मकवानपुर । चितवन जिल्लाका जगन्नाथ थपलिया बागमतीको मुख्यमन्त्री बन्ने पक्का भएको छ ।
नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा जगन्नाथ थपलियाले नै निरन्तरता पाउने भएपछि उनी मुख्यमन्त्री बन्ने पक्का जस्तै भएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शनिबार बसेको बैठकले दलको नेता परिवर्तन नगर्ने सहमति भएको हो ।
एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएपछि संसदीय दलको नेता परिवर्तनको समेत चर्चा राजनीतिक वृतमा चलेको थियो । नेतृत्व विवाद तत्काललाई मिलाउन एमालेले अन्ततः थपलियालाई नै दलको नेतामा निरन्तरता दिने निर्णयमा पुगेको हो । दलको शीर्ष नेतृत्वको हस्तक्षेपपछि बागमती प्रदेशको दलको नेताको विवाद टुंगिएको छ ।
केन्द्रमा एमाले र नेकपाबीच प्रदेशहरुको सत्ता समीकरणको लागि बाम गठबन्धन भएपछि सहमतिअनुसार बागमती प्रदेशको सत्ता नेतृत्व एमालेले गर्ने भएको थियो ।
दल नेताको विषयमा एमालेभित्रै मतभेद रहेको अवस्थामा थपलियाले नै निरन्तरता पाउने भएपछि मुख्यमन्त्रीको दाबेदारसमेत उनै हुनेछन् । संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने ब्यवस्था रहेकाले एमाले–नेकपाबीचको सहमतिअनुसार थपलिया मुख्यमन्त्रीका मुख्य दाबेदार हुन् । यद्यपि पार्टीभित्र मुख्यमन्त्रीका लागि अन्यले पनि दाबी गर्दै आएका छन् ।
केन्द्रमा नेकपा र एमालेबीच भएको सत्ता साझेदारीको सहमतिअनुसार बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने निश्चित भएपछि दलभित्र मुख्यमन्त्रीको प्रतिस्पर्धा चर्किएको छ । दलभित्रको विवाद समाधान गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरूबिच काठमाडौंमा पटक–पटक छलफल भएको थियो । एमाले केन्द्रले सत्ता साझेदार दल नेकपासँग भएको सहमति कार्यान्वयनलाई प्राथमिकता दिँदै तत्काल सरकार गठन गर्ने रणनीति अनुसार संसदीय दलको नेतृत्व यथावत् राख्ने निर्णय गरेको बताइएको छ ।
हाल प्रदेशसभामा ११० मध्ये ६ पद रिक्त रहेकाले १०४ सदस्य कायम छन् । सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ । एमालेका २५ र नेकपाका २६ सांसद गरी ५१ मत मात्रै पुग्ने भएकाले बहुमतका लागि कम्तीमा दुई सांसदको थप समर्थन आवश्यक छ ।
यसैगरी प्रदेशसभामा कांग्रेसको ३६ सदस्य रहेको छ । राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई सदस्य छन् ।
एमालेले सहमतिबाट बागमतीको नेतृत्व पाउने भए पनि हाल अंकगणित अनुकूल नहुँदा दाबी प्रस्तुत गर्न सकेको छैन । एमाले नेतृत्वमा सरकार गठन निश्चित छ तर प्रदेशसभामा बहुमत जुटाउन अर्को चुनौती भने कायमै छ । सरकार गठनको लागि बहुमत समर्थन जुटाएपछि थपलियाले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्ने छन् ।
यद्यपि एमालेभित्र भने मुख्यमन्त्रीको विषयमा मत एकमत छैन । प्रदेशका सांसदहरू जगन्नाथ थपलिया र निवर्तमान स्वास्थ मन्त्री किरण थापाको पक्षमा विभाजित देखिएका छन् । थापालाई संसदीय दलको नेता बनाएर मुख्यमन्त्री अघि सार्ने उद्देश्यले १९ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसमेत संकलन गरिएको थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले संसदीय दलका नेता रहेका थपलियालाई नै मुख्यमन्त्री बनाउने पक्षमा धारणा व्यक्त गरेको बताइएको छ । ओलीको भनाइपछि प्रदेशको नेतृत्व थपलियाको पक्षमा स्पष्ट देखिएको छ ।
यसैबीच, नेपाली कांग्रेससँग सत्ता गठबन्धन टुटेसँगै अल्पमतमा परेका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिएर अघि बढ्न नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले निर्णय गरिसकेको छ ।
बिहीबार ललितपुरमा बसेको दलको बैठकले वर्तमान सरकारलाई निरन्तरता दिन र समर्थन प्राप्त गर्न अन्य दलहरूसँग छलफल गर्ने समेत निर्णय समेत गरेको थियो । बैठकले सरकारका लागि आवश्यक अन्य राजनीतिक दलहरूसँग समन्वय र संवाद अगाडि बढाउने निर्णय भएको छ ।
कुनै राजनीतिक घटनाक्रम नबदलिए एमालेका जगन्नाथ थपलिया बागमतीको ७औं मुख्यमन्त्री भन्नेछन् । प्रदेश सभाको साढे आठ वर्षको अवधीमा ६ मुख्य मन्त्री ९५ जना मन्त्री भएका छन् ।
प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले आफूसहित ११, अष्टलक्ष्मी शाक्यले १३, राजेन्द्र पाण्डेले १८, शालिकराम जम्कट्टेलले २१, बहादुरसिंह लामाले १८ र इन्द्रबहादुर बानियाँले १४ जनालाई मन्त्री, राज्यमन्त्री र विना विभागीय मन्त्री नियुक्त गरेका थिए । मुख्यमन्त्री बाँनियाको नेतृत्वको सरकारबाट एमाले बाहिरिएपछि हाल ८ जना मन्त्री छन् ।
यी सबै नियुक्ति जोड्दा ९५ हुन्छ । तर एउटै व्यक्ति फरक सरकार वा फरक गठबन्धनमा दोहोरिएकाले हाल सम्म ८३ जना मात्रै प्रदेशको नेतृत्व तहमा रहेका छन् । प्रदेशमा ७ मन्त्रालयबाट सुरु भएको मन्त्रालय १४ सम्म पुर्याइएको थियो । हाल ८ वटा मन्त्रालय कायम छन् । अब नयाँ सरकार बन्दा मन्त्रीहरुको सूचीमा अरु संख्या थपिने छ ।
सम्बन्धित समाचार
बागमती सरकारबाट बाहिरियो एमाले
मधेसका अर्थमन्त्रीसहित सातजना विरुद्ध ३९ करोडको भ्रष्टाचार मुद्दा
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
बाढी–पहिरोले पाँच प्रमुख राजमार्ग अवरुद्ध
रेसुङ्गा –१० का वडासदस्य प्रशासन कार्यालयमै कुटिए
थुनामुक्त भएपछि बिष्णु पौडेल पहिलो पटक सार्बजनिक कार्यक्रममा
कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलद्वारा राजीनामा
साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे






