काठमाडौं । मुलुकमा कोरोना संक्रमण बढेसँगै नेपालमा अझै तीन महिना फिल्म हल नखोल्ने निष्कर्षमा नेपाल सरकार पुगेको छ । यो खबरले फिल्म हल सञ्चालक चिन्तित बनेका छन् । डिपार्टमेन्ट स्टोरदेखि पसल र बजारसमेत आइतबारबाट खुल्न थालेका छन् । सरकारले ३२ जेठसम्म मुलुकमा लकडाउनको घोषणा गरेको छ । तथापि, कोरोना संक्रमण कम भएको क्षेत्र काठमाडौंलगायत अन्य सहरमा पसल र बजार खुल्न थाले पनि फिल्म हल तत्काल नखुल्ने भएका छन् ।
हलवालाको संस्था नेपाल चलचित्र संघका महासचिव एवं प्रवक्ता अशोक शर्माले सिनेमा हल नखुल्दासम्म ऋणको ब्याजमा सघाउन सरकारसँग माग गरेका छन् । यो विषयमा आफूहरूले अर्थ, सञ्चारलगायतका मन्त्रालयका मन्त्रीलाई भेटेर अनुरोध गर्दा पनि सुनुवाइ नभएको उनको गुनासो छ ।
यता कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले आगामी भदौ मसान्तसम्म मुलुकका सिनेमा हल बन्द गर्ने सुझाव मन्त्रिपरिषद्लाई बुझाएको छ । सो सुझावअनुसार अझै तीन महिनासम्म सिनेमा हल नखुल्ने पक्का छ । सोही कारण फिल्म हल सञ्चालक चिन्तित बनेका छन् ।
नेपाल चलचित्र संघ प्रवक्ता अशोक शर्माले भने, ‘फागुन अन्तिमबाट बन्द भएको हल कहिले खुल्ने भन्ने टुंगो छैन र सबैभन्दा अन्तिममा मात्र हल खुल्ने मैले देखेको छु । तर सरकारले हामीसँग ७ असारभित्र जसरी पनि सिनेमा हलको आयकर बुझाउन ताकेको छ,’ उनले अगाडि थपे, ‘हाम्रो सिनेमा हल चार महिनादेखि बन्द भए पनि गत माघ-फागुनको कमाइ एवं आयकरको पैसा र थप ऋण लिएर कर्मचारीको तलब खुवाउने कार्य भइरहेको छ । त्यसैले, अहिलेको अवस्थामा कर तिर्न हामीसँग पैसा छैन र बन्द सिनेमा हलको बिजुली खर्चदेखि जग्गा भाडासम्म तिर्नु छ ।’ बैंकको ऋण र त्यसको ब्याजले हल सञ्चालकलाई उठीबास लगाउने अवस्था आएको पनि उनले बताए ।
प्रवक्ता शर्माले अहिलेको अवस्थामा सरकारले फिल्म हल सञ्चालकलाई कुनै पनि प्रकारको आर्थिक सहुलियतको राहत नदिएकोमा दुःख व्यक्त गरेका छन् । उनले भने, ‘नेपालमा अब भदौसम्म मात्र हैन, कोरोना पूर्ण साम्य नभएसम्म सरकारले हल खोल्न दिनेछैन र सरकारको निर्देशन फिल्म हल सञ्चालकले पूर्ण रूपमा मान्नुपर्नेछ । भोलि कोरोनाको अवस्था सामान्य भए पनि ऋण तिर्न नसकेका कारण अहिलेका आधाभन्दा बढी हललाई बैंकले लिलाम गर्ने अवस्था आउनेछ ।’ त्यस्तो अवस्थामा आफूहरूले बैंकलाई हलको चाबी र लालपुर्जा जिम्मा लगाउनुबाहेक अरू विकल्प नरहने पनि प्रवक्ता शर्माले बताए, ‘अहिले मुलुकमा १ सय ९२ वटा सिनेमा हल बन्द अवस्थामा छन् ।
सिनेमा हल निर्माण गर्दा लिएको ऋणको हामीलाई प्राप्त विवरणअनुसार हल मालिकको थाप्लोमा हलको ६ अर्ब ऋण अहिले रहेको छ र त्यो ऋणको नियमित किस्तासहित ब्याज हरेक महिना बैंकलाई बुझाउनुपरेको छ ।’ फिल्म हल पूर्ण बन्द रहेको र कर्मचारीलाई समेत तलब दिनुपरेको अहिलेको अवस्थामा त्यो ब्याज अब तिर्न नसक्ने स्थिति आएको पनि प्रवक्ता शर्माले बताएका छन् ।
‘पर्यटन, होटल व्यवसायलगायतले सरकारले विभिन्न राहत ल्याए पनि फिल्म हलका लागि राहत प्याजेक नल्याएकोमा हल सञ्चालक आक्रोशित छन् । अब कर्मचारीको तलब, पुनः हल सञ्चालन र बैंकको ऋणको ब्याज तिर्न सरकारले २ वा ३ प्रतिशत ब्याजमा हामीलाई प्याकेज ऋण दिनैपर्छ । त्यो ऋण हामी फिल्म हल पूर्ण रूपमा सञ्चालनमा आएको ६ महिनाभित्र तिर्नेछौं ।’ यदि सरकारले यो सहुलियत ऋण आफूहरूलाई नदिने हो भने नेपालमा सिनेमा हलको व्यवसाय पूर्ण रूपमा धराशायी हुनुका साथै नेपाली सिनेमा उद्योग नै संकटमा पर्ने पनि नेपाल चलचित्र संघका महासचिव शर्माले बताए ।
अहिलेको अवस्थामा सरकारले भदौ मसान्तसम्म सिनेमा हल बन्द गर्नुलाई आफूहरूले नकरात्मक रूपमा नलिएको पनि शर्माको कथन छ । सिनेमा हल खुला गरे पनि अहिलेको अवस्थामा दर्शक आउने वातावरण नरहेकाले आफूहरूलाई बिजुलीको महसुलमा छुटदेखि सस्तो ब्याजदरमा ऋणसम्मको प्याकेज चाहिएको प्रवक्ता शर्माले बताए । त्यो भयो भने आफूहरूले कोरोना संक्रमणपछि हल खोल्न सक्ने अवस्था आउने उनले प्रस्ट पारेका छन् । अन्यथा सिनेमा हल सधंैका लागि बन्द गर्नुको विकल्प अरू नरहेको पनि उनले स्पष्ट पारे ।






