इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबाट लेदोसहित पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।
गएराति वर्षासँगै आएको लेदोसहितको पहिरो माथिबाट झरेपछि सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए । सधैँ जोखिमयुक्त रहेको सडकमा लेदोसहित पहिरो झर्ने र सवारी आवागमन बन्द हुने समस्या यसअघि पनि रहँदै आएको उनले बताए ।
सडक अवरुद्ध भएपछि साना सवारीसाधनका लागि एकतर्फी रूपमा आवतजावत गर्नसक्ने गरी पहिरो पन्छाउने प्रसाय भइरहेको ढकालले बताए । लगातार लेदो सडकमा झरिरहेकाले ठूला सवारीसाधनका सञ्चालनमा ल्याउन भने केही समय लाग्ने उनले उल्लेख गरे ।
‘गएरातिदेखि लेदोसहितको पहिरो झरेकाले सडक पूर्ण रूपमा अवरुद्ध छ । साना सवारीसाधन एकतर्फी रूपमा सञ्चालन गराउन आज बिहानैदेखि पहिरो पन्छाउने प्रयास गरिरहेका छौँ, केही समय लाग्नसक्छ,’ ढकालले भने ।
यस्तै मेची राममार्गको रोङ गाउँपालिका–४ स्थित इलाम–झापा सीमाक्षेत्रमा ढिस्को र दुईवटा रूख ढलेर सडक खवरुद्ध भएको प्रहरीले जनाएको छ । यो खण्डमा पनि सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक कुलदीप चन्दले बताए ।
सडकखण्ड अवरुद्ध भएपछि इलामसहित, पाँचथर, ताप्लेजुङ र झापाका नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । सडक अवरुद्ध भएपछि इलामसहित पाँचथर र ताप्लेजुङबाट झापा जाने र झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ जाने सवारीसाधन बीच बाटोमा रोकिँदा यात्रु अलपत्र परेका छन् ।
सम्बन्धित समाचार
इटहरीमा कोसी प्रदेशकै ठूलो सम्मेलन केन्द्र निर्माण हुने
कोशीको बजेट ४० अर्ब ४४ करोड
ताप्लेजुङमा अलैँची महोत्सव हुने
हेटौँडामा बक्यौता नतिर्ने उद्योगको विद्युत् आज पनि काटिने
मानव–वन्यजन्तु द्वन्द्व रोक्न वृक्षरोपण अभियान
झापा गाउँपालिकाः बीस वर्षपारि विवाह गर्ने किशोरीलाई प्रोत्साहन
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’






