अन्ततः बग्दादकै माटोमा विलिन भइन् सञ्चमाई

काठमाडौं । राम्रो भविष्यको सपना बोकेर वैदेशिक रोजगारीका लागि इराक पुगेका सिन्धुपाल्चोकको तत्कालीन गोल्चे गाविस–६ (हाल जुगल गाउँपालिका–२) निवासी सञ्चमाई लोप्चन अब कहिल्यै आफ्नो जन्मभूमि फर्किन सकेनन्। सन् २०२४ को अक्टोबरमा बग्दादमा उनी झुन्डिएको अवस्थामा मृत फेला परे। त्यसपछि सुरु भएको पीडा, अन्योल र कानुनी प्रक्रियाको लामो यात्रा अन्ततः उनको शव बग्दादमै अन्त्येष्टि भएपछि टुंगिएको छ।

मृत्युको खबरले परिवारलाई शोकमा डुबायो। त्यसपछि उनको शव नेपाल ल्याएर आफ्नै गाउँको माटोमा अन्तिम संस्कार गर्ने आशा परिवार, आफन्त र शुभेच्छुकले गरेका थिए। नेपाली राजदूतावास कुवेत, रोजगारदाता कम्पनी तथा इराकस्थित नेपाली समुदायले शव स्वदेश ल्याउन विभिन्न प्रयास पनि गरे। बग्दादमा सञ्चालन गरिएको राहदानी घुम्ती सेवाका क्रममा समेत कम्पनीसँग छलफल गर्दै शव नेपाल पठाउन र घटनाको वास्तविकता पत्ता लगाउन निरन्तर पहल गरिएको थियो।

शव नेपाल ल्याउन आवश्यक अधिकांश प्रक्रिया पूरा भइसकेपछि भने परिस्थितिले अर्कै मोड लियो। मृतकका बुबा, वैदेशिक रोजगार एजेन्ट र कम्पनीबीच भएको सहमतिअनुसार शव नेपाल नल्याई इराकमै अन्त्येष्टि गर्ने निर्णय गरियो। सहमतिअनुसार राहतस्वरूप करिब आठ लाख रुपैयाँ बुझ्ने र यस विषयमा थप कानुनी दाबी नगर्ने समझदारी बनेको बताइएको छ।

२०२५ जुलाई २८ मा सम्बन्धित वडा कार्यालयबाट इराकमै अन्त्येष्टिका लागि आवश्यक सिफारिस कन्सुलर विभागमा पठाइए पनि प्रक्रिया त्यत्तिकै रोकियो। दिन बित्दै गए, महिना बिते, तर सञ्चमाईको पार्थिव शरीर अझै बग्दादमै रहिरह्यो। परिवारको घाउ झन् गहिरिँदै गयो, विदेशमा रहेका नेपालीहरू पनि यो घटनालाई लिएर चिन्तित बने।

इराकस्थित नेपाली समुदायले भने हार मानेन। विशेषगरी त्यहाँ रहेका नेपालीहरूले बारम्बार सम्बन्धित निकायसँग समन्वय र पहल गरिरहे। अन्ततः २०२६ जुन ८ मा नेपाली राजदूतावासबाट आवश्यक कूटनीतिक पत्राचार भएपछि कानुनी प्रक्रिया पूरा गरी सञ्चमाई लोप्चनको पार्थिव शरीरको बग्दादमै अन्त्येष्टि गरिएको हो।

गैरआवासीय नेपाली संघ (एनआरएनए) इराकका अध्यक्ष विनोद श्रेष्ठका अनुसार सञ्चमाई लोप्चनको घटना एउटा व्यक्तिको मात्र दुःखद कथा होइन। विदेशमा रोजगारीका क्रममा मृत्यु भएका धेरै नेपालीका शव विभिन्न कानुनी, प्रशासनिक तथा पारिवारिक कारणले महिनौँदेखि वर्षौँसम्म अलपत्र पर्ने गरेका छन्। उनी भन्छन्, “सञ्चमाई त एउटा प्रतिनिधि पात्र मात्र हुन्। यस्ता धेरै नेपालीको पीडा हामीले नजिकबाट देखिरहेका छौं।”

विदेशमा पसिना बगाएर परिवारको भविष्य बनाउन गएका कैयौँ नेपाली अन्ततः आफ्नै घरको आँगनमा अन्तिम बिदाइ पाउनसमेत वञ्चित हुने गरेका छन्। कसैका आमाबुबा छोरा पर्खिरहन्छन्, कसैका सन्तान बाबुको अनुहार हेर्न नपाउँदै टुहुरा बन्छन्, त कसैकी श्रीमतीले वर्षौँसम्म श्रीमानको शव कुरेर दिन बिताउनुपर्छ। सञ्चमाईको कथा त्यही हजारौँ मौन पीडामध्ये एउटा प्रतिनिधि कथा बनेको छ।

सञ्चमाईको अन्त्येष्टिसँग एउटा कानुनी प्रक्रिया टुंगिएको हुन सक्छ, तर वैदेशिक रोजगारीमा ज्यान गुमाउने नेपाली श्रमिकका परिवारले भोग्ने पीडा, शव व्यवस्थापनमा हुने ढिलाइ र राज्यको दायित्व’bout उठेका प्रश्न भने अझै टुंगिएका छैनन्।

तपाइको प्रतिक्रिया
(Visited 284 times, 1 visits today)

epaper

ताजा समाचार

संयुक्त राष्ट्रसंघले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने