ग्रीनसिटीमा ओलम्पिकस्तरको स्वीमिङ पुल असोजभित्र निर्माण सम्पन्न हुने

सुन्दरहरैंचा (मोरङ) । सुनसरीको इनरुवा नगरपालिका–७ स्थित ग्रिनसिटीमा करिब पौने दुई करोड रुपैयाँ लागतमा अन्तर्राष्ट्रिय मापदण्डको मिनी ओलम्पिक गर्न मिल्लने स्विमिङ पुल निर्माण हुने भएको छ। बुधबार आयोजित एक कार्यक्रमबीच स्विमिङ पुलको शिलान्यास गरिएको हो।

नेपाल स्विमिङ पुल सोलुसन कम्पनीले उक्त परियोजनाको निर्माण जिम्मेवारी लिएको छ। निर्माण कार्य आगामी असोज मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। स्विमिङ पुल निर्माणका लागि आवश्यक प्रक्रिया पूरा गरी ठेक्का सम्झौता समेत भइसकेको जनाइएको छ।

डीएन ग्रुप अफ कम्पनीका सञ्चालक नेत्रप्रसाद चम्लागाईं ले ग्रिनसिटीलाई आधुनिक, व्यवस्थित र सुविधासम्पन्न आवासीय तथा व्यावसायिक केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन योजनाअन्तर्गत स्विमिङ पुल निर्माण सुरु गरिएको बताए। उनले खेलकुद, स्वास्थ्य र मनोरञ्जनलाई प्राथमिकता दिँदै स्थानीयवासी तथा युवापुस्तालाई लक्षित गरेर अन्तर्राष्ट्रियस्तरको पूर्वाधार निर्माण गर्न लागिएको जानकारी दिए।

“ग्रिनसिटीलाई केवल आवासीय क्षेत्रका रूपमा मात्र नभई आधुनिक जीवनशैलीका सम्पूर्ण सुविधा उपलब्ध हुने एक नमुना सहरका रूपमा विकास गर्ने हाम्रो लक्ष्य हो,” चम्लागाईंले भने, “स्विमिङ पुल निर्माणले खेलकुद पर्यटन, स्वास्थ्य प्रवर्द्धन तथा युवाहरूको प्रतिभा विकासमा समेत महत्वपूर्ण योगदान पुर्‍याउनेछ।”

उनका अनुसार ग्रिनसिटीभित्र २१० फिट अग्लो नेपालको राष्ट्रिय झण्डा निर्माण भइसकेको छ भने धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पाथीभरा माताको मन्दिर निर्माणको काम समेत तीव्र गतिमा अगाडि बढिरहेको छ।

त्यसैगरी ग्रिनसिटी परियोजनाभित्र भविष्यमा विद्यालय, कलेज, अस्पताल, रिसोर्ट, सुपरमार्केट, रेस्टुरेन्ट तथा अन्य आवश्यक सेवा–सुविधा समेत निर्माण गरिने योजना रहेको छ। सहरलाई हरियाली र वातावरणमैत्री बनाउन विशाल पार्क निर्माण गरिनुका साथै प्रत्येक घरमा रुख रोप्ने अवधारणा कार्यान्वयन गरिने चम्लागाईंले बताए।

उनले स्वच्छ वातावरण, आधुनिक पूर्वाधार, खेलकुद तथा धार्मिक संरचनाको समिश्रणमार्फत ग्रिनसिटीलाई प्रदेशकै आकर्षक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गरे। स्विमिङ पुल निर्माण सुरु भएसँगै इनरुवा क्षेत्रमा आधुनिक खेलकुद पूर्वाधार थपिने अपेक्षा गरिएको छ भने यसले स्थानीयस्तरमा खेलकुद गतिविधि विस्तार तथा आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

epaper

ताजा समाचार

जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