साउदीमा ३३ नेपाली कैदीलाई आममाफी

काठमाडौं । साउदी अरेबिया सरकारले रमजान १४४७ हिजरी (२०२६) को अवसर पारेर ३३ जना नेपाली कैदीलाई आममाफी दिएको छ। परराष्ट्र मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमार्फत उक्त जानकारी सार्वजनिक गरेको हो।

नेपाल सरकारले यस कदमलाई नेपाल र साउदी अरेबियाबीच लामो समयदेखि कायम रहेको मित्रता, सद्भाव तथा सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धको महत्वपूर्ण उदाहरणका रूपमा लिएको छ। मन्त्रालयका अनुसार साउदी सरकारको यो मानवीय निर्णयले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

परराष्ट्र मन्त्रालयले जनाएको अनुसार रियादस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारले गरेको अनुरोधका आधारमा साउदी सरकारले ३३ नेपाली कैदीलाई आममाफी प्रदान गरेको हो। लामो समयदेखि विभिन्न मुद्दामा सजाय भोगिरहेका नेपाली नागरिकलाई माफी प्रदान गरिनु नेपालका लागि सकारात्मक र सुखद समाचार भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आममाफी पाएका नेपाली नागरिकहरू साउदी अरेबियाको प्रचलित कानुनअनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि क्रमशः नेपाल फर्कनेछन्। उनीहरूको स्वदेश फिर्ताका लागि आवश्यक समन्वय र सहजीकरणका कामहरू नेपाली दूतावासले गरिरहेको पनि मन्त्रालयले जनाएको छ।

विदेशमा विभिन्न कारणले कारागार जीवन बिताइरहेका नेपाली नागरिकको उद्धार, कानुनी सहायता तथा स्वदेश फिर्ताका लागि नेपाल सरकारले सम्बन्धित देशहरूसँग निरन्तर कूटनीतिक पहल गर्दै आएको छ। साउदी सरकारले दिएको यो आममाफी पनि त्यही पहलको सकारात्मक परिणामका रूपमा हेरिएको छ।

हाल साउदी अरेबियामा लाखौं नेपाली श्रमिक रोजगारीका सिलसिलामा कार्यरत छन्। नेपाली श्रमिकहरूको हकहित संरक्षण, कानुनी सहायता तथा समस्या समाधानका लागि नेपाल सरकार र रियादस्थित नेपाली दूतावासले विभिन्न पहलहरू सञ्चालन गर्दै आएका छन्।

परराष्ट्र मन्त्रालयले साउदी सरकारप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेको छ। मन्त्रालयले आममाफी पाएका नेपाली नागरिकहरू सुरक्षित रूपमा स्वदेश फर्कने प्रक्रिया छिट्टै पूरा हुने अपेक्षा समेत गरेको छ।

तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण बुधबार