चितवन । गएराति १० बजेदेखि बन्द गरेर बिहान ६ बजेदेखि सञ्चालनमा ल्याइएको नाराणगढ–मुग्लिन सडक खण्डको जलविरेमा दुईवटा बस र एउटा ट्रक ठोक्किदा सडकमा आवागमन बन्द भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी चन्द्र भुषण यादवका अनुसार सञ्चालनमा आएको सवारी दुर्घटनाका कारण पुनः बन्द भएको हो । प्रहरीका अनुसार मुग्लिङ-नारायणगडढ सडक खण्डको इच्छाकामना–६ जलबिरे नजिक दुर्घटना भएको हो ।
काठमाडौंबाट दाङ जादै गरेको लु.प्र.०३–००१ ख०५०५ नम्बरको बस र सर्लाहीबाट काठमाडौं जाँदै गरेको म.प्र. ०३–००२ ख ७३२ नम्बरको बस र सोही दिशा पछाडिबाट आउँदै गरेको बा.प्र.०३-००१ ख.१६७१ नं.को ट्रक एक आपसमा ठोक्किएको थियो ।
दुर्घटनाको विवरण भने आइसकेको छैन । प्रहरीले बसमा यात्रा गरेका २५ जनाभन्दा बढी मानिस घाइते भएका बताइएको छ ।
दुर्घटनास्थल नजिक मोबाइलको नेटवर्क राम्रोसँग नटिपेका कारण दुर्घटना विवरण लिन नसकेको तर घटनास्थलमा प्रहरी पुगिसकेको उनले बताए ।
सुरक्षाको दृष्टिकोणले जिल्ला प्रशासन कार्यालयले हिजो बेलुकी १० बजेदेखि उक्त सडक खण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो। आज बिहानैदेखि रोक हटाई सडक सुचारु गरिए पनि खुलेको केही समयमै दुर्घटना भएपछि यात्रुहरू बिच बाटोमै अलपत्र परेका हुन् ।
सडक डिभिजन भरतपुरले पनि सामाजिक सञ्जालमा सूचना राखेर अहिले सडक खुलाउने प्रयास भइरहेको जनाएको छ।






