सप्तरी । सप्तरीको पहिलो कोरोना संक्रमित युवा कोरोना संक्रमण मुक्त भएर बिहीबार अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना जितेर गजेन्द्र नारायण सिंह अस्पतालको आइसोलेशसनबाट डिस्चार्ज भएलगतै अस्पतालका स्वास्थ्यकर्मीहरुले फुलमाला लगाई स्वागत र बिदाई गरेका छन् ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ हटेल निवासी २० वर्षीय मो. नसिमलाई गत बैशाख २९ गते स्वाब परिक्षण गर्दै कोरोना पोजेटिभ देखिएपछि सोही दिन अस्पतालको आइसोलेशसनमा भर्ना गरिएको थियो । गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासका अनुसार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जेठ ११ र १७ गते गरी दुई पटक पिसिआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि बिहीबार उनलाई डिस्चार्ज गरिएको छ ।
कोरोना जितेर निको भई निकै प्रसन्न मुद्रामा आइसोलेशन कक्षबाट बाहिरिएका मो. नसिमले उपचारमा संलग्न चिकित्सकको सद्भाव र हौसला तथा आफ्नो आत्मबलका कारण ठूलो संकटबाट मुक्ति मिलेको सुनाए । ‘पहिलो दिन यहाँ आउदा नित्रै त्रसित थिएँ’, उनले भने, ‘तर भित्रको माहौल, चिकित्सकहरुको हौसला र बढ्दै गएको आफ्नो आत्मबलले कोरोनालाई हराउन सफल भएँ ।’
सप्तरीमा अब ५५ जना संक्रमित आइसोलेसनमा रहेका छन् । उनी सबैलाई साई कृष्ण अस्पतालमा तीन दिन अघि बनाइएको आइसोलेसन कक्षमा राखी उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।






