जुन फ्रेममा भविष्य र वर्तमान एकसाथ कैद हुँदै थिए

काठमाडौं । सन् २००७ । एउटा सामान्य फोटोसुट । त्यतिबेलाका २० वर्षीय लियोनल मेस्सी बार्सिलोनाको पहिलो टोलीमा स्थापित हुँदै गर्दा विश्व फुटबलले उनको प्रतिभा चिन्न थालिसकेको थियो । क्लब बार्सिलोना युनिसेफसँगको सहकार्यमा सामाजिक उद्देश्यका लागि क्यालेन्डर तयार गर्दै थियो । त्यसकै लागि केही बालबालिकासँग खेलाडीको तस्बिर खिच्ने कार्यक्रम राखियो ।

फोटो सुटक्रममा मेस्सीलाई ‘केही महिनाको एउटा शिशुसँग तस्बिर खिच्न’ भनियो । नीलो प्लास्टिकको सानो बाथटबमा बसेको त्यो बालकलाई मेस्सीले समातिरहेका, मुस्कुराइरहेका र नुहाउन सहयोग गरिरहेका दृश्य क्यामेरामा कैद भए । काम सकियो, तस्बिर संग्रहमा राखिए र सबै आ–आफ्नो बाटो लागे । त्यो जो कसैको अनुमानबाहिर हुनु स्वभाविकै थियो, ‘त्यही शिशु भविष्यमा विश्व फुटबलकै सबैभन्दा चर्चित युवा खेलाडीमध्ये एक बन्ने छ ।’ जो आज लामिन यामालले नामबाट प्रसिद्ध छ ।

त्यही फोटोसुटपछि सुरु भयो– मेस्सीको स्वर्णिम यात्रा । अर्जेन्टिनाका सानो कदका बायाँखुट्टे खेलाडीले बार्सिलोनाबाट विश्व फुटबलमा यस्तो प्रभाव छोडे, जसलाई आधुनिक खेलको परिभाषामै समेट्न गाह्रो हुन्छ । उनले घरेलु लिग, च्याम्पियन्स लिग, व्यक्तिगत अवार्ड र असंख्य कीर्तिमान जित्दै आफ्नो नाम इतिहासमा स्थापित गरे ।

वर्षौंसम्म फुटबलको केन्द्रमा रहँदा पनि मेस्सीको खेलप्रतिको समर्पण, नम्रता र निरन्तरताले उनलाई समर्थकको अझ नजिक बनायो । सन् २०२२ मा विश्वकप उपाधिसमेत जितेर उनले आफ्नो ‘करियर’लाई पूर्णताको अर्को उचाइमा पु¥याए । मेस्सीको यात्रा उपलब्धिको सूचीस“गै धैर्य, अनुशासन र निरन्तरताको उदाहरण पनि हो ।

उता, स्पेनमा हुर्किरहेका लामिन यामाल पनि फुटबलसँगै हुर्कंदै थिए । बाल्यकालदेखि नै उनको खेलले प्रशिक्षकको ध्यान तान्यो । बार्सिलोनाको प्रसिद्ध ला मासिया एकेडेमीमा पुगेपछि उनको प्रतिभा अझ निखारियो । कम उमेरमै उनले असाधारण आत्मविश्वास, तीव्र गति, सटिक ड्रिब्लिङ र खेल बुझ्ने क्षमता प्रदर्शन गर्न थाले ।

युवा टोली हुँदै पहिलो टोलीसम्मको यात्रा उनले अपेक्षाभन्दा छिटो तय गरे । मैदानमा उनको सहजता देखेर धेरैले उनलाई स्पेन र बार्सिलोनाको भविष्यका रूपमा हेर्न थाले । फुटबल इतिहासमा धेरै प्रतिभाशाली किशोर खेलाडी आएका छन्, तर केही खेलाडीमा सुरुदेखि नै दर्शकलाई उठाएर ताली बजाउन बाध्य बनाउने विशेष चमक हुन्छ । यामालमा धेरैले त्यही चमक देखेका छन् ।

१९ वर्षसम्म ओझेलमा रहेको त्यही तस्बिर अचानक सामाजिक सञ्जालमा फेरि चर्चामा आयो । यामालको परिवारले तस्बिर सार्वजनिक गरेपछि विश्वभरका समर्थक चकित भए । मेस्सीले काखमा लिएको शिशु वास्तवमा लामिन यामाल नै थिए । केही घण्टामै तस्बिर विश्वभर फैलियो । खेल पत्रकार, पूर्वखेलाडी र समर्थकले त्यसलाई ‘रोचक संयोग’ र दुई पुस्ता जोड्ने प्रतीकात्मक क्षणका रूपमा व्याख्या गरे । एउटा फ्रेममा भविष्य र वर्तमान एकैपटक देखिएजस्तो अनुभूति धेरैलाई भयो ।

