चट्टानी घर्तीभीर फोरियो, खोटाङ–तराई बाटो छोटियो

विशाल चट्टानी घर्तीभीर फोरेर बनाईएको सडक खण्ड ।

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित चर्चित घर्तीभीर (महभीर) फोडेर सडक निर्माण सम्पन्न भएको छ । आहाले–रेग्मीटार सडक खण्ड अन्तर्गत साप्सु खोला किनारमा रहेको उक्त चट्टानी भीर वर्षौँदेखि सडक विस्तारको मुख्य अवरोध बनेको थियो ।

निर्माण कम्पनी कमल कन्स्ट्रक्सन एण्ड सप्लायर्स उदयपुरले झन्डै पाँच महिनाको समय खर्चेर चट्टान काटी सडक निकालेको हो । जोखिमपूर्ण भूगोलमा निरन्तर खनिंदै आएको उक्त चट्टानीभीर असार ११ गते अन्ततः छिचोलिएको थियो । भौतिक पूर्वाधार विकास कार्यालय खोटाङमार्फत १ करोड ७ लाख ७८ हजार रुपैयाँ लगानीमा सडक स्तरोन्नतीको ठेक्का सम्झौता २०८२ माघ ११ गते भएको थियो, जसको म्याद गत जेठ ३१ गते नै सकिएको थियो ।

काम पूरा भएसँगै असार १३ गते कोशी प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले आहाले–रेग्मीटार–सगरमाथा राजमार्ग जोड्ने सडकको उद्घाटन गरे । विगतमा पनि उक्त भीर काट्ने प्रयास भएको थियो, तर जोखिमका कारण कोही अघि बढेका थिएनन् । भीर काटिएसँगै दिक्तेलबाट उदयपुरको गाईघाट जाने बाटो उल्लेख्य रूपमा छोटिएको छ । यसअघि दिक्तेलबाट महुरे–बुईपा–राजापानी–रेग्मीटार–फोक्सिङटार हुँदै वा आहाले–राजापानी–रेग्मीटार हुँदै घुमेर गाईघाट जानु बाध्यता रहेको थियो ।

अब घर्तीभीर हुँदै सिधा र छोटो बाटो खुलेको छ । महभीरका नामले समेत चिनिने यो ठाउँमा पहिले चट्टान काटेर मुस्किलले हिड्ने साँघुरो गोरेटो मात्र रहेको थियो । सडक नबनेका बेला ढाकर–टेकुवा बोकेर पैदलयात्रा गर्ने व्यापारीहरू यही भीर पार गरेर तराई झर्ने गर्दथे । यसक्रममा धेरैले लडेर ज्यान गुमाएका र खच्चड समेत साप्सु खोलामा खसेर मरेका घटनाहरू स्थानीयबासी सुनाउँछन् ।

जोखिमपूर्ण भूगोलमा निर्भीक रूपमा एक्स्काभेटर सञ्चालन गरेर सडक निर्माणलाई सफल बनाउने सिन्धुलीका प्रकाश लामा र हेटौडाका प्रकाश पाख्रिनसहित निर्माण व्यवसायी अर्जुन बरालले भौतिक पूर्वाधार विकास कार्यालयबाट विशेष सम्मान पाएका छन् । कार्यालयका अनुसार अत्यन्त चुनौतीपूर्ण चट्टानी भिरमा उच्च जोखिम मोलेर सडक विस्तारमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेको हो ।

यसैक्रममा साहस र समर्पणको कदरस्वरूप दुई अपरेटरलाई नगद प्रोत्साहन पुरस्कार पनि प्रदान गरिएको छ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका संस्थापक अध्यक्ष तथा समाजसेवी नरेश कटुवाल (दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ घर, हाल काठमाडौं निवासी) ले १५ हजार रुपैयाँ र समाजसेवी डिल्लीराम कटुवालले ५ हजार रुपैयाँ सहयोग गरेका थिए ।

यसरी जम्मा भएको २० हजार रुपैयाँ पूर्व मन्त्री भूपेन्द्र राईले दुई अपरेटरलाई जनही १० हजार रुपैयाँका दरले हस्तान्तरण गरे । वर्षौँदेखि विकासको बाधक बनेको घर्तीभीर फोडिएर सडक सञ्चालन हुने भएपछि जिल्लाबासीलाई तराईसँग जोड्ने यातायातको क्षेत्रमा थप सहजता आउनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 69 times, 1 visits today)

epaper

ताजा समाचार

भेनेजुएला भूकम्प: मृत्यु हुनेको संख्या १ हजार ४ सय ३० पुग्यो