हामीलाई कसैले जिताइरहेको छैन, हाम्रो प्रदर्शनले नै यहाँसम्म ल्याएको हो : मेस्सी

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले ‘फिफाले अर्जेन्टिनालाई पक्षपात गरिरहेको’ भन्ने आरोपलाई पूर्णरूपमा अस्वीकार गरेका छन् । ‘यस्ता टिप्पणीको कुनै आधार नभएको’ बताउँदै उनले ‘आफ्नो टोलीले हरेक सफलता मैदानमा गरेको प्रदर्शनका आधारमा हासिल गरेको’ जिकिर गरेका छन् ।

‘मानिस आफ्नो विचार राख्न पाउँछन्, त्यसलाई रोक्न सकिँदैन । तर हामीले हासिल गरेका उपलब्धि कसैको सहयोग वा पक्षपातका कारण आएका होइनन्,’ मेस्सीले भने, ‘हामीले प्रत्येक खेलमा संघर्ष गरेका छौं, मेहनत गरेका छौं र त्यसकै परिणामस्वरूप जित हात पारेका छौं ।’
मेस्सीका अनुसार आलोचना खेलको एउटा हिस्सा भए पनि त्यसले टोलीको सोच वा तयारीमा कुनै असर पार्दैन । ‘हामी अरूले के भनिरहेका छन् भन्नेमा ध्यान दिँदैनौं, हाम्रो ध्यान राम्रो प्रदर्शन गर्ने, टोलीका रूपमा एकजुट रहने र समर्थकलाई गर्व गर्ने नतिजा दिनेमा केन्द्रित छ,’ उनले थपे, ‘हामीलाई कसैले उपहारमा जित दिएको छैन । मैदानमा पसिना बगाउने खेलाडी हामी हौं, त्यसैले हाम्रो सफलताको श्रेय पनि टोलीको मेहनत र समर्पणलाई नै जान्छ ।

बाहिरबाट आउने आरोपले वास्तविकता परिवर्तन गर्न सक्दैन ।’ अर्जेन्टिनाको यात्रालाई सहजरूपमा नहेर्न आग्रह गर्दै मेस्सीले ‘प्रत्येक खेल कठिन रहेको’ उल्ले ख गरे । ‘विश्वकपमा कुनै पनि खेल सजिलो हुँदैन । हरेक प्रतिद्वन्द्वी बलिया हुन्छन् । त्यसैले हामीले प्रत्येक खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन दिनुपर्छ,’ उनले भने, ‘हाम्रो टोलीले त्यही गरिरहेको छ र यही कारण हामी अघि बढिरहेका छौं ।’

मेस्सीले समर्थकको साथप्रति आभार व्यक्त गर्दै भने, ‘हामीमाथि विश्वास गर्ने विश्वभरका समर्थकलाई धन्यवाद भन्न चाहन्छु । उनीहरूको साथले हामीलाई थप ऊर्जा मिल्छ । हाम्रो लक्ष्य अन्तिमसम्म लड्ने र अर्जेन्टिनाका लागि उत्कृष्ट नतिजा ल्याउने हो ।’

तपाइको प्रतिक्रिया
(Visited 4 times, 1 visits today)

epaper

ताजा समाचार

आज साउने सङ्क्रान्ति पर्व