त्यसो त, फुटबल इतिहासमा धेरै तस्बिर प्रसिद्ध छन् । उपाधि उचाल्दै गरेका कप्तान, निर्णायक गोलपछि आँसु झारिरहेका खेलाडी वा हजारौं समर्थकबीच हात हल्लाइरहेको स्टार । यी तस्बिरबीच कहिलेकाहीँ सामान्यजस्तो देखिने तस्बिरले असाधारण अर्थ राख्ने गर्छ । लियोनेल मेस्सी र लामिन यामालसँग जोडिएको १९ वर्ष पुरानो तस्बिर त्यस्तै एउटा क्षण हो ।

आज यी दुई नाम विश्व फुटबलका फरक पुस्ताको प्रतिनिधित्व गर्छन् । मेस्सी एक युगको प्रतीक र यामाल नयाँ पुस्ताको आधार । उनीहरूको कथायात्रा कुनै फाइनल, ट्रफी वा ट्रान्सफरबाट सुरु भएको भने पक्कै होइन, यसको सुरुवात सन् २००७ को बार्सिलोनामा आयोजित त्यही एउटा साधारण फोटोसुटबाट भएको हो ।

पुस्ता परिवर्तनको सुन्दर दृश्य
खेलकुदमा पुस्ता परिवर्तन अपरिहार्य हुन्छ । एक समयका नायक बिस्तारै अनुभवका प्रतीक बन्छन् र नयाँ अनुहारले सपनाको जिम्मेवारी सम्हाल्छन् । यस्ता परिवर्तन यति भावुक र दृश्यात्मक संयोगसँग जोडिएर विरलै देख्न पाइन्छन् । मेस्सीले आफ्नो पुस्ताको फुटबललाई परिभाषित गरे । यामालले अझै आफ्नो सम्पूर्ण यात्रा तय गर्न बाँकी छ । उनी नयाँ पुस्ताको सम्भावनाको प्रतिनिधि बनिसकेका छन् ।

यस यात्राको अर्को रोचक पक्ष बार्सिलोना हो । मेस्सीले यही क्लबबाट विश्व फुटबलमा आफ्नो पहिचान बनाए । यामाल पनि यही क्लबको युवा प्रणालीबाट अघि बढेका हुन् । ला मासियाको उद्देश्य खेलाडी उत्पादन गर्नु त हो नै, यसस“गै खेल बुझ्ने, टोलीका लागि खेल्ने र सिर्जनात्मक फुटबल प्रस्तुत गर्ने संस्कार निर्माण गर्नु पनि हो । यही वातावरणले फरक समय जन्मिएका यी दुई प्रतिभालाई एउटै फुटबल परम्परासँग जोड्छ ।

एकले इतिहास लेखे, अर्को नयाँ अध्याय सुरु गर्ने तयारीमा छन् । यदि कुनै ठूलो अन्तर्राष्ट्रिय मञ्चमा यी दुई खेलाडी आमनेसामने उभिन्छन् भने दर्शकले दुई टोलीबीचको प्रतिस्पर्धामात्र हेर्ने छैनन् । उनीहरूले १९ वर्षअघि सुरु भएको एउटा कथायात्राको अर्को अध्याय पनि देख्ने छन् ।

एकातिर अनुभव, उपलब्धि र विरासत, अर्कोतिर उत्साह, सम्भावना र भविष्य । यही द्वन्द्वले खेललाई भावनात्मक बनाउने गर्छ । मैदानमा उनीहरू प्रतिद्वन्द्वी भए पनि त्यो पुरानो तस्बिरले उनीहरूलाई फुटबलको एउटै दीर्घयात्राको सहयात्री बनाइदिएको छ ।

इतिहास ठूलै घटनाबाट मात्रै पनि सुरु हुँदैन । एउटा सानो कोठा, सामान्य क्यामेरा, नीलो प्लास्टिकको बाथटब र दुई अपरिचित पात्रमार्फत पनि इतिहास लेखिने रहेछ । समय र पात्र बदलिए पनि साधारण क्षण असाधारण बनेर फर्किन्छन् ।

मेस्सी र यामालको प्रसंग यसैको प्रमाण हो । १९ वर्षअघि खिचिएको एउटा तस्बिर आज विश्व फुटबलको सबैभन्दा भावुक प्रतीकमध्ये बनेको छ । जहाँ एक युगले अर्को युगलाई अनायासै काखमा समातेको थियो । सायद यही कारण यो कथा ‘स्कोरलाइन’भन्दा धेरै परसम्म सम्झिइने छ ।

तपाइको प्रतिक्रिया
(Visited 9 times, 1 visits today)

epaper

ताजा समाचार

आज साउने सङ्क्रान्ति पर्व