काठमाडौं । दैलेखको ठाटीकाँध गाउँपालिकामा महिनावारी विभेद तथा लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय कलाकारद्वारा सडक नाटक प्रदर्शन गरिएको छ ।
बहुउद्देश्यीय सामुदायिक विकास केन्द्र (एमसीडीएस) र सोसेक नेपालको आयोजना, ठाटीकाँध गाउँपालिका तथा ६ वटै वडाको समन्वय एवं साझेदारीमा असार १० र ११ गते पालिकाका विभिन्न स्थानमा सडक नाटक प्रदर्शन गरिएको हो ।
सडक नाटकमार्फत महिनावारीसँग जोडिएका विभेद, सामाजिक अन्धविश्वास, लैङ्गिक हिंसाका विभिन्न स्वरूप तथा यस्ता कुप्रथाविरुद्ध समाजमा सकारात्मक सोच र व्यवहार विकास गर्न सन्देश प्रवाह गरिएको सोसेक नेपालले जनाएको छ । कार्यक्रममा स्थानीय समुदाय, विद्यार्थी, शिक्षक, अभिभावक तथा जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
नाटकमा राष्ट्रिय कलाकार तथा लेखक–निर्देशक पल्पसा डंगोल (चम्सुरी), मञ्जु श्रेष्ठ (बिजुली), राजु श्रेष्ठ र लुजला डंगोलले अभिनय गरेका थिए भने क्यामेरा व्यवस्थापन विशाल केसीले गरेका थिए ।
सडक नाटक ठाटीकाँध गाउँपालिका–१ स्थित देवलगण आधारभूत विद्यालय, नुवावन, श्रीकृष्ण माध्यमिक विद्यालय लकान्द्र, वडा नं. ६ स्थित श्री मालिका माध्यमिक विद्यालय पाँचला, वडा नं. ३ स्थित श्री भवानी माध्यमिक विद्यालय बाहकोट तथा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय धामीगाउँ र बजार क्षेत्रमा प्रदर्शन गरिएको थियो ।
यस्ता सचेतनामूलक कार्यक्रमले महिनावारीलाई प्राकृतिक प्रक्रिया रूपमा स्वीकार गर्ने वातावरण निर्माण गर्नुका साथै लैङ्गिक हिंसा न्यूनीकरणमा समुदायको सक्रिय सहभागिता बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको सोसेकले जनाएको छ।











