सप्तरी, राजविराज । लकडाउनका बेला प्रहरीको आँखा छल्न स्वास्थ्यकर्मीको नक्कली परिचयपत्र बोकी लागु औषध कारोबारमा संलग्न एक तस्कर ठूलो परिमाणको लागुऔषधसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह निवासी २२ अनिलकुमार मण्डल छन । प्रहरीले सोमबार साँझ उनलाई हुलकी सडकखण्डको खुरहुरिया चौक नजिकैबाट पक्राउ गरेको हो । बा.६७प. ४८५३ नम्बरको मोटरसाइकलमा चामलको बोरा लोड गरि राजविराजतर्फ आउँदै गरेको अवस्थामा चेकजाँचको क्रममा मण्डल पक्राउ परेको डिएसपी तिलक भारतीले जानकारी दिए ।
प्रहरीको चेकजाँचबाट जोगिन मण्डलले घाँटीमा स्वास्थ्यकर्मी (ल्याब असिस्टेन्ट) को नक्कली परिचयपत्र झुण्ड्याएका थिए । प्रहरीले चेकजाँचको क्रममा चामलको बोरा भित्र लुकाइ राखेको ठूलो परिमाणको प्रतिबन्धित लागु औषध बरामद गरेको डिएसपी भारतीले बताए ।
उनका अनुसार चामलको बोराभित्र लागु औषध स्पासमोप्रोकसिभव क्याप्सुल ३ हजार १ सय ६८ थान र डेलेक्स डिसि २८ बोतल प्रहरीले बरामद गरेको छ । प्रहरीले चेकजाँचको क्रममा सोध्दा उनले आफू स्वास्थ्यकर्मी रहेको र क्वारेन्टाइन केन्द्रतर्फ चामल पु¥याउन जाँदै गरेको बताएका थिए । तर, शंका लागेर चेकजाँच गर्दा उनी लागु औषधको कारोबारी रहेको खुलेको प्रहरीको भनाई छ ।
मण्डललाई सप्तरी जिल्ला अदालतबाट २५ दिनको म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको डिएसपी भारतीले बताए ।
सप्तरीमा ७२ किलो मिटर खुल्ला सीमा छ । सुरक्षा निकाय हाल कोरोनाको जोखीम नियन्त्रण र लकडाउन प्रभावारी बनाउन ध्यान केन्द्रित गरेको बेला लागुऔषध सेवनकर्ता र कारोबारी सीमावर्ती भारतीय बजारबाट नयाँ नयाँ शैली अपनाउँदै लागुऔषध नेपाल भित्राउन सक्रिय भएका छन् ।
प्रहरीले सो ’bout सुइको पाएपछि अहिले नाका क्षेत्रमा निगरानी र चेकजाँच कडा बनाएको प्रहरी उपरिक्षक कृष्ण प्रसाईले बताए । एक साताअघि पनि प्रहरीले चिनिको झोलाभित्र दश लाख रुँपैया लुकाएर ल्याउँदै गर्दा एक भारतीय नागरिकलाई पक्राउ गरेको थियो ।






