइल तयार गर्न ‘गण्डकी गौरव’ अवधारणा ल्याएको छ । प्रदेश नमुना युवा संसद तथा युवामैत्री स्थानीय शासन कार्यक्रम संचालन गर्ने भएको छ । ‘खेल, कला र संस्कृति ः छाड्ने छैनौं दिगो जीवन पद्दति’ नारा अघि सारेको छ । ‘योग्यता अनुसारको काम र कामअनुसारको दाम’ कमाउन युवामा सकारात्मक सोच, नेतृत्व विकास, उद्यमशीलताको सीप तथा क्षमता विकास गर्दै अघि बढ्ने जनाइएको छ ।

भौतिक पूर्वाधारतर्फ सडक सञ्जाल सुधार अवाधारणा अनुसार राष्ट्रिय तथा प्रादेशिक सडक सञ्जालमा पर्ने महत्वपूर्ण सडक पुल प्राथमिकताका साथ निर्माण गर्ने भएको छ । बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि ‘सडक सुरक्षा परीक्षण’ गरी सचेतनामूलक कार्यक्रम चलाउने भएको छ । प्रदेशका ८५ पालिकामध्ये बाँकी रहेका गोरखाको चुमनुब्री र मनाङको नार्पाभूमि गाउँपालिकाका प्रशासनिक केन्द्रलाई यातायात पहुँचमा जोड्ने कार्यलाई प्राथमिकता दिनुका साथै स्थानीय तहका केन्द्र जोड्ने बाँकी सडक कालोपत्रे गर्दै जाने भएको छ । मुस्ताङबाट कर्णाली प्रदेशको डोल्प जोड्ने सडक स्तरोन्नति गर्ने लक्ष्य लिइएको छ ।

अन्तरजातीय विवाहलाई प्रोत्साहन
भदौको जेनजी आन्दोलनपछि निर्माण भएको गण्डकी प्रदेशको नीति तथा कार्यक्रमले युवाका कार्यक्रमलाई प्राथमिकता दिएको छ । यसैगरी, सरकारले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने घोषणासमेत गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्दै परिवार र समाजबाट अपहेलित बनेका जोडीहरूलाई आवश्यक सुरक्षा, सहयोग र पुनःस्थापनाको व्यवस्था गर्ने जनाएको हो ।

जनस्वास्थ्यलाई केन्द्रमा राखी ‘स्वच्छ पानी : स्वस्थ जीवन’ अभियानमार्फत बृहत् खानेपानी आोजनामा पानी शुद्धीकरण प्रणालीलाई विशेष प्राथमिकता दिँदै ‘एक घरः एक धारा’ कार्यक्रम सम्पन्न गर्ने भएको छ । हाल गण्डकी प्रदेशमा एक लाख ६६ हजारभन्दा बढी घरधुरीमा निजी धारा जडान भइसकेका छन् ।

‘नदी किनारका गह्रा : सधैँ हराभरा’ अभियान थालनी एवं एक जिल्ला: एक जलाशय सम्भाव्यता अध्ययन गरी कार्यान्वयनमा जाने भएको छ । जारी ‘उज्यालो गण्डकी’ अभियान पूर्णता दिइने गण्डकी सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

सार्वजनिक सेवा सरल, पारदर्शी र नागरिकमैत्री बनाई सुशासन प्रवद्र्धन गर्न ‘डिजिटल गण्डकी गुरुयोजना’ मार्फत डिजिटल प्रविधि केन्द्र तथा इ–गभर्नेन्सको आधार तयार गरिने भएको छ । सरकारी कामकाजका लागि एआईको प्रयोगमा जोड दिने भएको छ ।

सररकाले लैंगिक समानता तथा सामाजिक समावेशीकरण प्रवद्र्धनका लागि लक्षित वर्गको सशक्तीकरण गर्दै विभिन्न कार्यक्रम संचालन गर्ने नीति समेत लिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 22 times, 1 visits today)

epaper

ताजा समाचार

यी हुन् ४ हजारभन्दा बढी विद्यार्थी भएका सामुदायिक विद्यालय