गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालयले प्रदान गर्ने विभिन्न पुरस्कारबाट ५ जना स्रष्टा पुरस्कृत भएका छन् । पुस्तकालयको पन्ध्रौँ वार्षिकोत्सव, साधारणसभा तथा सम्मान कार्यक्रममा उक्त पुरस्कार वितरण गरिएको हो ।
धनकुटा नगरपालिका–५ देवानटारमा रहेको पुस्तकालयले भाषा, साहित्य, कला संस्कृति तथा पत्रकारिताको क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई पुरस्कृत तथा सम्मानित गरेको पुस्तकालयका अध्यक्ष घनश्याम बरालले जानकारी दिए ।
यस क्रममा गर्गश्री सम्मानबाट सुनसरीका साहित्यकार कृष्णप्रसाद अधिकारी, धनमाया लामिछाने स्मृति पुरस्कारबाट विराटनगरकी लक्ष्मी पोख्रेल सुवेदी, धनञ्जय घिमिरे स्मृति सम्मानबाट धनकुटाका आनन्दसञ्तोषी राई, डिल्लीमाया बराल स्मृति एकल महिला समाजसेवा पुरस्कारबाट झापाकी राधादेवि घिमिरे, लक्ष्मीकान्त देवकन्या रुक्मिणी स्मृति पुरस्कारबाट धनकुटाका माधवप्रसाद दाहाललाई सम्मान गरिएको छ ।
सम्मानित तथा पुरस्कृतहरुलाई संस्थाका संस्थापक टिकाप्रसाद लामिछाने, कवि तथा साहित्यकार विवस पोख्रेल, जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ, पुस्तकालयका अध्यक्ष घनश्याम बराल लगायतले दोसल्ला, सम्मानपत्र तथा नगद प्रदान गगरेका थिए । उक्त अवसरमा सृजना वाचन कार्यक्रम समेत आयोजना गरिएको थियो । जसमा करिब एक दर्जन कविहरुले रचना वाचन गरेको पुस्तकालयका महासचिव मुकुन्द प्रयासले जानकारी दिए ।
२०६८ सालमा टिकाप्रसाद लामिछाने तथा पुण्यप्रभा लामिछानेले २ करोडको जायजेथा पुस्तकालयलाई दान गरेर पुस्तकालयको स्थापना गरेका थिए । हाल पुस्तकालयको ५ करोड बराबरको जायजेथा रहेको साधारणसभामा जानकारी दिइएको छ । पुस्तकालयमा नेपाली भाषाका १२ हजार ८ सय ८७, अंग्रेजी भाषाका पुस्तक ५ हजार ७ सय २२ र अन्य भाषाका पुस्तक ६ हजार ३ सय १५ गरि २४ हजार ९ सय २४ पुस्तकहरु रहेका छन् ।
यस्तै नेपाली पत्रिकाहरु ७ हजार २ सय ५५, अंग्रेजी पत्रिकाहरु ३ हजार १ सय ८८ र अन्य पत्रिकाहरु ३ हजार ३ सय २२ गरि १३ हजार ७ सय ६२ पत्रपत्रिका रहेको पुस्तकालयकी कोषाध्यक्ष सुमना तिम्सिनाले जनाकारी दिइन् ।











