खोटेहाङ गाउँपालिकाद्वारा उत्कृष्ट कृषक, विद्यार्थी, शिक्षक र कर्मचारीलगायत २७ पुरस्कृत

गाउँपालिकाद्वारा पुरस्कृत कृषक, विद्यार्थी, शिक्षक तथा कर्मचारीहरु ।

खोटाङ । खोटेहाङ गाउँपालिकाले उत्कृष्ट चार कृषक, चार विद्यार्थी, चार शिक्षक, तीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष, चार विद्यालय, सात कर्मचारी र एक निर्माण उपभोक्ता समितिलाई नगदसहित पुरस्कृत गरेको छ ।

आइतबार पालिकाको सभाहलमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रम समापनको अवसरमा उत्कृष्ट विद्यार्थी, उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी, कृषक तथा संस्थालाई पुरस्कृत गरेको हो । अन्नबाली उत्पादनमा वडा नम्बर–७ खोटाङबजारका तुलसीराम चौलागाईँ, फलफूल खेतीमा वडा नम्बर–४ बडकादियालेका सुरेश अछामी, नगदेबालीमा वडा नम्बर–८ सिम्पानीका सुवाश खड्का र पशुपालनमा वडा नम्बर–१ लिकुवापोखरीका दुर्गाबहादुर खड्का पुरस्कृत भएका छन् ।

प्रत्येक पुरस्कृत कृषकलाई १५ हजार नगद र प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाका प्रवक्ता किरण राईले जानकारी दिए । कक्षा–५ मा उत्कृष्ट सिद्ध आधारभूत विद्यालयका सिम्रण गुरुङ, कक्षा–८ मा उत्कृष्ट भगवती दिनानाथ माध्यमिक विद्यालयकी सम्झना राई, एसईईमा उत्कृष्ट अङ्क ल्याउने सोही विद्यालयका अनिश फुयाँल र कक्षा–१२ मा उत्कृष्ट बनेका नवराज श्रेष्ठ पुरस्कृत भएका छन् ।

पुरस्कृत विद्यार्थी प्रत्येकलाई सात हजार नगद र प्रमाणपत्र प्रदा नगरिएको छ । माध्यमिक तहमा सिम्पानी माध्यमिक विद्यालयका कृष्णप्रसाद घिमिरे, निम्नमाध्यमिक तहमा देविस्थान आधारभूत विद्यालयका किरण राई, प्राथमिक तहमा महाकन्या आधारभूत विद्यालयका पेशलकुमार राई र बालविकास केन्द्रतर्फ भगवती दिनानाथ माध्यमिक विद्यालयकी पूजन अधिकारी पुरस्कृत भएका छन् । विद्यालय व्यवस्थापन समिति अध्यक्षतर्फ माध्यमिक तहमा दिपेन थुलुङ, निम्नमाध्यमिक तहमा इन्द्रहाङ राई र प्राथमिक तहमा श्रीकुमार राई पुरस्कृत भएका छन् ।

शिक्षक र समिति अध्यक्ष दुवैलाई जनही सात हजार नगद र प्रमाणपत्र दिइएको छ । उत्कृष्ट पठनपाठनका लागि सप्तकन्या माध्यमिक विद्यालय चिप्रिङ, सरस्वती आधारभूत विद्यालय लिकुवापोखरी, चौतारेडाँडा आधारभूत विद्यालय र बालबाटिका आधारभूत विद्यालय सावाकटहरे पुरस्कृत भई प्रत्येकलाई दश हजार प्रदान गरिएको छ ।

कर्मचारीतर्फ इन्जिनियर सञ्जय चौधरी, वडा सचिव मनिषा गिरी र जनस्वास्थ्य निरीक्षक नवराज राई, कार्यालय सहयोगीतर्फ नारायण श्रेष्ठ, रामचन्द्र राई र हाकिमराज मगर तथा विद्यालय लेखा कर्मचारीतर्फ जगतबहादुर कार्की पुरस्कृत भएका छन् । निर्माण उपभोक्ता समितिमध्ये मेर्ला गोरेटो बाटो निर्माण उपभोक्ता समिति इन्द्रेणीपोखरीलाई दश हजार र प्रमाणपत्र प्रदान गरिएको छ ।

गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’, उपप्रमुख रुपेशकुमार राई र प्रमुख प्रशासकीय अधिकृत महेश राईले पुरस्कृत सबैलाई नगद र प्रमाणपत्र प्रदान गरेका छन् । आफ्नो कामलाई संस्थागत मूल्याङ्कन हुँदा थप जिम्मेवार बन्न हौसला मिलेको पुरस्कृत व्यक्तिहरूले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 6 times, 1 visits today)

epaper

ताजा समाचार

वैदेशिक रोजगार व्यवसायी संघमा खत्री निर्वाचित