वीरगन्ज । भारतबाट नेपाल आई पर्सा, बारा र रौतहटका विभिन्न क्वारेन्टाइनमा बस्दै आएका १९ जनामा नेपालीमा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पताल वीरगन्जको स्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा तीन जिल्लाको विभिन्न क्वारेन्टिनमा बस्दै आएका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
रिपोर्ट पोजेटिभ देखिएका मध्ये ८ जना पर्सा जिल्ला रहेको नारायणी अस्पतालको अस्थायी बिशेष कोभिड अस्पताल गण्डकका संयोजक डा. उदय नारायण सिंहले बताए । बाँकी ७ जना बारा र ४ जना रौतहटका रहेको उनको भनाइ छ । पोजेटिभ देखिएका पर्साका आठै जना जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ का वासिन्दा हुन् ।
रोजगारीका लागि भारतको केराला, लुधियाना लगायतका ठाउँमा गएर फर्किएका उनीहरु १५ दिन अगाडी मात्र यहाँ आएका हुन् । उनीहरुलाई पर्साको जगरनाथपुर स्थित सन्ठी क्वारेन्टाइनमा राखिएको थियो । गएको जेठ २३ गते शुक्रबार ३४ जनाको स्वाव संकलन गरिएकोमा त्यो परिक्षण गर्दा संक्रमण देखिएको डा सिंहले बताए । संक्रमित भेटिएका पर्साका नागरिक २० बर्ष देखि ५५ बर्ष उमेर समूहका ७ जना पुरुष र १ महिला रहेको उनको भनाइ छ ।
संक्रमण पुष्टि भएकालाई सुरक्षाकर्मीसहितले एम्बुलेन्स माफर्त वीरगन्जमा रहेको कोभिड अस्पताल गण्डकमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक गंगा पन्तले बताइन् । नारायणी हस्पतालमा आइतबारदेखि सोमबार बिहानसम्म गरिएको ३ सय ५७ जनाको पीसिआर परिक्षणमा पर्सा, बारा र रौतहटका गरी १९ जनामा रिपोर्ट पोजिेटिभ आएको नारायणी अस्पतालले जनाएको छ ।
सुरुका दिनमा नारायणी अस्पतालमा ल्याइएको पीसीआर मेशिनले सहि रिपोर्ट दिन्छ कि दिदैन भनी यहाँ र राष्ट्रिय प्रयोगशालामा पनि पठाएर परिक्षण गरिन्थ्यो । तर दुवै तर्फको रिपोर्ट एउटै आउन थालेपछि यहाँको परिक्षण पनि ठिक हुने गरेको पाइएको नारायणी अस्पतालले जनाएको छ । अहिले यो मेशिन फूलफेजमा चलिरहेको र एकपटकमा ९० वटा सम्म रिपोर्ट निकाल्न थालेको पनि अस्पतालले जनाएको छ ।






