नवलपुरमा कोरोना संक्रमितको संख्या ३७ पुग्यो, स्वाब संकलन रोकियो

नवलपुर । पूर्वी नवलपरासीमा बुधबार ३ जनामा कोरोना भाइरस पुष्टि भएको छ । गैडाकोट नगरपालिकाका दुई जना र देवचुली नगरपालिकाका १ जना गरी ३ जनामा बुधबार संक्रमण पुष्टि भएको हो ।

नवलपुरमा बुधबार भेटिएको ३ जना सहित नवलपुरमा संक्रमितको संख्या ३७ पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार भरतपुर प्रयोगशाला परीक्षण गरिएको मध्ये गैडकोट नगरपालिकाका २ जना र देवचुली नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित सबैलाई रजहरको प्राकृतिक चिकित्सालयमा रहेको आइसोलेशन कक्षमा उपचारका लागि लगिदै छ ।

चितवनको भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा गैडाकोट १३ का २३ बर्षीय एक जना पुरुष र गैडाकोट १४ का २६ बर्षीय एक जना पुरुष कोरोना भाइरस पोजेटिभ देखिएको हो भने पोखरामा गरिएको परीक्षणमा बुधबार नै देवचुली नगरपालिका ४ का ४० बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइए अनुसार बुधबार देवचुली नगरपालिकाका ४० बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । देवचुली नगरपालिकामा यो सहित संक्रमितको संख्या ६ पुगेको छ भने एक जना निको भएर फर्किएका छन् । त्यस्तै गैडाकोटमा संक्रमितका संख्या ४ पुगेको छ ।

नवलपुरमा रोकियो स्वाब संकलनः

गण्डकी प्रदेशको पोखरा स्थित प्रयोगशाला र चितवनको भरतपुर स्थित प्रयोगशालामा संकलिन स्वाबको चाङ्ग लागेपछि पूर्वी नवलपरासीमा स्वाब संकलन कार्य रोकिएको छ ।

पूर्वी नवलपरासीमा अहिलेसम्म स्वाब संकलन भएको ११४८ मध्ये रिर्पोट ५०४ जनाको आउन बाँकी नै छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार संकलिन स्वाबको पिसिआर परीक्षणमै ढिलाई भएर पालो नआएपछि केही दिनलाई स्वाब संकलन कार्य रोकिएको हो ।

नवलपुरमा अहिलेसम्म ३७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ भने ६ सय ७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । पूर्वी नवलपरासीमा अहिले १२७४ जना क्वारेन्टाइनमा रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 423 times, 1 visits today)

epaper

ताजा समाचार

पेट्रोलियम अन्वेषण : चीनमा अन्तिम रिपोर्ट तयार हुँदै, मागियो नेपाल सरकारसँग सुझाव