अब अगाडि चल्ला त हालान्डको प्रहार र एमबाप्पेको गति ?

काठमाडौं । नर्वे, फ्रान्स र मेक्सिकोले आ–आफ्नो शैलीमा प्रभावशाली प्रदर्शन गर्दै प्रतियोगितामा आफ्नो दाबी अझ बलियो बनाएका छन् । नर्वेले धैर्य, संघर्ष र एर्लिङ हालान्डको निर्णायक क्षमतामा भर पर्दै आइभोरीकोस्टलाई पराजित ग-यो । फ्रान्सले आफ्नो विश्वस्तरीय प्रतिभा र सामूहिक खेलमार्फत स्वीडेनमाथि स्पष्ट प्रभुत्व जमायो ।

यता, मेक्सिकोले घरेलु मैदानको वातावरण, अनुशासित रणनीति र प्रभावकारी आक्रमणको बलमा इक्वेडोरलाई रोक्न सफल भयो । यी तीन खेल नतिजाका हिसाबले त महत्वपूर्ण थिए नै, विश्वकपमा सफल हुन आवश्यक पर्ने तीन फरक सूत्रको उदाहरणसमेत बने । ठूला क्षणमा स्टार खेलाडीको क्षमता, टोलीको सामूहिक सन्तुलन र दबाबको अवस्था नै सही निर्णय बन्यो ।

नर्वेको सपना जीवित
नर्वे र आइभोरीकोस्टबीचको खेल ‘नकआउट’ चरणको सबैभन्दा रोमाञ्चक भिडन्तमध्ये एक बन्यो । अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको खेलमा दुवै टोलीले सुरुदेखि नै जितको मानसिकतासहित मैदान प्रवेश गरेका थिए । मुख्य रेफ्री जिसस नोएल भालेन्जुएलाको नेतृत्वमा भएको खेलमा गति, शारीरिक प्रतिस्पर्धा र आक्रमणको निरन्तर प्रयास देखिएको थियो ।

नर्वेले सुरुवातदेखि नै आक्रामक खेल देखायो । युरोपेली टोलीले बल नियन्त्रणमा राख्दै आइभोरीकोस्टको रक्षापंक्तिमा दबाब सिर्जना गरिरहेको थियो । नर्वेको आक्रमणको केन्द्रमा रहेका खेलाडीले निरन्तर अवसर खोजिरहेका थिए । त्यसको परिणामस्वरूप एन्टोनियो नुसाले पहिलो हाफमै गोल गर्दै नर्वेलाई अग्रता दिलाए । तर, आइभोरीकोस्ट सजिलै हार मान्ने टोली थिएन । अफ्रिकी टोलीले आफ्नो शारीरिक क्षमता, तीव्र गति र आक्रमणको विविधतामार्फत खेलमा फर्किने प्रयास ग¥यो । दोस्रो हाफमा अमाद डियालोले गोल गर्दै खेल बराबरीमा ल्याएपछि मैदानको वातावरण झन् रोमाञ्चक बन्यो ।

बराबरीपछि दुवै टोलीले जितका लागि जोखिम उठाउन थाले । समय सकिँदै जाँदा खेल अतिरिक्त समयतर्फ जान सक्ने सम्भावना देखिएको थियो । यस्तै निर्णायक अवस्थामा ठूला खेलाडीको भूमिका देखिन्छ । एर्लिङ हालान्डले ८६औं मिनेटमा आफ्नो क्षमता प्रमाणित गर्दै निर्णायक गोल गरे । हालान्डको त्यो गोल ‘स्कोरलाइन’ परिवर्तन गर्ने घटनामात्रै बनेन, एउटा मानसिक जित पनि थियो । दबाबपूर्ण अवस्थामा अवसर पहिचान गर्ने, सही स्थानमा पुग्ने र अन्तिम प्रहार गोलमा बदल्ने उनको क्षमता फेरि देखियो ।

‘टोली प्रतिभाशाली खेलाडीमै होइन, निर्णायक क्षणमा सही प्रदर्शन गर्न सक्ने खेलाडीमा पनि निर्भर हुन्छ’ भन्ने सन्देश नर्वेको यो जितले दिएको छ । हालान्डजस्तो स्ट्राइकर हुनुको अर्थ यही हो कि खेल जुनसुकै अवस्थामा भए पनि अन्तिम आशा बाँकी रहन्छ । आइभोरीकोस्टले खेलभर उत्कृष्ट संघर्ष गरे पनि अन्तिम केही मिनेटमा रक्षात्मक कमजोरी नियन्त्रण गर्न सकेन । सानो गल्तीले पनि ठूलो मूल्य चुकाउनुपर्ने वास्तविकता यस खेलले देखायो ।

