काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिवि शिक्षण अस्पताललाई उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि करिब १ करोड ७० लाख १६ हजार ६७० रुपैयाँ बराबरका प्रविधि, साधन तथा उपकरण हस्तान्तरण गरेको छ ।
बिहीबार अस्पतालमा आयोजना गरिएको एक कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, अस्पतालका प्रमुख प्रा डा सुवास आचार्यलाई हस्तान्तरण गरेकी हुन् ।
महानगरले सार्वजनिक खरिद प्रक्रियामार्फत प्राप्त १६ वटा इन्टर्याक्टिभ किओस्क मेसिन, ६५ वटा अल–इन–वन डेस्कटप तथा सर्भर र र्याम क्षमता वृद्धि गर्ने उपकरण अस्पताललाई उपलब्ध गराएको हो ।
उक्त उपकरणहरू प्रयोगपछि सेवाग्राहीले शुल्क भुक्तानी, रिपोर्ट प्रिन्ट, घरबाटै पैसा डिपोजिट गर्ने जस्ता सेवा डिजिटल माध्यमबाट गर्न सकिने बताइएको छ । साथै, बिरामीसम्बन्धी सम्पूर्ण विवरण एकै स्थानबाट हेर्न सकिने व्यवस्था पनि मिलाइनेछ ।
उपकरण हस्तान्तरण कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुखले सुनिता डंगोलले सरकारी अस्पतालमा सेवा लिन जाँदा घण्टौँ लाइन बस्नुपर्ने अवस्था अन्त्य गर्न प्रविधिको उपयोग गरिएको बताइन् ।
‘सरकारी अस्पतालमा उपचार गराउन जाँदा लाइन बस्नुपर्ने, शुल्क तिर्न लामो समय लाग्ने समस्या अन्त्य गर्न हामीले सहयोग गरेका हौँ,’ उनले भनिन्, ‘बिरामी र आफन्तलाई थप सकस नहोस् भनेर प्रविधिमार्फत सेवा सहज बनाउन खोजिएको हो ।’
त्यस क्रममा अस्पतालका प्रमुख प्रा डा आचार्यले महानगरपालिकाबाट प्रदान गरिएको प्रविधि, जडान गरिएका साधन तथा उपकरणको प्रयोगका विषयमा प्रस्तुतिकरण गर्दै विरामीमैत्री सेवा व्यवस्थापनमा महानगरपालिकाबाट प्राप्त सहयोगले रुपान्तरण गर्न सम्भव भएको उल्लेख गरे ।
‘पहिलो चरणको सहयोगबाट महसुस गर्न सकिने सेवा दिन सकिएको छ,’ उनले भने ,’दोस्रो चरणमा पनि सहयोग हुने अपेक्षा गरेका छौँ । यसपछि अस्पतालबाट प्रदान गरिने क्यान्सर उपचारका अधिकांश सेवालाई पेपरलेस र फेसलेस बनाउन सकिन्छ ।’
महानगरले यस कदमले सरकारी अस्पतालको सेवा प्रवाह अझ चुस्त, पारदर्शी र प्रभावकारी हुने अपेक्षा गरेको छ।
सम्बन्धित समाचार
विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन
दुई दिने एकीकृत निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न
प्रसूति गृह र सामुदायिक भवन निर्माण
बेथानचोकमा ‘प्राकृतिक स्वास्थ्योपचार’ कार्यक्रम
निःशुल्क मुटु परीक्षण शिविरबाट एक हजाभन्दा बढी लाभान्वित
चैतन्य पाठशालाद्वारा स्टेशनरी र खाद्यान्न सहयोग
चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा






