सप्तरी, राजविराज । उपचारका लागि एक अस्पतालबाट अर्को अस्पताल ल्याउँदा ल्याउँदै बाटोमै मृत्यु भएकी एक महिलाको शव प्रहरीले आइतबार पोष्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ ।
सप्तरीको खडक नगरपालिका ३ कल्याणपुरकी २४ वर्षिया नबिला खातुनको शव प्रहरीले पोष्टमार्टम र अनुसन्धानका लागि भन्दै धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको हो ।
मृतकका पति नवाज सरिफ हाल बैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा छन् । शनिबार मध्यरात अचानक बिरामी परेको भन्दै सासु रमिला खातुन र परिवारका अन्य सदस्यले नबिलालाई युनिक अस्पताल पु¥याएको परिवारजनको भनाई छ । युनिक अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल पु¥याइएको थियो । जहा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
नबिलाको माइती सप्तरीकै छिन्नमस्ता गाउँपालिकामा पर्छ । माइती पक्षले भने नबिलाको घाँटी थिचि सासु र परिवारका अन्य सदस्यको मिलोमतोमा हत्या गरिएको दाबी गरिएको छ । यो कुनै बिमारीले होइन, मृतकका बुबा मो. तैयबले भने, “यस अघि पनि छोरीलाई सासुले कुटपिट गर्ने गरेको खबर आइरहन्थ्यो पछिल्लो पटक घाँटी थिचेर हत्या नै गरे ।” उनले घटनाको निश्पक्ष छानबिन गरि दोषिमाथी कडा कारवाही हुनुपर्ने माँग समेत गरेका छन् ।
डिएसपी तिलक भारतीले अस्पतालबाट महिलाको शव पोष्टमार्टमका लागि धरान पठाई घटना ’bout आवश्यक अनुसन्धान सुरु गरिएको बताएका छन् ।