अब गल्ती गर्ने ठाउँ छैन
यी तीन खेलले विश्वकप २०२६ को ‘नकआउट’ चरणमा एउटा स्पष्ट सन्देश दिएका छन्—अब केवल नाम, इतिहास वा प्रतिष्ठाले खेल जितिँदैन । निर्णायक क्षणमा सही निर्णय गर्ने टोली नै अघि बढ्छ । नर्वेले संघर्ष र धैर्यले असम्भव देखिएको खेल पनि जित्न सकिन्छ भन्ने देखाएको छ । फ्रान्सबाट ‘विश्वस्तरीय प्रतिभा र टोलीको संरचना मिल्दा कुनै पनि विपक्षी कठिन बन्न सक्छ’ प्रस्ट भएको छ भने मेक्सिकोले घरेलु मैदानको ऊर्जा सही रणनीतिसँग जोडिँदा ठूलो शक्ति बन्न सक्ने उजागर गरेको छ ।

हालान्डको अन्तिम प्रहार, एमबाप्पेको जादु र मेक्सिकोको अनुशासित प्रदर्शनले विश्वकप यात्रा अझ रोमाञ्चक बनाएको छ । अब प्रतियोगिता त्यस्तो मोडमा पुगेको छ, जहाँ एउटा गल्तीले सपना समाप्त हुन सक्छ र एउटा उत्कृष्ट क्षणले खेलाडीलाई इतिहासमा अमर बनाउन सक्छ ।

घरेलु मैदानमा शक्ति
मेक्सिको र इक्वेडोरबीचको खेलले ‘घरेलु मैदानको प्रभाव कति महत्वपूर्ण हुन्छ ?’ भन्ने देखायो । मेक्सिको सिटीस्थित स्टेडियममा भएको खेलमा हजारौं समर्थकको समर्थन पाएको मेक्सिकोले सुरुवातदेखि नै आत्मविश्वाससाथ खेल्यो । मुख्य रेफ्री स्लाभ्को भिन्चिचको नेतृत्वमा भएको खेलमा मेक्सिकोले आक्रमण र रक्षाको राम्रो सन्तुलन देखायो ।

घरेलु समर्थकका आवाजले खेलाडीलाई थप ऊर्जा दिएको थियो । २२औं मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाए । यो गोलपछि मेक्सिको अझ आत्मविश्वासी बन्यो । टोलीले इक्वेडोरमाथि लगातार दबाब कायम राख्यो । ३१औं मिनेटमा राउल जिमेनेजले अर्को गोल थपेपछि मेक्सिको बलियो स्थितिमा पुग्यो ।

दुई गोलको अग्रतापछि मेक्सिकोले जोखिम कम गर्दै खेल नियन्त्रणमा राख्ने रणनीति अपनायो । इक्वेडोरले दोस्रो हाफमा खेल परिवर्तन गर्ने प्रयास ग¥यो । मोइसिस काइसेडो नेतृत्वको टोलीले आक्रमण बढाए पनि मेक्सिकोको रक्षापंक्ति मजबुत रह्यो । बरु, खेलको अन्तिम समयमा इक्वेडोर अनुशासन समस्यामा फस्यो ।

एलान फ्रान्को, केन्ड्री पाएको र मोइसिस काइसेडोले पहेँलो कार्ड पाए भने पिएरो हिन्कापीले रातो कार्ड पाएर मैदान छाड्नुप¥यो । रातो कार्डपछि इक्वेडोरको पुनरागमनको सम्भावना झन् कमजोर बन्यो । मेक्सिकोले बाँकी समय सहज रूपमा नियन्त्रण गर्दै महत्वपूर्ण जित सुरक्षित ग¥यो ।

फ्रान्सको शक्ति प्रदर्शन
फ्रा न्सले विश्व फुटबलमा आफ्नो बलियो उपस्थिति फेरि एकपटक प्रमाणित गर्दै स्वीडेनमाथि प्रभावशाली जित दर्ता गरेको छ । अमेरिकाको न्यु जर्सीस्थित स्टेडियममा सम्पन्न खेलमा फ्रान्सले सुरुवातदेखि अन्त्यसम्म आफ्नो नियन्त्रण कायम राख्दै उत्कृष्ट टोली प्रदर्शन प्रस्तुत ग¥यो । मुख्य रेफ्री ड्यानी माक्केलीको निगरानीमा भएको खेलमा फ्रान्सले आक्रमण, नियन्त्रण र रणनीतिक अनुशासनको उत्कृष्ट संयोजन देखाउँदै स्वीडेनलाई दबाबमा राख्यो ।

