खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित ऐसेलुखर्कमा राई चाम्लिङ समुदायले सामुदायिक होम–स्टे (घरवास) सञ्चालनमा ल्याएका छन् । गत साउन २ गतेदेखि औपचारिक रूपमा उद्घाटन गरिएको यस होम–स्टेसँगै ब्रान्डिङ गरिएको कोदोको तीनपाने रक्सीको बिक्री–वितरण समेत सुरु भएको छ ।
सञ्चालकहरूका अनुसार, पर्यटकलाई स्थानीय अर्गानिक परिकारको स्वाद चखाउने र चाम्लिङ राई समुदायको संस्कृति नजिकबाट अनुभूति गराउने उद्देश्यले उक्त होम–स्टे सुरु गरिएको हो । त्रिधार्मिक स्थल हलेसीबाट करिब एक किलोमिटर दूरीमा रहेको यस होम–स्टेले पर्यटकको आकर्षण बढाउने विश्वास गरिएको छ । यहाँ आउने पाहुनाले लोकल कुखुराको मासु, ढिँडो, गुन्द्रुकको अचार जस्ता परिकारसँगै स्थानीय संस्कृति नजिकबाट बुझ्ने अवसर पाउनेछन् ।
‘कोदोको सुगन्ध, संस्कृतिको सम्बन्ध’ भन्ने नाराका साथ सुरु गरिएको यस होम–स्टेमा सेवाहरूको मूल्य पनि किफायती राखिएको छ । बासका लागि प्रति बेड रु २०० र सादा खानाको मूल्य रु २०० तोकिएको छ । यसैगरी लोकल कुखुराको मासु रु प्लेटको १५०, ब्रोइलर रु १००, राँगा रु १००, सुँगुर रु १००, खसी रु १५०, भेज ब्रेकफास्ट रु १५० र लोकल अण्डा रु ४० मा उपलब्ध हुनेछ । लोकल भाले प्रति केजी रु ९०० मा पाइनेछ भने पेयपदार्थमा तोङ्बा रु २०० तोकिएको छ ।
ब्रान्डिङ गरिएको कोदोको तीनपाने रक्सी एक हजार एमएलको रु ९१०, ५०० एमएलको रु ५०० र २५० एमएलको रु २५० मा बिक्री हुनेछ । होम–स्टेमा बस्ने पाहुनाले किरात संस्कार, संस्कृति अध्ययन र साकेला सिली अवलोकन गर्ने अवसर पनि पाउनेछन् । स्थानीय ३० घर चाम्लिङ राईको सहभागितामा सञ्चालन गर्ने लक्ष्यसहित सुरु गरिएको यस होम–स्टेमा हाल आठ घरधुरी सहभागी छन् । नगरप्रमुख विमला राईका अनुसार, हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा वार्षिक लाखौं पर्यटक आउने भएकाले उनीहरूलाई स्थानीय तवरमै सेवा दिने लक्ष्यले होम–स्टे सञ्चालनमा ल्याइएको हो ।
तत्कालका लागि दैनिक ४० जना पाहुनालाई सेवा दिन सकिने व्यवस्था मिलाइएको उनले बताइन् । सामुदायिक होमस्टे होटल व्यवसायीसँगको प्रतिस्पर्धा नभई छुट्टै विशेषतायुक्त रहेको समेत उनले स्पष्ट पारिन् । नगरपालिकाले विगत दुई वर्षदेखि यसका लागि पूर्वाधार तयारी गर्दै आएको जनाइएको छ । पहिलो वर्ष सडक स्तरोन्नति र ग्राबेलिङ गरिएको थियो भने दोस्रो वर्ष सिँढी बाटो निर्माण, तालिम सञ्चालन र कोदोको तीनपाने रक्सीको ब्रान्डिङ गरिएको नगरप्रमुख राईले जानकारी दिइन् ।
ब्रान्डिङ गरिएको रक्सीलाई बोटलिङ र लेबलिङ गरी बजारमा ल्याइएको छ, साथै अल्कोहल नाप्ने मेसिनसमेत प्रयोगमा ल्याइएको छ । स्थानीय तालिमप्राप्त महिलाले उत्पादन गरेको यस रक्सीमा ४५ देखि ५० प्रतिशतसम्म अल्कोहल रहेको जनाइएको छ । नगरपालिकाले कार्यविधि तयार गरी उत्पादित रक्सी होम–स्टेमार्फत मात्रै बिक्री–वितरण गर्ने व्यवस्था मिलाएको छ । कानुनी रूपमा उत्पादन तथा बिक्री–वितरणमा प्रतिबन्ध रहेको कोदोको रक्सीलाई नगरपालिकाले आफैं प्रवद्र्धन गर्न थालेपछि स्थानीयवासीले रोजगारी समेत पाएका छन् ।
सम्बन्धित समाचार
सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने
बुधबारदेखि भरी सिलिण्डर ग्यास पाइने
यातायात र भूमि व्यवस्थाको डिजिटल प्रणालीमा समस्या
सम्पत्ति विवरण संकलन र छानबिन स्थगित
किन फरक छ पूर्वाञ्चल पब्लिक स्कुल ?
सुकुम्वासीलाई ३५ दिनभित्र निवेदन दर्ता गराउन सरकारको अन्तिम आह्वान
जीर्ण भन्सार कार्यालयलाई लक्ष्य प्राप्तिको चिन्ता
नेपाल विद्युत् प्राधिकरणले अघि बढायो आरसीओडी थप्ने प्रक्रिया






