काठमाडौं । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको लर्को लागेको छ।
बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठले राससलाई जानकारी दिइन् । साउने झरीको पनि वास्ता नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि आएको उनले सुनाइन् ।
यस अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन तथा विशेष पूजा व्यवस्थापनको प्रबन्ध मिलाइएको छ । पहिलो सोमबार ४ साउनभन्दा आज पशुपति क्षेत्रमा थप व्यवस्था गरिएको देखिन्छ । गत हप्ता नभ्याएका साउने सोमबारका काम यस हप्ता भने पूरा भएको कोषले जनाएको छ ।
दर्शन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन कोषका सबै पदाधिकारी, कर्मचारीका साथै मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौं महानगर प्रहरी र विभिन्न धार्मिक तथा सामाजिक संघसंस्थाको पनि विशेष सेवा एवं सहभागिता रहेको छ ।
साउनको सोमबार पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने लाखौँ श्रद्धालु भक्तजनलाई सहज, सुरक्षित, मर्यादित र व्यवस्थित वातावरणमा दर्शन र पूजाआराधना गराउने गरी व्यवस्था मिलाइएको कोषका सदस्यसचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।
बिहान ३ बजेदेखि खुलेका मन्दिरका चार ढोका बेलुका आरतीपछि ८ बजेसम्म भक्तजनका लागि खुला गर्ने गरी तयारी भएको छ । विशेष पूजा बिहान ८ः३० देखि मध्याह्न १२ बजेसम्म मात्र हुनेछ ।
मन्दिर छिर्न चारवटा लाइनको व्यवस्था गरिएको छ । बिहानैदेखि भक्तजन आए पनि लामो लाइन भने नभएको कोषले जनाएको छ । पशुपति क्षेत्रमा दर्शनार्थीका लागि प्राथमिक उपचारलगायत अत्यावश्यक सबै व्यवस्था गरिएको छ ।
पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत राजधानीका ठूलासाना सबै शिव मन्दिरमा पनि भक्तजनको बिहानैदेखि लाइन लागेको जनाइएको छ । यसैगरी, देशभरका शिवालयमा पनि भक्तजन पूजाआराधना एवं दर्शनका लागि पुगेका छन् ।
सम्बन्धित समाचार
चितवन राष्ट्रिय निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
बागमतीका १३ वटै जिल्लाका उद्योग प्रशासन डिजिटल प्रणालीमा
सवारी रोकेर तुइन खोलाको ढिस्को हटाइँदै
इच्छाकामनामा ३४ भूमिहीन परिवारले पाए लालपुर्जा
हेटौँडा सहिद स्मारकमा गत आवमा पाँच लाख पर्यटक
भक्ति सङ्गीतको १६औँ शृङ्खला सम्पन्न
सरकारले जोखिमको अवस्था हेरेर मात्रै सवारीसाधन चलाउन दिने






