कोरोना महामारीले सिर्जना गरेको अनिश्चिततासँग जुध्नका लागि सकारात्मक र सामूहिक सोच तथा प्रतिबद्धता जरुरी छ । यसले मात्र समस्या समाधानमा बल पु¥याउने देखिन्छ । जब समस्या नै सामूहिक रूपमा सामुन्ने खडा हुन्छ, तब एक जना वा कुनै एक संस्था वा सरकार एक्लैबाट यसको समाधान असम्भव हुन जान्छ । यति बेला महामारीका रूपमा खडा भएको कोरोनाविरुद्ध लड्न सिंगो देश र सिंगो समाज एक ढिक्का हुन जरुरी छ । यसका लागि सोच, नीति तथा कार्यक्रममा सामूहिकता हुनु जरुरी छ । सिंगो नेपाली समाजको प्रतिनिधिका रूपमा उभिएको र अभिभावकका रूपमा रहेको सरकारले गर्नुपर्छ । यो पहलमा सम्बन्धित पक्ष सबैले हातेमालो गर्न आवश्यक छ । यसको एउटै कारण हो, महामारी हामी सबैको साझा शत्रु हो । तर, सरकारले अहिले सबैलाई एउटै मालामा आबद्धताका लागि विश्वसनीय वातावरण निर्माण गर्न सकिरहेको देखिँदैन । सरकारले आफंैभित्र अपारदर्शी र अनमेलको आभास दिइरहेको छ । महामारीविरुद्ध लडाइँ जित्नका लागि नेतृत्व गरिरहेको सेनापति नै ढुलमुल र अस्पष्ट देखिएपछि जनतामा यसले आशावादिताको सञ्चार गर्न छाडिसकेको छ ।
फलतः देशमा अनिश्चयताको वातावरण मडारिन थालेको छ । यसको बोध राज्यको प्रतिनिधित्व गर्ने सरकारलाई हुनुपर्छ । यसका लागि आवश्यक केही सार्वजनिक स्थानमा सामूहिक अभ्यासका लागि सामूहिक नेतृत्व र सहकार्यको वातावरण निर्माण गर्न जरुरी छ । समस्या सामूहिक रूपमा देखापर्ने तर सरकारले देशका शक्तिमाझ ध्रुवीकरणको वातावरण सिर्जना गर्न खोजेर यसको हल सम्भव छैन । समस्याको प्रकृति एउटा हुने तर त्यसको कार्यनीतिक र व्यावहारिक हल अर्को खोजिने हो भने समस्या र समाधानबीच वस्तुवादी सामन्जस्यता आउँदैन । बरु त्यसले फाटो, अन्तरविरोधलाई बेमेलको अवस्थामा पु¥याउँछ । यसले हात्तीलाई रोक्न नाङ्लो ठटाएझैं निरर्थक कार्यमा अलमल्याउँछ । त्यसैले, सामूहिक छलफल, विमर्श र सहकार्यको ढोका खोलिनु जरुरी छ । त्यो सत्ताधारी पार्टीभित्र जुन सत्यतासहित उद्घाटित हुँदै गएको छ, सत्ताधारी पार्टीबाहिर पनि उत्तिकै आवश्यक हुन गएको छ । जनताको सोच र आकांक्षामा विभाजन ल्याउने खालको एजेन्डा अघि बढाउने, पूर्वाग्रही भावनाद्वारा निर्देशित हुने, टक्कर र अक्करको वातावरण सिर्जना गर्ने अनि एकअर्कालाई भिडाउने जस्ता कूटनीतिक चाल आन्तरिक रूपमा खेलिनुहुँदैन । वर्तमान देश, काल, परिस्थितले यसलाई स्वीकार गर्न सक्दैन ।
अर्कोतिर सरकारले गरेन मात्र भनिरहने, एकोहोरो दोहोलो काढिरहने र जे कुरामा पनि विरोध र आलोचना मात्र गरिरहने सोच र प्रवृत्ति पनि ठीक होइन । गलत कुराको आलोचना गर्ने र सुझाव दिने तथा राम्रा प्रयासमा सहयोगी हात अघि बढाउने संस्कारको विकास हुनु पनि आवश्यक छ । यसका लागि सरकारसहित सम्बन्धित सबै पक्ष सचेत हुनुपर्छ । केही साता विरोध भएन भने ‘सरकारको विरोध गर्ने आँट’ कसैमा छैन भन्दै सिँगौरी खेल्दै हिँड्ने सत्तासीनका गलत प्रवृत्ति तथा ‘आज विरोध गरिएन रातमा निद्रा पर्दैन कि’ भनी चिन्ता लिने दुवै प्रवृत्ति गलत मात्र होइन, उत्तिकै घातक पनि छन् । जनता सुधार र विकास चाहन्छन् । सेवासुविधा र राहत चाहन्छन् । महामारीका बेला शीघ्रातिशीघ्र उपकार र उपचारको व्यवस्था चाहन्छन् । यसको नेतृत्व सरकारले गरोस् भन्ने चाहन्छन् । त्यसैले, उनीहरू माग लिएर सडकमा निस्किएका देखिन्छन् । सरकारले यसलाई फगत विरोधका रूपमा होइन, आफ्ना अपुग र कमजोरी सच्याउने र दृढताका साथ अघि बढ्ने अवसरका रूपमा पनि लिनुपर्छ । यसका लागि सकारात्मक सोचसहित व्यवहारमा खरो उत्रन कन्जुस्याइँ गर्नुहुँदैन ।






