भलिबल संघलाई ५० लाख

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेश सिलवालले सरकारले नेपालको राष्ट्रिय खेल भलिबलका लागि चालू आर्थिक वर्षमा रातो किताबमा ५० लाख रुपैयाँ बजेट विनियोजन भएको जानकारी गराएका छन् । आगामी आर्थिक वर्षको बजेट भाषणमा राष्ट्रिय खेल भलिबलको पूर्वाधार निर्माणका लागि मागेको बजेट नआएको भन्दै आपत्ति जनाइरहेका बेला रातो किताबमा ५० लाख रुपैयाँ राखिएको सदस्यसचिव सिलवालले बताएका हुन् । युवा तथा खेलकुद मन्त्रालयले बजेट माग्दा सुरुमा भलिबललाई भनेर २५ करोड रुपैयाँ माग गरे पनि सरकारले त्यसलाई झार्दै रातो किताबमा ५० लाख रुपैयाँ राखिएको बताएका हुन् ।

यस्तै, सदस्यसचिव सिलवालले सरकारले नेपालको राष्ट्रिय खेल भलिबलको सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तरको कभर्डहल बनाउन कुनै कसर नराख्ने बताए । ‘भलिबलको पूर्वाधार निर्माणका लागि अब संघ र परिषद्ले मिलेर जानुपर्दछ । हामीले भलिबलको कभर्डहलका लागि तीन÷चार ठाउँमा जग्गा हेरिसकेका छौं । काम सुरुवात गर्नु नै ठूलो कुरा हो ।’ सदस्यसचिव सिलवालले भने, ‘सुरुवातमा ५० लाख भए पनि काम सुरु गर्न सकिने र त्यसपछि अरू रकम सरकारसँग माग्न सक्छौं । १३औं सागका लागि पनि ५० लाख नै बजेट थियो । काम गरेको अवस्थामा सरकारले बजेट दिने रहेछ । हामीले ३ अर्ब बजेट पायांै । जसमध्ये सागबाट बचेको १ अर्ब फिर्ता गरिसकेका छौं ।’

उनले काम गरेर देखाउन सके पूर्वाधार निर्माणका लागि अरू रकम पनि माग्न सकिने बताएका छन् । संघले ललितपुरको लुभु र काठमाडौंको बूढानीलकण्ठमध्ये एक ठाँउमा ५ हजारभन्दा बढी दर्शक क्षमताको सुविधासम्पन्न कभर्डहल बनाउने योजना अघि सारेका छन् ।

चिकित्सक संघलाई सहयोग
नेपाल भलिबल संघले मंगलबार नेपाल चिकित्सक संघलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण मुलुक लकडाउनमा रहेका बेला अग्रपंक्तिमा निरन्तर खटिने स्वास्थ्यकर्मीका लागि भलिबल संघले मास्क र फेस सिल्ड हस्तान्तरण गरेको हो ।

स्वास्थ सामग्री नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले संयुक्त रूपमा चिकित्सक संघका अध्यक्ष लोचन कार्कीलाई हस्तान्तरण गरे । संघले एन–९५ मास्क १ हजार थान र केही थान फेस सिल्ड चिकित्सक संघलाई हस्तान्तरण गरेको हो । संघले प्रदान गरेका मास्क प्रदेश २ का जिल्लाहरूमा पठाइदिन आग्रह गरेको महासचिव जीतेन्द्रबहादुर चन्दले जानकारी दिए । फेस सिल्ड ई–नेवल संस्थाले अन्य दुई संस्था दाँवली मिलन क्लब र नोबेल कलेजको सहकार्यमा आफ्नै ल्याबमा थ्री डी प्रिन्टबाट तयार पारिएको हो ।

यसैगरी, पुल्चोक इन्जिनियरिङ कलेज एल्मुनाई एसोसिएसन महासचिव तथा नेपाल भलिबल संघका सदस्य रोशन श्रेष्ठ, लक्ष्मी नारायण श्रेष्ठ र माधवराज आचार्यले सोही अवसरमा चिकित्सक संघलाई ५ सय थान एन–९५ मास्क हस्तान्तरण गरेको छ । उक्त मास्क कर्णाली प्रदेशमा पठाउनका लागि आग्रह गरिएको एल्मुनाई तथा भलिबल संघका सदस्य रोशन श्रेष्ठले जानकारी गराए ।

चिकित्सक संघका अध्यक्ष कार्कीले सहयोगका लागि भलिबल संघलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा खेलकुदका क्षेत्रमा आफूहरू मिलेर काम गर्न तयार रहेको बताए । सदस्य सचिव सिलवालले राष्ट्रिय खेल भलिबलले गरेको सहयोगले सकारात्मक सन्देश जाने उल्लेख गर्दै चिकित्सक संघसँग मिलेर राखेपले काम गर्ने योजना रहेको पनि बताए । संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले सबैको साथ र सहयोगले मात्रै कोरोना महामारीबाट पार पाउन सकिने भएकाले भलिबल संघ आगामी दिनमा पनि सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 257 times, 1 visits today)

epaper

ताजा समाचार

मतदातासँग गगन थापाको आग्रह : मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौँ, नपारौँ