खेल सुरुवातदेखि नै फ्रान्सले आक्रामक रणनीति अपनाएको थियो । बल नियन्त्रणमा आफ्नो प्रभुत्व कायम राख्दै फ्रान्सले स्वीडेनको रक्षापंक्तिमाथि निरन्तर दबाब उत्पन्न दियो । मिडफिल्डमा उत्कृष्ट समन्वय, छिटो पासिङ र विंगबाट सिर्जना गरिएका अवसरले फ्रान्सलाई खेलमा स्पष्टरूपमा अगाडि राख्यो ।

विश्व फुटबलका सबैभन्दा प्रभावशाली खेलाडीमध्ये एक किलियन एमबाप्पे फेरि एकपटक फ्रान्सको मुख्य हतियार बने । उनको तीव्र गति, उत्कृष्ट बल नियन्त्रण र निर्णायक क्षमताले स्वीडेनको रक्षापंक्तिलाई लगातार चुनौती दिइरह्यो । एमबाप्पेको उपस्थितिले फ्रान्सको आक्रमण थप धारिलो बनाएको थियो भने उनका प्रत्येक चालमा विपक्षी टोली सतर्क रहन बाध्य भयो ।

पहिलो हाफ अन्त्यतिर फ्रान्सले आफ्नो दबाब गोलमा परिणत ग¥यो । एमबाप्पेले उत्कृष्ट फिनिसिङ गर्दै गोल गरेपछि फ्रान्सले अग्रता लिन सफल भयो । सो गोलले टोलीको आत्मविश्वास बढायो भने स्वीडेनमाथि थप दबाब बढ्यो । पहिलो हाफसम्म नै फ्रान्सले खेलको गति र दिशा आफ्नो नियन्त्रणमा राखिसकेको थियो ।

दोस्रो हाफमा पनि फ्रान्सले आक्रमणको तीव्रता घटाएन । खेलको ५३औं मिनेटमा ब्राड्ली बार्को लाले गोल थप्दै फ्रान्सको अग्रता फराकिलो बनाए । बार्कोलाको गोलपछि फ्रान्स अझ सहज अवस्थामा पुग्यो भने स्वीडेनलाई खेलमा फर्किन थप कठिन भयो ।

स्वीडेनले खेलमा फर्किने प्रयास गर्दै केही आक्रमण गरे पनि फ्रान्सको व्यवस्थित रक्षापंक्ति र बलियो मिडफिल्ड पार गर्न सकेन । फ्रान्सले व्यक्तिगत प्रतिभामात्र होइन, टोलीगत रणनीति र सामूहिक प्रदर्शनका आधारमा पनि आफ्नो श्रेष्ठता देखायो । खेलाडीबीचको तालमेल र मैदानमा देखिएको अनुशासन फ्रान्सको जितको प्रमुख आधार बन्यो ।

खेलको ७४औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो सानदार प्रदर्शनलाई पूर्णता दिए । दुई गोलसँगै उनले ठूला प्रतियोगितामा ‘आफू किन निर्णायक खेलाडीका रूपमा परिचित छन्’ भन्ने फेरि प्रमाणित गरे । दबाबपूर्ण अवस्थामा सही निर्णय लिन सक्ने क्षमता र गोल गर्ने निरन्तर क्षमताले उनलाई फ्रान्सको सबैभन्दा ठूलो शक्ति बनाएको छ ।

फ्रान्सको जित गोलको अन्तरमै सीमित रहेन, टोलीले खेलका सबै पक्षमा आफ्नो प्रभाव देखायो । पासिङ सटीक थियो, आक्रमण योजनाबद्ध थियो र खेल नियन्त्रण गर्ने क्षमता उत्कृष्ट थियो । स्वीडेनले रक्षात्मक योजना बनाए पनि फ्रान्सको तीव्र र बहुआयामिक आक्रमण रोक्न सकेन ।

यस जितसँगै फ्रान्सले प्रतियोगितामा आफ्नो उपाधि दाबेदारीलाई अझ बलियो बनाएको छ । अनुभवी खेलाडी, युवा प्रतिभा र विश्वस्तरीय स्टार खेलाडीको सन्तुलित संयोजनले फ्रान्सलाई बलियो टोली बनाएको छ । एमबाप्पेको उत्कृष्ट फर्मले टोलीको आत्मविश्वास थप बढाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 149 times, 1 visits today)

epaper

ताजा समाचार

अर्कैसित प्रेममा थिएँ, घाँटी रेटेर श्रीमतीको हत्या गरेँ : नेपाली ब्रो (बयानसहित)